बम विस्फोट पत्रकार र सुरक्षाकर्मी घाइते

इनेप्लिज २०७४ फागुन ८ गते १४:१५ मा प्रकाशित

पोखरा, ८ फागुन: पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेमा आज १२ बजेको समयमा भएको टाइम बम विस्फोटनमा परी दुईजना घाइते भएका छन् ।
पृथ्वी राजमार्गको विजयपुर पुल नजिकै अचानक बम विस्फोट हुँदा शंकास्पद वस्तु भनेर रिपोर्टिङमा पुगेका रेडियो गण्डकी एवम् गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार घनश्याम पाण्डे र अस्थायी प्रहरी पोस्ट चाउथेमा कार्यरत प्रहरी जवान कुलबहादुर खत्री घाइते हुनु भएको हो ।

विस्फोटनमा घाइते पाण्डेको दाहिनेपट्टि टाउको र घाँटीमा चोट लागेको छ भने प्रहरी जवान खत्रीको पनि दाहिने घाँटीमा चोट लागेको छ । गण्डकी मेडिकल कलेजमा उपचार भइरहेका दुवै जनाको अवस्था सामान्य रहेको अस्पताल जनाएको छ ।

त्यसैगरी, पोखरा लेखनाथ–७ नागढुङ्गामा आज बिहानै फेला परेको बमलाई नेपाली सेनाको बम निष्क्रिय टोलीले निष्क्रिय पारेको थियो ।

आउट ड्राइभ इन्टरप्राइजेज लिमिटेडको नजिकै जेब्रा झोलाभित्र स्टिलको टिफिनमा फेला परेको बम समयमै निष्क्रिय पारिएको कारण कुनै पनि क्षति नभएको प्रहरी निरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया