के मान्छेले साँच्चै शुभकामना दिन्छ ?

इनेप्लिज २०७४ पुष १७ गते ११:४२ मा प्रकाशित

म त

मान्छेले मान्छे मारेको देख्छु

आफ्नैले अहा भन्दा पनि डाह गरेको देख्छु

मै खाउँ

मै लाऊँ

मै मोज गरूँ भनि

पर पर सरेको देख्छु

मान्छेले मान्छेलाई नै निर्बस्त्र लूट्छ

मान्छेलाई नै निर्घात कुट्छ

यहाँ मान्छेले मान्छे नै बेच्छ

मान्छेले नै मान्छे किन्छ

कोही भनिदेओस् न !

के मान्छेले साँच्चै शुभकामना दिन्छ?

मान्छेकै शत्रु मान्छे छ यहाँ

मित्र भन्नेले भित्रैसम्म काट्छन्

मान्छेले मान्छेलाई मान्छे गन्दैन

कहिल्यै खुशी छु भन्दैन

अरुको खुशीलाई आफ्नो ठान्दैन

आफ्नो ईज्जत खोज्छ

अरुको गर्दैन

यस्तो सोच्छ कि:

उसलाई मर्नु नै पर्दैन

माग्दा झुकेर माग्छ

दिनुपर्दा लुकेर भाग्छ

उपकारमा छलेरै हिड्छ

चाकरीमा ढलेरै चिन्छ

कोही भनिदेओस् मलाई

के मान्छेले साँच्चै शुभकामना दिन्छ?

माफ़ गर्नुस ल

कोही मान्छे त देउतै छन् नि !

तर ती करोड़मा एउटै छन्

आफू जस्तै शालीन संसार देख्छन् तिनीहरु

कोलाहलमा पनि झंकार देख्छन्

सात्विक र नैतिक संसार देख्छन्

तर

तिनकै बनबास भएको देख्छु

तिनकै सर्वनाश भएको देख्छु

त्यसैले मलाई लाग्छ

यो शुभकामना मान्छेले

केवल आफैले आफैलाई मात्र दिन्छ

होईन भने जवाफ दिनुस्

किन मान्छेले मान्छेकै घाँटी छिन्छ?

कसैले मलाई बिश्वास दिलाओस्

के मान्छेले साँच्चै शुभकामना दिन्छ?

यहाँ देउता त धुर्त छन् अचेल

छल शास्त्र तिनैले जानेका छन्

जसलाई हामी देवता ठान्छौँ

खल पात्र तिनै हुन्

चिनेका छौ?

जे देखिन्छन्, तिनीहरु होईनन्

जो देखिन्नन् तिनीहरु पनि होईनन्

धेरै स्वार्थीहरु अचेल शुभकामना भन्छन्

तर भित्र भित्रै श्रापकामना गर्छन्

किनकि

उनीहरु चाहन्नन् कि कोही उनलाई उछिनोस्

त्यसैले बाहिर शुभकामना र

भित्र उछितो काढ्छन्

कोही भनिदेओस् न !

मान्छेले मान्छे कहिले चिन्छ?

के मान्छेले साँच्चै शुभकामना दिन्छ ?

डिसेम्वर ३१-२०१७

प्रतिक्रिया