टेकध्वज खाती लक्ष्मीदेवी खाती साहित्य सेवा सम्मान पुरस्कार नीलम कार्की निहारिकालाई प्रदान

इनेप्लिज २०७४ फागुन ५ गते १८:०० मा प्रकाशित

बुटवल । सुब्बेनी आमा रतन बाई खाती प्रतिष्ठान, बुटवलद्वारा नेपाली भाषा साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने नेपाली साहित्यकारमध्ये एक जनालाई अर्पण गर्दै आएकोमा यस वर्षको टेकध्वज खाती लक्ष्मीदेवी खाती साहित्य सेवा सम्मान पुरस्कार– २०७४ आज एक समारोहका बीच प्रसिद्ध आख्यानकार नीलम कार्की निहारिकालाई प्रदान गरिएको छ ।

बुटवल निवासी वरिष्ठ साहित्यकार अजम्बरध्वज खाती संस्थापक रहेको उक्त प्रतिष्ठानले हरेक वर्ष पुरस्कृत स्रष्टालाई ताम्रडालाभरि सिक्का र रुपैयाँ राखी पुरस्कृत गर्ने गर्दछ । नीलम कार्की निहारिकापूर्व यस संस्थाले अन्य सात जना साहित्यकारहरुलाई सोही विधिबाट पुरस्कृत तथा सम्मानित गरिसकेको छ । यसैगरी सोही संस्थाबाट उक्त समारोहमा प्रसिद्ध हाइकुकार डी.बी. पुनलाई पनि उपेन्द्र रञ्जना साहित्य, कला तथा संगीत प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको छ ।

सञ्जीवन कुमार खातीको अध्यक्षता र वरिष्ठ साहित्यकार बूँद रानाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार डा. मुरारि पराजुली, प्रा.डा. हिरण्यलाल ज्ञवाली, प्रा.डा. सूर्यबहादुर जी.सी., प्रा.डा. बाबुराम ज्ञवाली लगायतले पुरस्कृत व्यक्तित्वहरुलाई बधाई दिँदै शुभकामना मन्तव्य राख्नुभएको थियो भने साहित्यकार रुद्र ज्ञवाली, गिरी श्रीस, रमेश समर्थन, मीन रानालगायतले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा पुरस्कृत व्यक्तित्व नीलम कार्की निहारिका तथा डी.बी. पुनले पनि आ-आफ्ना साहित्यिक अनुभूतिहरुका बारेमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया