तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय र सर्वसाधारणका लागि शेयर जारी गर्दै

इनेप्लिज २०७४ फागुन ४ गते १२:३९ मा प्रकाशित

चरिकोट, ४ फागुन :माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय जनता र अन्य सर्वसाधारणका लागि रु दुई अर्ब ६४ करोड बराबरको शेयर जारी गर्ने तयारी गरेको छ ।
दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले चैतको पहिलो सातासम्म शेयर जारी गर्ने तयारी गरेको हो । धितोपत्र बोर्डको स्वीकृति आइसकेपछि फागुन अन्तिमदेखि चैतको पहिलो हप्ताभित्र शेयर संकलन गर्ने आन्तरिक तयारी रहेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपाने बताउनुहुन्छ ।

आयोजनाले दुई करोड ६४ लाख कित्ता शेयर जारी गर्ने तयारी गरेकामा स्थानीयवासीलाई रु एक अर्ब पाँच करोड र अन्य सर्वसाधारणलाई रु एक अर्ब ५८ करोडको शेयर दिने कम्पनीले जनाएको छ ।
धितोपत्र बोर्डको स्वीकृति प्राप्त हुनासाथ शेयर निष्कासनको आवश्यक प्रक्रिया अघि बढ्नेछ । प्रभावित क्षेत्रले बढी शेयर पाउने सहमति यसअघि नै भइसकेको उल्लेख गर्दै प्रवक्ता डा न्यौपाने भन्नहुन्छ, “आयोजना निर्माणका क्रममा भएको असरका दृष्टिले दोलखावासीलाई तीन वर्गमा बाँडेर सोहीअनुसार शेयर लगानीको अवसर दिइने छ ।”
पूर्व सहमतिअनुसार आयोजनाका मुख्य संरचना रहेको साविकका गाविस लामाबगर र गौरीशंकरका बासिन्दालाई ‘क’ वर्ग, सडक मार्ग र प्रसारण लाइनले छुने क्षेत्रका बासिन्दा ‘ख’ वर्ग र अन्य जिल्लावासीलाई ‘ग’ वर्गमा वर्गीकरण गरिएको छ ।

‘ग’ वर्गमा परेका नागरिकले न्यूनतम ५० कित्ता र ‘क’ वर्गकाले १५० कित्तासम्म शेयर खरिद गर्नसक्ने आयोजनाले जनाएको छ । आयोजनाले यसअघि नै दुई अर्ब ५४ करोड बराबरको शेयर कर्मचारीलाई लक्षित गरी जारी गरिसकेको छ ।

दोलखावासीमध्ये शेयर लगानीका लागि तोकिएको अन्तिम मितिसम्म जन्म दर्ता भएका बालबालिका र विर्वाह भई आएका महिलाले विवाह दर्ता प्रमाणपत्रका आधारमा शेयर खरिद गर्न पाउने भएका छन् । त्यसका लागि दोलखा जिल्लावासीले नागरिकताको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने छ ।

शेयरका लागि जिविसले तीन वर्षअघि संकलन गरेको तथ्यांकअनुसार दोलखाको जनसंख्या दुई लाख ८० हजार ५८४ छ । तामाकोशीको लगानी सम्झौता भएको मिति २०६४ माघ १५ गतेभित्र बसाइँ सरी दोलखा आएकाले पनि शेयर खरिद गर्न पाउने व्यवस्था छ ।

स्थानीयवासीले न्यूनतम् ३० कित्ता र अधिकतम् ३०० कित्तासम्म लगानी गर्न पाउने व्यवस्था गर्न लागेको छ । धितोपत्र ऐन २०७३ अनुसार शेयर खरिद बिक्री गर्नका लागि डिम्याट खाता अनिवार्य भएपनि सबैलाई डिम्याट खाताको जानकारी नभएको र खाता खोल्न समय लाग्ने हुँदा त्यहाँका बासिन्दाका लागि बैंक खाता मात्र अनिवार्य गरेर डिम्याट खाता ऐच्छिक गराउन अनुरोध गरेको प्रवक्ता न्यौपानेले बताउनुभएको छ । उहाँले जिल्लावासीलाई आफ्नो पायकपर्ने बैंकमा पुगेर बैंक खाता खोल्न समेत सबैलाई आग्रह गर्नुभएको छ ।

माथिल्लो तामाकोशीको शेयर २०७१ को चैतमा खुलेर पछि विभिन्न कारणले रोकिएको थियो । भारतीय ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण आयोजना अझ केही समय पर धकेलिने समेत बताइएको छ ।

प्रतिक्रिया