आइतबार, साउन १७ २०७८
काठमाडौं ०७:१८
वासिङटन डिसी 21:33

नर्थ क्यारोलाइनासँग साहित्यिक नाता

इनेप्लिज २०७४ पुष १७ गते १५:४४ मा प्रकाशित

 

गोविन्द गिरी प्रेरणा ,भौगोलिक हिसावले नर्थ क्यारोलाइना म वसेको राज्यको दक्षिणमा जोडिएको छिमेकी राज्य हो । छिमेकी राज्यको नाता त गाँसियो नै । तर नर्थ क्यारोलाइनाको नाम भने मैले साहित्यकै कारणले सुनेको हुँ भन्ने सम्झनामा आउँदा वडो सुखद लाग्यो आफैंलाई ।

रुपरेखा मासिक पत्रिकाको नेपाली साहित्यमा अतुलनीय योगदान छ । तीसको दशकसम्म पनि साहित्यकार हुनका लागि रुपरेखा, मधुपर्कमा छापिनु पर्ने किंवा ती पत्रिकामा छापिए साहित्यकारको रुपमा दरिइने मनोविज्ञान नेपालमा व्याप्त थियो । म पनि साहित्यमा वामे सर्न थालिसकेको थिएँ र रुपरेखा मोरु २ मा किनेर पढ्ने गर्दथें । २०३६ सालपछि त्यो पत्रिकामा इश्वरवल्लभले वल्लभ र नयाँ प्रतिभा भन्ने स्तम्भ शुरु गरेका थिए र प्रत्येक अङ्कमा नयाँ कविका कविता र उनको टिप्पणी छापिन्थ्यो । त्यो प्रतिभामा एकजना कवि पनि परे, विमल कोइराला । यिनै कवि अमेरिका उच्च अध्ययनका लागि आए । यिनले अमेरिका वसाइकै क्रममा लेखेको एउटा कविता कम्पूटर शिर्षकको रुपरेखामा छापियो र त्यो कविताको पुछारमा लेखिएको थियो, नर्थ क्यारोलाइना । मैले पहिलो पटक नर्थ क्यारोलाइनाको नाम कवि विमल कोइरालाको कविताको पुछारमा रुपरेखामा त्यसरी पढेको हुँ ।

अव अहिले त नर्थ क्यारोलाइनासँग मज्जाको साहित्यिक नाता छ । म सम्झन्छु, म अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको वाशिंटन डिसी, भर्जिनिया र मेरिल्याण्ड च्याप्टरको अध्यक्ष भएको वखत विभिन्न राज्यका साहित्य सर्जकलाई वाशिंटन डिसी वोलाउने तथा आफ्नो च्याप्टरको टोली विभिन्न राज्यमा साहित्यक कार्यक्रमका लागि जाने सोच वनाएँ र पहिलो पटक नर्थ क्यारोलाइना रोजेका थियौं र नर्थ क्यारोलाइनामा त्यस वेला सो साहित्यिक कार्यक्रम सम्पन्न गर्नका लागि साहित्यकार अरु मित्रहरुसहित नगेन्द्र न्यौपाने र हरिहर भट्टराइले विशेष भूमिका खेल्नु भएको थियो । कार्यक्रमको हल हरिहरजीले अध्यापन गर्नुहुने विश्वविद्यालयमा प्रवन्ध भएको थियो र रमाइलो साहित्यिक कार्यक्रम सम्पन्न भएको थियो । यतावाट हामी सुवास उप्रेती, विपिन भूर्तेल लगायतका कवि लेखक गएका थियौं ।

मैले त्यस विषयमा मध्यरातमा नर्थ क्यारोलाइना भन्ने छोटो नियात्रा लेखेर प्रकाशन गरेको पनि थिएँ र आगामि अमेरिकाको नियात्रा पुस्तकमा पनि त्यो समावेश गरेको छु ।

रमाइलो कुरा अर्काे के छ भने पहिलोपल्ट अमेरिकामा सन् २००० मा एटलाण्टामा भएको अन्तरराष्ट्रिय नेपाली भेलामा आयोजित अन्तरराष्ट्रिय कविता प्रतियोगिताको निर्णायकको रुपमा डारु तारानाथ शर्मा र म निर्णायकको रुपमा निम्त्याईएका थियौं । सो निम्तोमा पहिलोपल्ट एटलाण्टामा पाइला टेकेर सो सम्मेलनमा भाग लिए पश्चात् जुलाई ४ का दिन म वाशिंटन डिसीवाट यौटा भ्यान लिएर गएका मित्रहरुसँग म एटलाण्टावाट भर्जिनिया आएको थिएँ । त्यसरी आउँदा मैले नर्थ क्यारोलाइना पनि छिचोलेर आएको रहेछु भन्ने त पछि पो थाहा भो ।

नर्थ क्यारोलाइनासँग अरु केही कुरा पनि गाँसिएका छन् । मैले नेपालमै पुराना पुस्तक वेच्ने ठाउँमा पाएको वीडोज अर्थात् विधवाहरु उपन्यास तया डेथ एण्ड द मेडन नाटकका लेखक एरियल डोर्फम्यान नर्थ क्यारोलाइनाको डयूक विश्वविद्यालयमा प्राध्यापन गर्छन् र त्यतै वस्छन् । द लाष्ट अरेन्ज आत्मकथात्मक कृतिका लेखक किसन उपाध्याय पनि नर्थ क्यारोलाइनामै वस्छन् यद्यपि मैले यी दुवै लेखकलाई प्रत्यक्ष भेट्न भने पाएको छैन ।

एटलाण्टा मुख्य थलो भएको दक्षिण पूर्वी अमेरिकी राज्यहरुको नेपाली संस्था नासा र मध्यपश्चिमका राज्यहरुको अर्काे नेपाली संस्था एन्माको साझा सम्मेलन नर्थ क्यारोलाइनमा हुँदा दुई पटक म त्यो सम्मेलनमा भाग लिन पुगेको छु र साहित्यिक कार्यक्रमहरुमा सहभागी हुने मौका मिलेको छ ।

सन् २०१५ मा मैले नर्थ क्यारोलाइनाका साहित्यिकारहरुले हरेक २ महिनामा गर्ने पुस्तक चर्चा कार्यक्रम जुन साहित्यकार नीलम कार्की निहारिकाको घरमा सम्पन्न भएको थियो, त्यसमा पनि भाग लिने मौका पाएँ । उहाँहरुले एक वर्ष अघि नै आगामि वर्ष कुनकुन लेखकका कुनकुन पुस्तकमाथि परिचर्चा गर्ने हो त्यसको तालिका वनाउनुहुँदो रहेछ । अनि सवैलाई एकएक प्रति किताप उपलव्ध गराइने व्यवस्था हुँदोरहेछ र त्यो कृति पढेर आएर सो माथि आआफ्ना धारणा राख्नुहुँदो रहेछ । लेखक उपस्थित भए लेखकसँग प्रत्यक्ष प्रश्न गर्ने पनि गरिंदोरहेछ । यो निकै नै उपयोगी र राम्रो कार्यक्रम भन्ने लाग्छ । यो एक प्रकारकचो रिडर्स ग्रुप हो, पाठक समुदाय । तर यो पाठक समुदाय लेखककै समुदाय पनि हो । अतः रचना वाचन पनि गरिन्छ र नयाँ रचनाको स्वाद पनि लिने अवसर हुन्छ ।
नीलमको घरमा भएको सो कार्यक्रममा पुस्तक चर्चा र रचना वाचनका अतिरिक्त यौटा चाखलाग्लो र अप्रत्यासित के संयोग जु¥यो भने, नीलमले आफ्नो नवलिखित उपन्यासको पाण्डुलिपिका महत्वपूर्ण अँशहरु सुनाउनु भयो । यो वडो मज्जाको विषय भयो । भविष्यमा चीरहरण नामको उपन्यासको रुपमा प्रकाशित भएर पद्मश्री पुरस्कार पाउने उपन्यास लेखिकाकै मुखारवृन्दवाट ताजा सुन्न पाइयो, प्रकाशन पूर्व नै । गजव रमाइलो होइन त यो ती श्रोताहरुलाई जसले त्यो अवसरमा सुन्न पाए पहिलोपटक ?

यौटा अर्काे कुरा पनि छ नर्थ क्यारोलाइनाको, मनोज प्रधान अत्यन्त जागरुक छन् साहित्यिक भेटघाट, रचना सुन्न सुनाउन । एकपल्ट म व्यावसायिक कामको सिलसिलामा नर्थ क्यारोलाइना पुग्दा उनको मीठो आमन्त्रणले वोलाइहाल्यो र राती अवेरसम्म सुन्ने सुनाउने माहौल वन्यो अन्य एकाध मित्रहरुसँगै । वढो आत्मिय र रुचिकर क्षण वन्यो । पछिल्लोपल्टको मेरो नासा एन्माको नर्थक्यारोलाइनाको साहित्यिक सम्मेलनमा औपचारिक कार्यक्रमपछि राती अनौपचारिक गोष्ठी निकै रमाइलो भएको थियो । हातहातमा सुरापान र ओठओठमा कविता । औपचारिक भन्दा अनौपचारिक कता हो कता अभूतपूर्व । यो वेग्लै कुरा हो सीता पाण्डेले आफ्नो दिवङ्गत छोराको सम्झनाको लेखेको कविता सुनाउन थालेपछि माहौल आर्द्र र गम्भिर वन्यो ।

जसै कविता पढ्दै गइन्, सीता पाण्डेका आँखावाट कोशी कर्णाली उर्लेर वग्न थाले । सीता पाण्डे पनि रुन्छिन् वा रुन सक्छिन् भन्ने पहिलोपल्ट म देख्दै थिएँ उनीसँगको सँगको ३६ वर्ष लामो अन्तरालमा ।

यौटा महत्वपूर्ण कार्यक्रम संघारमा आइपुगेको छ । म सन् २०१७ को नोभेम्वर महिनाको अन्तिम दिन यि हरफहरु लेखिरहेछु । आगामि महिना अर्थात् डिसेम्वर ३० शनिवारका दिन मेरो पछिल्लो नविनतम कृति लामा कथाहरुको सङ्ग्रह गन्तव्य गणवहालको पुस्तक चर्चा हुँदैछ । यो वर्षको शुरुमै डिसेम्वरमा मेरो पुस्तकको चर्चा हुने खवर सहत वर्षभरि चर्चा गरिने पुस्तकहरुको सूचि प्रकाशित गरिसकिएको थियो । मेरो लागि यो यस प्रकारको पहिलो कार्यक्रम हो । हेर्नु छ, कस्तो होला त्यो कार्यक्रम । सम्भवत त्यसको वारेमा पछि छुट्टै केही लेख्ने प्रसङ्ग नै पो वन्छ कि ?
नर्थ क्यारोलाईना नेपाली साहित्यमय भएको चाहीं पक्का छ ।

३० नोभेम्वर २०१७ ,मनासस, भर्जिनिया ।

प्रतिक्रिया