‘भाया साक्रा’को लन्डनमा चर्चा

इनेप्लिज २०७५ वैशाख १० गते २२:०९ मा प्रकाशित

लन्डन, २२ अप्रिल २०१८

साहित्य चौतारी युकेको आयोजनामा बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको नविनतम् नियात्रासङ्ग्रह भाया साक्राको लन्डनमा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा समीक्षक विजय सापकोटा, डा. रुपक श्रेष्ठ र वासु शर्माले कृतिका बारेमा आआफ्नो धारणा राख्नु भएको थियो ।

समालोचक विजय सापकोटाले धेरै समयपछि गहन विषयमा स्तरिय कृति नेपाली साहित्यमा आएको कुरा बताउँदै यस नियात्रासङ्ग्रहमा लेखकको अध्ययनको दायरा फराकिलो देखिएको छ भन्नु भयो । उहाँले त्यस सङ्ग्रहबाट ज्ञान, विज्ञान, इतिहास र दर्शन आदिको जानकारी पाठकले पाउने कुरा बताउनु भयो ।

साहित्यकार डा. रुपक श्रेष्ठले भाया साक्रामा पोखिएको नेपाल राष्ट्र प्रेमको प्रशंसा गर्नु भयो । उहाँले उक्त सङ्ग्रहमा डायोस्पोरिक चेत रहेको बताउँदै नियात्रासङ्ग्रहमा पनि डायोस्पोरिकता ल्याउन सक्नु लेखकको विशेष क्षमता भएको बताउनु भयो ।

साहित्यकार वासु शर्माले युरोपियन देशको भ्रमणका बारेमा लेखिएको यात्रामा लेखक जतातै नेपाल खोज्दै र सम्झँदै हिँडेको सुखद पक्षको चर्चा गर्नु भयो । यात्रापूर्व अध्ययन र यात्रा पश्चात अनुसन्धान गरेर नियात्रा लेखिएको देखिन्छ भन्दै भाया साक्राले शिक्षा मात्र हैन आनन्द पनि दिने कुरा बताउनु भयो ।

नियात्राकार बजगाईंले आफूले इटाली, बेल्जिय र बेलायताको यात्रा पश्चात विशेष मेहनत र अनुसान्धान गरी भाया साक्रा लेखेको बताउँदै आगामी दिनमा अरु नयाँ विषयमा यस्तै खोजमूलक नियात्रा लेख्ने कुरा बताउनु भयो ।

कार्यक्रममा साहित्यकार गोपी सापकोटा, दिनेश पौडेल, अर्कराज तिम्सिना, विजय हितानले पनि बोल्नु भएको थियो ।

प्रतिक्रिया