पूर्वराजा ज्ञानेन्द्रकी भतिजिको नागरिकता बनाउन वडाध्यक्ष भिलेन !

इनेप्लिज २०७५ वैशाख १२ गते ११:१८ मा प्रकाशित

 

कठमाडौं, १२ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहकी भतिजि श्रेया राज्यलक्ष्मी शाहले नेपाली नागरिकताका लागि गरेको प्रयासमा काठमाडौं–३ का वडाध्यक्ष दिपक केसी भिलेन बनेका छन् ।

केसीले श्रेयाको नागरिकताका लागि सिफारिस नै गरेका छैनन् । उनले नागरिकताका लागि बाबुको उपस्थिति अनिवार्य रहेको बताउँदै आएका छन् । श्रेयाका बाबु धीरेन्द्र शाह १९ जेठ, ०५८ को दरबार हत्याकाण्डमा मारिएका थिए ।

धीरेन्द्रपत्नी तथा श्रेयाकी आमा जया पाण्डे छोरी लिएर नागरिकता सिफारिसका लागि केसीलाई भेट्न पुगेका थिए । केसीले अपमानजनक व्यवाहार गरेर फर्काएको बताइएको छ ।
‘छोरीले बाउ खोज्नुभन्दा पहिला आमाले पोइ खोज्नुपरÞ्यो । नेपालको कानुन यहाँहरूले पनि पढ्नुपरÞ्यो, लोग्ने नभई मैले कसरी नागरिकता दिने ?’, केसीले मिडियालाई प्रतिक्रिया दिएका थिए ।

त्रिवि शिक्षण अस्पतालमा जन्मिएको जन्म प्रमाणपत्रमा बाबुको नाम धीरेन्द्रवीरविक्रम शाह छ, त्यसबाट उनी तत्कालीन अधिराजकुमार धीरेन्द्रकी छोरी भएको स्पष्ट हुन्छ । तर केसीले छोराछोरी पाउँदैमा नागरिकता नपाइने भन्दै त्यसका लागि कानुनी बाध्यतालाई अध्ययन गर्न सुझाएका छन् ।

जया धीरेन्द्रकी दोस्री पत्नी हुन् । उनीबाट श्रेयाको जन्म भएको थियो । पहिली पत्नी प्रेक्षाको दरबार हत्याकाण्डको केही समयपछि रारा तालमा हेलिकोप्टरबाट खस्दा डुबेर निधन भएको थियो ।

प्रेक्षा शाहसँग सम्बन्धविच्छेद भएपछि वि.सं. २०४४ सालमा धीरेन्द्रले दक्षिणकाली मन्दिरमा गई बत्तीसपुतलीकी जया पाण्डेसँग विवाह गरेका थिए । २०४५ साल असार २ गते शिक्षण अस्पताल महाराजगन्जमा श्रेया शाहको जन्म भएको थियो ।

प्रतिक्रिया