सन्दीप खत्री
समाजमा हर कोहि सँग केहि न केहि प्रतिभा हुन्छ । पर्याप्त अवसर पाएमा उनीहरुले आफ्ना प्रतिभाहरु देखाउँछन् पनि तर कोहि भने अवसर नपाएकै कारण छायाँमा परेका छन । सानै उमेर देखी कलाकारिता खासगरि हाँस्य विधा र संगीतमा रुची राख्ने १३ बर्षीय कृष कोइरालाले सानो उमेरमा नै धेरै गीतसंगीत गाउनुको साथै चर्चित व्यक्तिहरुको अनौठा किसिमले नक्कल गरिसकेका छन् ।
पछिल्लो समय बालबालिकादेखि बूढापाकासम्मले मानिसको अनौठा प्रतिभा हेर्न लालयित बन्ने गरेकाले पनि सम्भावना बोकेका प्रतिभाले छोटो समयमा नै उपलब्धि हासिल गरिरहेका छन। काठमाडौँमा कक्षा ८ मा अध्ययनरत कृष कोइरालाको प्रतिभा हेर्दा पनि अहिले इन्टरनेटमा भाइरल हुँदै सेलीब्रिटि बनेका अशोक दर्जीको जस्तै अनौठो लाग्न सक्छ तर सम्भावना भने प्रशस्तै बोकेको छ ।
सामाजिक संजाल युट्युबमा अरु व्यक्तिले कलाकार लगायत नेताहरुको नक्कल गरेको देखेर प्रभावित बनेका कृष कोइराला अहिले देशका ठुला नेतादेखि हाँस्य कलाकारहरुको ‘क्यारिकेचर’ चुस्त दुरुस्तै गर्छन। बिद्यालयमा ‘क्यारिकेचर किंग’को नामले समेत परिचित कृष गाई, हाँस लगायत जनावरको आवाज पनि दुरुस्तै निकाल्न सक्छन।
बहुप्रतिभाका धनि कृष संगीतमा पनि औधी रुची राख्छन । भविष्यमा एक सफल गायकको रुपमा चिनाउन चाहने कृषलाई परिवारको समेत साथ समर्थन भएकोले सहजै लक्ष्य प्राप्ति गर्नेमा बिश्वस्त छन।
गीत संगीत र हाँस्य विधाको दुनियाँमा रमाउन चाहने सम्भावना बोकेका प्रतिभा उनले अझै आफ्नो मिहेनतलाई निरन्तरता दिइ अध्ययन र कलाकारिताको क्षेत्रलाई समानान्तर रुपमा अगाडी बढाउने हो भने सफलताको शिखर चुम्नलाई धेरै समय कुर्नुपर्दैन।
प्रतिक्रिया