८२औं वासु शशी जयन्तीमा ४ स्रष्टा सम्मानित

इनेप्लिज २०७४ चैत १४ गते २१:३१ मा प्रकाशित
वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८२ औं जन्मजयन्तीको अवसरमा वासु शशी स्मृति परिषदले आयोजना गरेको एक समारोहमा चार जना स्रष्टाहरु सम्मान प्रदान
गर्यो ।   प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठनका उपकुलपति डा. विष्णुविभु घिमिरेले वरिष्ठ कवि एवं आख्यानकार कृष्ण जोशीलाई “वासु शशी साहित्य सम्मान–२०७३”,वरिष्ठ साहित्यकार रमा शर्मालाई “वासु शशी साहित्य सम्मान–२०७४” र कवि एवं समालोचक डा. शैलेन्दुप्रकाश नेपाललाई “वासु शशी साहित्य सम्मान–२०७४” प्रदान गरे ।
सम्मान पश्चात साहित्यकार जोशी, शर्मा, डा. नेपालले हर्ष प्रकट गर्दै नेपाली साहित्यका उच्चकोटीका कवि वासु शशीको नामको सम्मान र पुरस्कार पाउँदा थप उर्जा मिलेको बताउनु भयो ।
कवि शशीका समकालिन मित्र प्रसिद्ध साहित्यकार यादव खरेलले वासु शशीको व्यक्तित्व र संस्मरण बारे बताउनु भयो । कार्यक्रममा ‘यादव खरेल-सङ्क्षिप्त परिचय’को सार्वजनिकिकरण गरिएको थियो।
प्रमुख अतिथि डा. घिमिरेले कवि वासु शशीसंग विताएका संस्मरण सुनाउनु भयो ।  वासु शशी साहित्य सम्मान २०७३ वाट सम्मानित साहित्यकार गोविन्द गिरी प्रेरणा भने अमेरिकामा रहेका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् । उनले परिषदलाई पठाएको पत्र समारोहमा पढेर सुनाइएको थियो ।
परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
(सौजन्य:www.vpkonlinenews.com)

प्रतिक्रिया