चितवनको कालिका नगरपालिकाभित्रका स्वास्थ्य संस्था हस्तान्तरण एवम् पूर्ण खोप नगरपालिका घोषणा

इनेप्लिज २०७४ चैत १५ गते २१:४७ मा प्रकाशित

शिशिर सिंखडा
खोलेसिमल, चितवन, १५ चैत्र ।
चितवनको कालिका नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरुलाई आज एक कार्यक्रमका बिच स्थानीय तहलाई हस्तान्तरण गरिएको छ भने नगरलाई पूर्ण खोप सुनिश्चितता नगरपालिका पनि घोषणा गरिएको छ ।

नगरपालिकाभित्र रहेका जुटपानी प्राथमिक स्वास्थ्य केन्द्र, पदमपुर, शक्तिखोर र सिद्धि स्वास्थ्य चौकी गरी ४ वटा स्वास्थ्य संस्थालाई आज जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले कालिका नगरपालिकालाई हस्तान्तरण गरेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय कुमार झाले सो स्वास्थ्य संस्थाहरुको सम्पूर्ण भौतिक संरचना र कर्मचारीहरुको विवरण पत्रको फाइल नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठलाई दिई हस्तान्तरणको घोषणा गरेका थिए ।

त्यसैगरी सोही कार्यक्रममा नगरपालिकालाई पूर्ण खोप नगरपालिका पनि घोषणा गरिएको छ । नगरका ११ वटा वडाका कुल १ हजार ५ सय ५५ जना बालबालिकालाई नेपाल सरकारले तोके अनुसार ११ प्रकारको खोप लगाइए पछि सो घोषणा गरिएको हो । कालिका वडा नं. ६ खोलेसिमलमा नगरपालिकाद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख जिल्ला खोप समितिका अध्यक्ष कृष्ण कुमार डल्लाकोटीले पूर्ण खोप नगरपालिकाको प्रमाणपत्र कालिका नगरपालिकाका नगर प्रमुख श्रेष्ठलाई हस्तान्तरण गर्दै स्वास्थ्य र शिक्षा नगरवासी लगायत सबैको लागि महत्वपूर्ण भएको बताए । स्थानीयलाई शिक्षा र स्वास्थ्यको पहँुचमा पु¥याउन सके मात्र नगर विकास सम्भव हुने भएकोले सबै एकजुट भएर लाग्नुपर्ने समेत उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय कुमार झाले विश्वमा २६ प्रकारका खोप बालबालिकाको लागि लगाइदै आए पनि नेपालमा ११ प्रकारको खोप लगाइने गरेको बताए । सो खोप पुरा गर्न सकेकोमा कालिका नगरपालिकालाई उनले धन्यवाद समेत व्यक्त गरेका थिए । कार्यक्रममा कालिका नगरपालिका नगर प्रमुख खुमनारायण श्रेष्ठले नगरका सबै बालबालिकालाई नियम अनुसार खोप पुरा गरी लगाइएको बताउँदै आगामी दिनमा यसको निरन्तरताको प्रतिवद्धता समेत व्यक्त गरेका थिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

चितवनका रत्ननगर, खैरहनी र माडी नगरपालिका तथा इच्छाकामना गाउँपालिका यस अगाडि नै पूर्ण खोप घोषित भइसकेका छन् भने यहि १७ गते राप्ती नगरपालिका र बैशाख २० गतेभित्र भरतपुर महानगरपालिकालाई पूर्ण खोप घोषणा गरिसकेपछि चितवन जिल्लालाई नै पूर्ण खोप जिल्ला घोषणा गरिने समेत बताइएको छ । कार्यक्रममा प्रत्येक वडामा कार्यरत रही समाजमा महत्वपूर्ण योगदान पु¥याउने ३६ जना महिला स्वयम्सेविकाहरुलाई सम्मान गरिएको थियो भने पूर्ण खोप नगरपालिका घोषणा हुनुपूर्व आजै नगरका विभिन्न स्थानमा जनचेतना ¥याली समेत निकालिएको थियो । सो कार्यक्रम नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया