अनटिफको तेस्रो साधारण सभा तथा निर्वाचन मिचिगनमा हुने

इनेप्लिज २०७५ जेठ १० गते १०:४४ मा प्रकाशित

वाटरफोर्ड, मिचिगन–विदेशमा रहेका नेपाली तेक्वान्दोका पूर्व खेलाडी तथा प्रशिक्षकहरूको साझा संस्था युनिवर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेसन (अनटिफ)को तेस्रो साधारण सभा तथा निर्वाचन कार्यक्रम २५ देखि २८ मेसम्म यहाँ स्थित ज्योति एभरेष्ट तेक्वान्दो एसोसिएसनको प्रशिक्षण स्थलमा हुने भएको छ ।

आउँदा दिनमा नेपाली तेक्वान्दो तथा खेलाडीको विकास एवं क्षमतावृद्धिका लागि योजनावद्ध रुपमा अनटिफलाई हिडाउन मार्ग चित्र कोर्ने विश्वास लिइएको उक्त साधारण सभा आयोजनाका लागि पूर्व नेपाली तेक्वान्दो प्रशिक्षक तथा ज्योति एभरेष्ट तेक्वान्दो एसोसिएसनका मुख्य प्रशिक्षक लवप्रसाद गोर्खालीको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिएको छ ।

सधारणसभाले नेपाली तेक्वान्दो खेल तथा खेलाडीको विकासका सम्बन्धमा गहन विचार विमर्स गर्ने संयोजक लवप्रसाद गोर्खालीले बताए । ‘नेपाललाई पहिलो एसियाली पदकका रुपमा खेल क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान दिलाउन सफल तेक्वान्दोको विकास र यसका खेलाडीको क्षमतावृद्धि साधारण सभाको प्रमुख एजेन्डामध्ये हुने छ ।’ गोर्खालीले भने ।

नयाँ नेतृुत्वको समेत चयन गर्ने साधारणसभामा सहभागिताका लागि सम्बन्धित सबैलाई निमन्त्रण पठाइसकेको जानकारी गोर्खालीले गराए । उक्त अवसरमा तेक्वान्दो खेल तथा नेपाली लोक नेतृत्वको समेत प्रदर्शन हुने उनले जानकारी गराए ।

यसबीच साधारण सभा र त्यसपछिका कार्यक्रमहरूलाई सफलताकासाथ सम्पन्न गर्न विभिन्न उप समितिहरूको गठन गरि सकेको जानकारी अन्टिफका सदस्य एवं तेक्वान्दो प्रशिक्षक जगनलाल श्रेष्ठ ‘विपन’ले बताए ।

जसअनुसार स्वयं जगनलाल श्रेष्ठकै संयोजकत्वमा आर्थिक उप समिति गठन गरिएको छ भने वसोवास व्यवस्थापन उप समितिको संयोजकको जिम्मेवारी नारायण भट्टराइले पाएका छन् । त्यस्तै मोहन पौडेललाई भोजन व्यवस्थापन उप समितिको संयोजक वनाइएको छ भने स्वागत उप समितिको संयोजकमा महेश थापा रहेका छन् ।

त्यसैगरी सांस्कृतिक कार्यक्रम एवं खेल प्रदर्शन उप समितिको जिम्मेवारी छवी लामीछाने र अमुल गोर्खालीले संयुक्त रुपमा पाएका छन् । त्यस्तै साधारणसभा दर्ता एवं स्वयंसेवा उप समितिको संयोजकमा शुभम जङ्ग केसी रहेका छन् भने तस्विर तथा भिडियो उप समितिको जिम्मेवारी आशिष श्रेष्ठ र आशिष लामिछानेले संयुक्त रुपमा पाएका छन् । त्यसैगरी सञ्चार उप समितिको जिम्मेवारी राजु थापालाई दिइएको छ ।

प्रतिक्रिया