म पागल हु , हो पागल हु !

इनेप्लिज २०७४ पुष २६ गते १५:१० मा प्रकाशित

 

म पागल हुँ

हो म पागल हुँ
मलाई पागल को प्रमाण पत्र देउ
परिचय पत्र नै बनाई देउ
घांटी मा भिरेर हिडने छु
मैले तिमी हरु जस्तो
मौका हेरेर
कालो लाई सेतो र
सेतो लाई कालो
कहिले भनिन
सत्ता को कठपुतली कहिले बनिन
हो म पागल हुँ |

दुर्गम गाउँका गरिब पागल हरु लाई
उपचार गर्छु
तिनै गरिब लाई सिटामोल बाडेर
मर्न बाट बचाउछु
हो म पागल हुँ |

तिमी हरु हवाई जहाज चढेर
विदेश को सयर मा. निस्कँदा
म थोत्रो झोला मा अलि कती औषधि बोकेर
गाउँघर को उकालो चढिरहेको हुन्छु
तिमी हरु ले राजधानी को तारे होटेल मा
कुखुरा का सपेटा लुछ्दै गर्दा
म बिकट गाउँमा गरिब को छोरा को
पिलो निचोरीरहेको हुन्छु
हो म पागल हुँ |

कुनै राम्रो पद पाउनका लागी
तिम्रा कार्यकर्ता हरु लाई
विन्तीपत्र चढाउन
तिम्रा दरवार मा धाउदिन
तिमी हरु ले निम्त्याएका रात्री भोज मा
दुई हात जोडेर आउदिन
हो म पागल हुँ |

तिमी हरु को कालो कमाई लाई
सेतो बनाई दिने
ताकत छैन म संग
तिमी हरु. लाई चन्दा दिने नाम मा
बोरा का बोरा रुपिया
पठाइदिने सामर्थ्य छैन म संग
तिमी हरु ले गरेको भ्रस्टाचार मा
आखाँ चिम्लीदिने शक्ती छैन म संग
हो म पागल हुँ |

तिमी हरु लाई भोट दिएर नेता बनाउने
म पागल नै हुँ
तिमी हरु लाई भोट दिएर
देश को ढुकुटी
बर्बाद पार्न पठाउने
ति गरिब जनता पनि पागल नै हुन्
त्यसैले , मर्न तयार छु तिनै पागल जनता हरुका लागी
किनकि म पागल हुँ|

प्रतिक्रिया