करिश्मा भन्छिन्– एसईईसम्म दायाँबायाँ गर्दिन

इनेप्लिज २०७५ जेठ २ गते १४:३० मा प्रकाशित

काठमाडौं, २ जेठ । अभिनेत्री करिश्मा मानन्धर अहिले कक्षा १० कि नियमित तर्फकी विद्यार्थी पनि हुन् । करिअरको उत्तरार्धमा राजनीतिसँगै पढाईलाई पनि अघि बढाएकी उनले यस वर्ष दायाँबायाँ नगर्ने सोच राखेकी छन् । कारण हो, आउने चैतमा उनको एसईई परिक्षा छ ।

सकभर राम्रो अंक ल्याएर परिक्षामा सफलता हात पार्ने उनको लक्ष्य छ । त्यसैले फिल्मी क्षेत्रका केही कार्यक्रममा सहभागी भए पनि अब बन्द गर्ने उनले बताइन् । उनले छोरीलाई फिल्ममा डेब्यु गराउने सोच राखेकी थिइन् । पढाई नै बाधक भयो र शिव श्रेष्ठको प्रस्तावमा यस्तो प्रेम कहानीमा कवितालाई साइन गराइन् ।

‘पढाईका कारण मेरो काम ढिलो भएको हो । परिक्षा सकेर त्यसलाई अघि बढाउँछु’, उनले भनिन्,‘कवुलाई शिव दाइले फिल्मका लागि प्रस्ताव गरेपछि नाई भन्न सकिनँ ।’

करिश्मो मैतीदेवीस्थित त्रिवेणी स्कुलकी कक्षा १० की विद्यार्थी हुन् । १४ वर्षको हुँदा फिल्म सन्तानदेखि यस क्षेत्रमा लागेकी उनको अध्ययन ८ कक्षाबाट रोकिएको थियो । गत वर्षमात्र उनी विद्यालयमा भर्ना भएकी थिइन् ।

नयाँ शक्ति नेपालको केन्द्रीय परिषद् सदस्य समेत रहेकी करिश्माको पिएचडी सक्ने सोच छ । उनी डा. बाबुराम भट्टराईको फ्यान भएकै कारण पनि पिएचडी गर्ने लक्ष्य राखेरै अध्ययनतिर लागेकी हुन् ।

प्रतिक्रिया