विदेशको शौखिन काम छाडेर स्वदेशमै आधुनिक कृषि गर्दै यी युवा [हेर्नुहोस् भिडियो]

इनेप्लिज २०७५ वैशाख २४ गते १०:३९ मा प्रकाशित

​ पिएनपिखबर, भक्तपुर। आफ्नो आर्थिक अवस्था सुधार्न हजारौ युवाहरु विदेशिने गर्दछन्। जिविको पार्जनको लागि नेपालमा व्यवसाय गर्न सम्भव नदेखे पछि विदेशिने युवाहरुको लर्को नै छ। तर अचेल आफ्नै गाउँठाउँमै कृषिमा राम्रो सम्भावना देखेपछि वैदेशिक रोजगारमा गएका युवाहरू गाउँमै फर्केर कृषिमा होमिनेको पनि कमि छैन। यसरी नै कृषिमा सम्भावना देखेर ४ वर्षको विदेश बसाई पछि नेपालमै केहि गर्छु भनेर लागि पर्ने मध्य एक हुन् राजु कपाली। उनको कथा बेग्लै छ। सिपाडोल, भक्तपुरमा जन्मिएका राजु एक कर्मठ कृषक कै छोरा हुन्। हुन त नेपाल कृषि प्रधान देश भएर नै होला नेपालमा झन्डै कुल जनसङ्ख्याको दुई तिहाइ अर्थात एक करोड ७६ लाख ६३ हजार कृषि पेसामा संलग्न रहेका छन्। यँही भिडमा पर्छन् राजु। पढाईको कुरा गर्ने हो भने राजुले भक्तपुर क्याम्पसबाट बि.ए पास गरेका छन्।

जिविको पार्जनको लागि नेपालमा उनले आफ्नो व्यवसाय फुलखेतीबाट शुरु गरेका थिए। करिब २२ रोपनी जग्गामा फैलिएको फुलखेती उनलाई खासै फापेन। फापेन भन्दा पनि आफुले उत्पादन गरेको फुल बजारीकरण गर्न निकै चुनौती र अप्ठेरो झेल्नु पर्यो राजुले। फूलहरु उत्पादन भए तर बेच्ने बजारको अभाव भयो। आफुले उत्पादन गरेको फुल फाल्नुपर्दा निकै घाटा सम्म व्यहोर्नु परेको घटना उनको मानसपलटमा अझै ताजै छ। त्यसैले उनले फुलखेती छोडेर वैदेशिक रोजगारीको लागि दुबई जाने निर्णय गरे। दुबईमा ४ वर्ष बसेर आए पछि उनले नेपालमै केहि गर्छु भनेर फेरी कृषि तिर नै लागे। अहिले करिब १५ लाख लगानी गरेर सिपाडोल, भक्तपुरमा नै नेचरग्रिन एग्रो नामक फार्म खोलेका छन् राजुले। दुबईमा काम गर्दा मित्रता गासेका घनिष्ट मित्र सुरेन्द्र दाहालको साझेदारीमा उनले फार्म खोलेका हुन्। ८ रोपनी जग्गा भाडामा लिएर टनेल हालिकन उनले गोलभेडा खेतीमा १५ लाख लगानी गरे बापत २० लाख नाफा हुने अनुमान गरेका छन्। गोलभेडाको एक बोटबाट दश के.जी सम्मको उत्पादन हुनेहुँदा र सोहि बोटले ६ महिना सम्म उत्पादन गर्ने भएकोले राजुले गोलभेडा खेती रोजेका हुन्। राजुले कृषिमा हात मात्र हालेका छैनन्। कृषि आधुनिकरणको बारेमा पनि राम्ररी बुझेका छन्। कृषिमा लाग्नु अगावै उनले विभिन्न कृषि संघसंस्था मार्फत तालिम प्राप्त गरेका थिए। त्यसैले पनि उनले शुरु गरेका गोलभेडा खेतीमा उनले कृषि आधुनिकरंको थुप्रै उपाय अपनाएका छन्। उनले सिचाईको लागि भनेर थोप्लो सिचाई प्रविधि अपनाएका छन्। खर्च लागे पनि पछि सम्म लाभदायी हुने भएकोले यस्तो प्रविधि अपनाएको राजु बताउँछन्।

आजकल धेरै जसो किसानहरु आफ्नो उत्पादनमा वृद्धि गर्न विभिन्न रसायनिक मलको प्रयोग गर्ने गर्दछन्। त्यसैले पनि आजकालको तरकारी र फलफूल स्वाद न व्यादको हुन्छ। यस्ता तरकारीले मानव स्वास्थ्यमा समेत असर पार्न सक्छ। तर राजु यस्ता किसानमा पर्दैनन्। उनी गोलभेडा खेतीमा जैविक मलको प्रयोग गर्छन्। केहि गरी बाध्यतावस प्रयोग गर्ने परे पनि रासायनिक मल एकदम कम र समय नपुगेसम्म गोलभेडा बेच्ने सम्म गर्दैनन्। हिजोआज राजु गोलभेडा खेतीको लागि उपयुक्त टनेल बनाइवरी जैविक मल प्रयोग गरेर अर्गानिक गोलभेडा उत्पादन गर्नमा तल्लिन छन्। उनी आफ्नो खेतमा उत्पादन बढाउन भनेर न त किट्नासकको प्रयोग गर्छन् न त कुनै विषाधि नै। उनको खेती गर्ने तरीका नै छुट्टै छ। गोल्भेडामा लाग्ने किरा मार्न समेत उनले कीरालाई आकर्षित पर्ने स्टिकर राखेर किरा मार्ने विधि अपनाएका छन्। गोलभेडामा लाग्ने पुतलीको नियन्त्रण गर्न उनले एउटा बोतलमा भाले पुतली समात्ने जाल थापेका छन्।

आफ्नो छुट्टै प्रविधि अपनाएर उनले गरेको गोलभेडा खेती एकदम उदाहरणीय र प्रशंशाजनक छ। राजु भन्छन्, ‘कृषि विशेषज्ञलाई न कोदालो खन्न आउँछ न त गोडमेल नै। कृषिमा लागेका खुट्टा हल्लाएर कुर्शीमा मात्र बस्न चाहन्छन्। उनीहरुलाई कृषिको बारेमा किताबी ज्ञान चाहिँदो छ तर त्यहि ज्ञान व्यहारमा कसरी उतार्ने कसरी कृषि खेती गर्ने भन्ने बारे भने पर्याप्त ज्ञानको अभाव छ । त्यसैले पनि कृषक र कृषि उभो लाग्न नसकेको राजुको व्यक्तिगत विचार रहेको छ।’ यो उनको गुनासो पनि हो। नेपालमा कृषिको सम्भावना देखेर राजुले दुबईमा कमाएको अलिअलि पैसा पनि कृषिमा नै लगानी गरे। तर जति कृषिमा सम्भावना छ त्यतिनै जोखिम पनि छ।

मौसमको खराबी, कृषिमा आइपर्ने रोगका कारण उत्पादनमा ह्रास आउनसक्छ। उत्पादनमा असर पर्नु भनेकै कृषकको लगानी जोखिममा पर्नु हो। कृषि व्यबसायलाई विविधिकरण, व्यबसायीकरण, आयमुलक तथा सम्मानित पेशाको रुपमा विकास गरी राष्ट्रिय उत्पादनमा योगदान पर्‍याउने कृषि सेवा विभागको प्रमुख उदेश्य हो । तर यस्ता उदेश्य अलपत्र नै परेको छ। कृषकको सहयोगको लागि कृषि कार्यालय भएता पनि कृषि कार्यमा कुनै चासो दिइएको छैन। कृषिमा नँया प्रविधि भित्राउन अति आवश्यक छ। कृषिमा आधुनिकरण जरुरत छ भन्ने कुरा पनि अहिलेको कृषकलाई कमै मात्रामा मात्र थाहा छ। यहिँ दुखेसो पोख्न राजु कृषि कार्यालय नपुगेका पनि होइन। सम्बन्धित निकाय कानमा तेल हालेर बसेकोमा राजु गुनासो गर्दै भन्छन्,’सम्बन्धित निकायमा आफ्नो समस्या पोख्न जाँदा स्थानीय तहमा सिफारिश गर्दिन्छन्। स्थानीय तह नगरपालिका अथवा गाविसमा जाँदा पनि कुनै मतलब गरिन्न। ‘ ​

प्रतिक्रिया