जापानमा तातेसिना हाइकुसङ्ग्रहको बिमोचन

इनेप्लिज २०७४ चैत १९ गते २३:३३ मा प्रकाशित

जापानको टोक्योमा एक भव्य समारोहको बिच ‘तातेसिना हाइकु सङ्ग्रह’ को बिमोचन गरिएको छ । जापानमा लोकप्रिय रहेको हानामी पर्व (साकुरा फुल हेर्ने पर्व ) को अवसर पारेर हाराज्युकु पार्कभित्र गरिएको बिमोचन कार्यक्रममा दर्जनौँ स्रस्टाहरुको उपस्थिति थियो ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापान च्यप्टरको आयोजनामा भएको कार्यक्रममा स्रस्टाहरुले साकुरा फुलको मजा लिनुको साथै साहित्यिक खुराकहरु पनि प्रस्तुत गरेका थिए ।

नागानो प्रिफेक्चर अन्तर्गत रहेको तातेसिना भन्ने ठाउँमा ३९ जना हाइकु कविहरुले स्थलगत रुपमा लेखेका हाइकुहरु तातेसिनाभित्र समेटिएका छन् । कृतिमा प्राध्यापक रामकुमार पाँडे र प्रकाश पौडेल माइलाको हाइकुको खोजमूलक सैद्दान्तिक कार्यपत्र पनि समाबेश छ ।
अनेसास जापान च्याप्टरले प्रकाशनमा ल्याएको तातेसिना हाइकु संकलनको सम्पादन हाइकु कवि प्रकाश पौडेल माइलाले गरेका हुन् । बिगत १३ वर्षदेखि जापानमा बसेर हाइकुको क्षेत्रमा कलम चलाइरहेका माइला अनेसासका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

अनेसास जापान च्याप्टरका अध्यक्ष दिप पाठकको सभापतित्त्वमा सम्पन्न बिमोचन समारोहको प्रमुख अतिथि भने साकुराको रुखलाई मानिएको थियो । सहारोहमा प्रकाश पौडेल माइला, जिज्ञान कुमार थापा , शालिकराम भण्डारी, पिताम्बर पदमपानी, पुष्करजङ्ग थापा, आलोक चालिसे, दिनेशराज ज्ञवाली, शरद गौचन, मैदेली घिमिरे, दीपक सुबेदी, अरुण पौडेल, हरी सापकोटा, सुर्य खड्का लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन रबिन शर्मा र सङ्गीता कुवँरले गर्नु भएको थियो ।

प्रतिक्रिया