विकास थापा ,हेरिसवर्ग, अमेरिका ,अमेरिकास्थित क्लिवलेण्ड ओहाइयोमा यही डिसेम्बर १६ तारिखको दिनमा सामाजिक संस्था होपले आयोजना गरेको एक कार्यक्रममा मातृभाषा संरक्षण समूहको लोगो आधिकारिक रूपले लोकार्पण गर्नुको साथै कविता वाचन पनि गरिएको थियो । उक्त लोगो हेरिसबर्ग निवासी वरिष्ठ चित्रकार डी बी सारूले तयार पार्नु भएको थियो । साहित्य सिर्जनामा नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उदेश्यले सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व चन्द्र गुरुङले गर्नुभएको थियो । प्रमुख अतिथि डिल्ली अधिकारी हुनुहुन्थ्यो भने गंगा लामिटारे, भक्त घिमिरे लगायतले अतिथिको आसन ग्रहण गर्नुभएको थियो ।
मातृभाषा संरक्षण समूह भुटानी नेपाली भाषी साहित्यिक सर्जकहरूले सन् २०१४ मा स्थापना गरेको एक समूह हो । अमेरिकामा बसोबास गर्ने साहित्यिक सर्जकहरूको यस समूहले नेपाली भाषा साहित्यको विकासको लागि विभिन्न रचनात्मक कार्यक्रम गर्नुको साथै यस समूहले विभिन्न साहित्यिक पुस्तकहरूको पनि निरन्तर रूपले प्रकाशन गर्दै आइरहेको छ । मातृभाषा संरक्षण समूहले प्रकाशन गरेका साहित्यिक कृतिहरूमा “समुद्रपारिका कलमहरू ” ,”कुलागाङ्ग्रीको फेदीबाट ” ,”भुल्नै सकिन “, एक अन्जुलि सपना ” र नारद आचार्य सुदामाको “बिछोडिएको मन ” गजल संग्रह भर्खर प्रकाशनमा ल्याएको छ भने सन् २०१८ मा तीन पुस्तकहरू प्रकाशनमा ल्याउने तयारीमा रहेको छ ।
उक्त कार्यक्रममा मातृभाषा संरक्षण समूहले भुटानी साहित्यका अभिभावक तथा साहित्यकार गंगा लामिटारेलाई नगद २५१ डलर सहित सम्मान पत्रले पहिलो पल्ट सम्मान पनि गरेको थियो । भुटानी नेपाली साहित्यलाई आजको यो अवस्थासम्म ल्याउनको लागि लामिटारेको महत्त्वपूर्ण योगदान र मेहनत भएको हुँदा उहाँको योगदानको सम्मान गर्न पाउँदा आफूहरू गौरवान्वित भएको र आगामी वर्षहरूमा पनि अब यस्ता साहित्यिक सर्जक र नेपाली भाषा साहित्यमा उत्कृष्ट योगदान गर्नेहरूलाई आगामी दिनमा पनि मातृभाषा संरक्षण समूहले नगद पुरस्कार तथा सम्मान पत्रले सम्मान गर्दै जाने समूहको महत्त्वाकांक्षी योजना तथा उदेश्य रहेको र आफूहरू भुटानी नेपाली साहित्यको साँघुरो घेरामा मात्र सधैं खुम्चिएर नबस्ने संस्थापक सदस्य केशव घिमिरि `बैरागी माइलो’ले बताउनु भयो ।
भाँचिएको सिसाकलमले लेखिएका सिर्जनाहरू आगो झिल्कासँगै कयौँपल्ट खरानी भए पनि नेपाली भाषी भुटानी साहित्यिक सर्जकहरूको यो सिर्जनशीलता, उत्साह; उत्प्रेरणा र धैर्यबाट संसारभरका नेपाली भाषी साहित्यिक सर्जकहरूले पाठ सिक्न जरूरी छ । आफ्नो मातृभूमिबाट बलजफती खेदिनु परे पनि आफ्नो भाषा र साहित्य बचाउन गरिएका यस्ता उत्साहमूलक कार्यक्रमहरूले अमेरिकामा सधैं चेतनाको दियो जलाउनुको साथै सबैका लागि प्रेरणादायी र उदाहरणीय पनि रहँदै आएका छन् ।
प्रतिक्रिया