अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट नेपाली पाठशालाको लागि पाठ्यक्रम तयार

इनेप्लिज २०७४ माघ १५ गते ३:०१ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट हालै नेपाली पाठशालाहरुको लागि पाठ्यक्रम तयार गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट नेपाली पाठशालाको पाठ्यक्रम विकासका लागि पुष्पराज पौडेल संयोजक रहनु भएको पाठ्यक्रम विकास समिति गठन गरेको थियो र सो समितिमा डा. लक्ष्मीनारायण ढकाल, श्री श्यामल अधिकारी, डा. ऋषि बस्ताकोटी र डा . चुडामणि खनाल सदस्यमा रहनु भएको छ । समितिले विभिन्न पाठशालाहरुको अध्ययन, बिज्ञहरु, पाठशालाका शिक्षक एबं अभिबाबकहरुसंग परामर्श गरि पाठ्यक्रम तय गरेको छ ।

समितिले विश्वका बिभिन्न स्थानमा संचालन भैरहेका पाठशालाहरुलाई सहयोगार्थ निशुल्क रुपमा प्रदान गर्ने गरी एकरुपता प्रदान गर्न सजिलो हुने र पाठशालाहरु उच्चस्तरमा संचालन गर्न सहयोग पुग्ने जनाइएको छ । यस पाठ्यक्रमको आधारमा पाठशालाहरु संचालन गर्दा बिद्यार्थीहरुले सजिलै नेपाली अक्षर र अंकको सुनाई, बोलाई, पढाई, लेखाई, नेपाली भाषा र साहित्यको चिनारी, अंकगणित, नेपाली संकृति र चाडपर्व लगायत व्यक्तित्व र सांस्कृतिक ज्ञान प्रदान गर्ने छ । यसबाट नेपाली भाषाका पाठशालाहरु संचालन गर्न इच्छुक र पाठशालाहरु संचालन गरिरहेका अनेसासका निकाय लगायत एनआरएन, भूटानी नेपाली समुदाय र अन्य संघ संस्थाहरुले पनि सो पाठ्यक्रम निशुल्क रुपमा नमूनाको रुपमा प्रयोग गर्न सकिने र ती संघ संस्थाहरुलाई पाठ्यक्रम तर्जुमा गरिरहने झन्झट नहुने बिश्वास लिईएको छ । उक्त पाठ्यक्रम निशुल्करुपमा प्राप्त गर्न अनेसासको वेबसाइट www.inls.org वा संस्थाका पदाधिकारीहरुसंग सम्पर्क गरि प्राप्त गर्न सकिने छ र सो पाठ्यक्रम अनेसासले पुस्तकाकारमा प्रकाशन गर्ने निर्णय गरेको छ ।

संस्थाका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको केन्द्रीय कार्यसमितिको बैठकले सो समितिका सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै उक्त पाठ्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ । पाठशाला संचालनको क्रममा प्राप्त हुने सुझाव अनुरुप आगामी दिनमा उक्त पाठ्यक्रममा संशोधन गरिने पनि जनाइएको छ ।

 

 

प्रतिक्रिया