गायिका मिशालाई यी गायकले यौन… गरेपछि बखेडा

इनेप्लिज २०७५ वैशाख १४ गते ३:१७ मा प्रकाशित

मुम्बई । पाकिस्तानकी चर्चित गायिका, अभिनेत्री र मोडल मिशा शफीले कलाकार र गायक अली जफरमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । यता अलीले भने सबै आरोपको खण्डन गर्दै यसका लागि अदालत जाने बताएका छन् ।

अली जफर ‘डियर जिन्दगी’ जस्ता विभिन्न बलिउड फिल्ममा काम गरिसकेका छन् । मीशाले ट्वीट गरेर अलीमाथि आरोप लगाएकी हुन् । विश्वव्यापी रुपमा महिलामाथि हुने गरेको यौनहिंसाविरुद्ध चलिरहेको अभियानअन्तर्गत मीशाले उक्त ट्वीट गरेकी हुन् ।

मिशा लेख्छिन्, ‘आज म यसकारण बोल्दै छु किनभने मेरो विवेकले अब मलाई चुप लागेर बस्न दिँदैन । मजस्तो एक स्थापित कलाकारमाथि यौन हिंसा हुनसक्छ भने यो जसलाई पनि हुनसक्छ ।’ उनी भन्छिन्, ‘ममाथिको यौनहिंसा एकपटकमा मात्र सिमित भएन । अली जफरः मसँगै काम गर्नेले ममाथि यौनहिंसा गरे । म किशोरावस्थामा हुँदा वा यो उद्योगमा भर्खरै छिर्दा ममाथि यस्तो भएको होइन । म सशक्त र दुई सन्तानकी आमा भइसकेपछि ममाथि यस्तो भयो ।’

मिशाले ट्वीटमा लेखेकी छिन्, ‘उक्त घटनाले मलाई र मेरो परिवारलाई आहत तुल्याएको छ । म अलीलाई धेरै अघिदेखि चिन्दछु । मैले उनीसँग काम गरेकी छु, एउटै स्टेज सेयर गरेकी छु । उनको यो व्यवहार र रवैयाका कारण दुःखी छु । तर यो पनि साँचो हो कि यस्तो ममाथि मात्र भएको होइन ।’ मीशा पाकिस्तानको एक चर्चित नाम हो यस्तै अली जफर पनि कोक स्टुडियोसमेत विभिन्न ठूला ब्रान्डसँग जोडिएका छन् । अलीले भने यी सबै आरोपलाई गलत बताएका छन् ।

ट्वीटरमा उनले लेखेका छन्, ‘म मि टू अभियानबारे निकै राम्रोसँग जानकार छु र यसको समर्थन पनि गर्छु । म एक जवान छोरी र छोराका पिता हुँ । एक महिलाका श्रीमान् र एक आमाको छोरा हुँ । म यस्तो व्यक्ति हुँ जो आफ्ना लागि, आफ्नो परिवारका लागि, आफ्ना सहकर्मीका लागि साथीहरूका लागि थुप्रैपटक उभिएको छु । म आज पनि त्यही गरिरहेको छु । मैले त्यस्तो केही पनि गरेको छैन जसलाई मैले लुकाउनु परोस् । चुप बस्नु कुनै विकल्प होइन ।’

‘म मिशा शफीद्वारा लगाइएको हरेक आरोप खण्डन गर्छु । म यहाँ उनीमाथि कुनै पनि प्रकारको आरोप लगाउनुको साटो यो विषयलाई व्यवहारिक तरिकाले सल्टाउने कुरामा विश्वास राख्छु,’ उनले भने । जफर ट्वीट गर्छन्, ‘म यो मामलालाई कानूनी रुपमा अगाडि बढाउन चाहन्छु । यो एक गम्भीर मामला हो त्यसकारण म यसलाई व्यवसायीक तरिकाले नै लिन्छु ।’ – एजेन्सी

प्रतिक्रिया