चितवनको कालिकामा उद्योगी व्यवसायीको अन्तरक्रिया, मूल्य सूची राख्न व्यवसायीलाई नगर प्रमुखको आग्रह

इनेप्लिज २०७४ चैत १६ गते २१:५७ मा प्रकाशित

शिशिर सिंखडा
खोलेसिमल, चितवन, १६ चैत्र ।
चितवनको कालिका नगरपालिका वडा नं. ६ स्थित खोलेसिमल बजार व्यवस्थापन समितिको आयोजनामा कालिका नगरपालिका स्तरीय व्यापारी÷व्यवसायीहरुको बजार व्यवस्थापन र करको विषयमा आज अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले चितवनका सम्पूर्ण स्थानीय तहभन्दा यस नगरपालिकामा करको दर १५ देखि ४० प्रतिशतसम्म कम निर्धारण गरिएको बताए ।

स्थानीय व्यवसायी मैत्री कर लगाउनुपर्ने पक्षमा आफु रहेको भन्दै सबै व्यवसायीहरुले देखिने गरी अनिवार्य रुपमा मूल्य सूची राख्नुपर्ने समेत उनले बताए । बजारमा मूल्य सूची नहुँदा सामानको मूल्यमा एकरुपता नभएकोले समस्या भएको समेत उनले बताए । यहि चैत्र मसान्तसम्म सबै उद्योगी व्यवसायीहरुले नगरपालिकाका वडाहरुमा व्यवसाय दर्ता गराउन समेत उनले अनुरोध गरेका थिए । नगर प्रमुख श्रेष्ठले नगरभित्रको फोहोरको समस्या समाधान गर्न समेत आफु लागिरहेको र छिट्टै समस्या समाधान गरिने समेत उनको भनाइ थियो । कार्यक्रममा नगर प्रमुख श्रेष्ठले नगरपालिकाको समन्वयमा नगर स्तरीय उद्योग वाणिज्य संघ गठन गर्न पनि आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले घर बहालको समस्या, व्यवसाय हरेक हप्ता बन्द गर्ने विषयमा तथा नगर स्तरीय उद्योग गठन गर्ने सन्दर्भमा आ–आफ्नो भनाइ व्यक्त गरेका थिए । कार्यक्रममा कालिका नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बिनोद रेग्मी, ३ का वडा अध्यक्ष टिकाराज रिजाल, ४ का वडा अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, १ का वडा अध्यक्ष लिला बहादुर गुरुङ्ग लगायतले मन्तव्य व्यक्त गरेका थिए । समितिका अध्यक्ष हरि प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सह–सचिव भिमराज कडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । अन्तरक्रिया कार्यक्रममा खोलेसिमल बजार, पदमपुर, क्लवचोक, लाहुरेचोक, जुटपानी, शक्तिखोर क्षेत्रका व्यवसायीहरुको सहभागीता रहेको थियो । सोही अवसरमा लाहुरेचोक बजार व्यवस्थापन समितिका प्रतिनिधि प्रकाश रिजाल, चितवन ट्रेक्टर व्यवसायी संघका अध्यक्ष जनार्दन दाहाल, चितवन कागती उत्पादक संघका जिल्ला सचिव सि.पि. अधिकारी, पूर्वी चितवन निर्माण व्यवसायी संघका अध्यक्ष उत्तम घिमिरे, मौरी व्यवसायी संघका सदस्य रामध्वज डल्लाकोटी, उदयपुर सामुदायिक वनका अध्यक्ष केशव लामा, समितिका उपाध्यक्ष नर बहादुर जि.सी. लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया