करिष्मा मानन्धर : आमा १४ मा, छोरी कतिमा ?

इनेप्लिज २०७५ जेठ १ गते २१:५१ मा प्रकाशित

काठमाडौं । १४ वर्षको उमेरमा अभिनेत्री करिश्मा मानन्धरले सन्तान फिल्मबाट नेपाली रजतपटमा पाइला चालिन् । उनको उदयले सावित गरिदियो– उनी सदाबहार हुन् । अहिले पनि फिटसँगै ‘हिट’ रहेका करिश्माको फिल्मि करिअर अन्यको तुलनामा संघर्षशील, चुनौतिपूर्णमात्र होइन सफलता अनुकुलताको कसीमा राखिन्छ । ४४ वर्ष पुगिन् उनी ।

राजनीतिमा समेत हाम्फालेकी करिश्मा फिल्मसँगको नाताबाट टाढा छैनन् । तीन दशकको फिल्मीयात्रा उनको एक शव्दमा ‘संघर्ष’ हो । फिल्म निर्माणमा उनी सक्रिय भइन् । निर्देशन गरेकी छैनन् ।

अभिनेत्रीहरू आवरणमा सुन्दर देखिने परम्परा उनी नेत्री हुँदा प्रतिस्थापित गर्न सक्तिनन् । उनी भन्छिन्, ‘यो आदत हो, यो आदतलाई विट मारेरै राजनीति गर्नुपर्छ भन्ने म ठान्दिन ।’

‘सन्तान’बाट करिअर सुरु गरेकी करिश्माले अब आफ्नै एक्ली सन्तानलाई फिल्ममा डेब्यु गराउँदैछिन् । कविता मानन्धर, उनकी छोरी हुन् ।

अमेरिकामा अध्ययन गरेकी कविता ‘एउटा यस्तो प्रेम कहानीबाट’ फिल्मी क्षेत्रमा आउँदैछिन् । केही समयअघि जन्मदिन मनाएकी कविता कति वर्ष लागिन् ? खुलाइएको छैन । यसैकारण पनि उनी कति वर्षमा फिल्म खेल्दैछिन् ? यसलाई प्रश्नमै सीमित राखौं ।

यो फिल्ममा करिश्मासँग धेरैवटा फिल्ममा रोमान्स गरेका अभिनेता शिव श्रेष्ठपुत्र शक्तिले कवितासँग रोमान्स गर्ने बताइन्छ । तर कविता फिल्ममा ल्याउनको गुह्य कारण भने निर्देशक दिपेश सापकोटाले खोलीसकेका छन् । कविता आमा करिश्माजस्तो फिट छैनन्, हिट हुन्छिन् हुन्नन् थाहा छैन । तर, मोटी भएकै कारण उनलाई फिल्ममा कास्ट गरिएको सापकोटाले बताइसकेका छन् ।

उनले भनेका छन्, ‘मोटी क्यारेक्टरको आवश्यकता परेका कारण करिश्मापुत्री कवितालाई फिल्ममा लिइएको हो ।’ यो फिल्ममा आयुष्मान देशराज जोशी र प्रियंका कार्की, संजोग कोइराला र बर्षा राउत पनि कास्ट गरिएका छन् ।

प्रतिक्रिया