कथाकार मनु व्राजाकी रहेनन्

इनेप्लिज २०७४ माघ २० गते ०:०७ मा प्रकाशित
२ फरवरी, वाशिंटन डिसी
नेपाली साहित्यका वरिष्ठ कथाकार मनु व्राजाकीको ७५ वर्षको उमेरमा काठमाडौंमा देहावसान भएको छ । गत मङ्सिरमा मष्तिष्कघात भै अस्पताल लगिएका उनको स्वास्थ्य स्थिति नाजुक रहेकोमा उपचारको क्रममा स्वास्थ्यमा सुधार देखिएको थियो । अचेत अवस्थावाट होसमा आउनुका साथै सामान्य कुरा गर्न थालेको समाचार पनि आएका थिए । तर १९ माघका दिन(२ फरवरी) उनको दु:खद निधन भएको छ ।
विसं १९९९ साउन १९ गते नैनीगौरी, औरही, महोत्तरीमा माता शान्तिदेवी भण्डारी तथा पिता लिप्तमानसिंह भण्डारीका सुपुत्रका रुपमा जन्मेका उनको औपचारिक नाम चेतमान सिं भण्डारी थियो भने नेपाली साहित्यमा उनी मनु व्राजाकीको नामले प्रसिध्द भए । उनी लेखनका साथै चित्रकारिता पनि गर्दथे ।  उनको पहिलो प्रकाशित रचना कथा “भर्याङ्ग” थियो जुन अञ्चल सन्देश पत्रिका जनकपुरमा २०१९ सालमा प्रकाशन भएको थियो ।
उनका प्रकाशित कृतिहरुमा अवमूल्यन(२०३८), आकाशको फल(२०४२), तिम्री स्वास्नी र म(२०४६), भविष्य यात्रा (२०५२) लगायत छन् भने २०५१ सालमा गजल गङ्गा गजल सङ्ग्रह प्रकाशित भएको थियो ।
उनले एक उपन्यासको थालनी गरेका थिए र त्यसको अँश प्रकाशित भयो तर त्यसलाई उनले कहिल्यै पूरा गरेनन् ।
साहित्यको क्षेत्रमा उनी सगर नसत्य, हेमन्द हरि ईत्यादि उपनामले पनि लेख्ने गर्दथे ।
उनले २०३९ सालमा मैनाली कथा पुरस्कार, २०४६ सालमा “तिम्री स्वास्नी र म” का लागि साझा पुरस्कार, २०४७ सालमा गङ्गा लक्ष्मी पुरस्कार, २०५१ मा “भविष्य यात्रा ” का लागि सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार, २०६१ मा दायित्व प्रतिभा पुरस्कार प्राप्त गरेका थिए ।
उनी केही वर्ष अमेरिकाको कोलोराडोमा छोरी ज्वाईंका साथ वसेका थिए । सोही क्रममा उनलाई मष्तिष्कघात भै लामो समय अमेरिका मै उपचार गरिएको थियो । पछिल्लो समय उनको सम्झना शक्ति कम भएको थियो  त्यसैले लामो आकारको लेखनमा समस्या भएको वताउने गर्दथे । उनको सकृय लेखनमा कमी आएको थियो तर साहित्यिक हिसावले निष्कृय भने थिएनन् ।
अमेरिकावाट नेपाल फर्केर उनी अवकाशप्राप्त समय घरमै साहित्यिक भेटघाटमा विताइरहेका थिए ।
(www.vpkonline.com सँगको सहकार्य)

प्रतिक्रिया