विश्वप्रकाश शर्माको चुनावी अभियानमा हिजो दिनभर शर्मासँगै हिडिरहेका हामीहरुले उनको बिजय सुनिश्चित भैसकेको अनुभुत गर्न थालेका छौं।

इनेप्लिज २०७४ मंसिर ६ गते २३:१४ मा प्रकाशित

७ मंसिर २०७४,बिहान ६ बजेदेखी शुरु हुने उनको घर दैलो, कोणसभा, मतदाताहरुसँगको अन्तरकृयालगायतका विविध कार्यक्रमहरुको रौनक र मौलिकताले मतदाताहरुमा नवीन उत्साहको लहर सिर्जना हुँदै गएको प्रत्यक्ष देख्न पाईन्थ्यो। उनको चुनावी अभियान बेलुकी ११ बजेसम्म निरन्तर चलिरहँदा पनि उनीसँगसँगै हिडिरहेका हामी कसैले पनि आराम र थकान कुन चरीको नाम हो महसुस गर्नु परेको थिएन।

चुनावी मैदानमा देखिएका सबै प्रतिस्पर्धी दलहरु र तिनका नेता र कार्यकर्ताहरुसँग पनि वीचवीचमा जम्काभेट हुँदै गरेको देखिन्थ्यो। अचम्म त के भने प्रमुख प्रतिस्पर्धी ठानिएका दलको चुनावी कार्यालयहरुमा देखिएको भीडभित्रै पुगेर पनि उनले आफ्नालागि मत माग्न छुटाएनन्। गाली गलौच बिनाको यो नविन र उच्च संस्कारयुक्त चुनावी प्रचार प्रसारको शैली देखेर मतदाताहरु छक्क परेर उनलाई हार्दिकतापुर्ण ढंगबाट स्वागत गरिरहेका भेटिन्थे। चुनावी सभाहरुमा भेला भएका सबैखाले बिचार बोकेका मतदाताहरुमध्ये के नवयुवा, के तरुण र के पाका सबैले उनलाई अति हर्षित भएर अंकमाल गर्नेदेखी आशिर्बाद दिनेसम्म गरेको देखिन्थ्यो। के जनजाती के महिला अनी के आदिबासी के दलित सबैखालका मतदाताहरुले उनलाई हृदयदेखी स्वागत गरेको प्रस्ट झल्किन्थ्यो।

एकै दिन भित्र काठमाडौं देखी आईपुगेका २/३ वटा मिडिया हाउससम्बद्द पत्रकार मित्रहरुको टोलीलाई समय छुट्याउन पनि उनलाई धौ धौ परेको देखियो। प्रचारप्रसारका क्रममा बाटामा भेटिएका वा जम्काभेटमा परेका आफ्नै प्रतिस्पर्धी उम्मेद्वारले पनि उनलाई भेटेर अंकमाल मात्रै गरेनन् हार्दिक स्वागत गर्दै संगै बसेर चिया खान अफर गरेका थिए। जम्काभेटमा शर्माले तपाईहरुका पार्टीको घोषणापत्र र कार्यक्रमहरु पढ्न पाउँ भनेर माग्दै गर्दा उनका कुराहरु सुन्न प्रतिस्पर्धी दलका नेता कार्यकर्ताहरु पनि उत्साही भएको देखियो। दिनभर चलिरहेने यस्तो घरदैलो, कोण सभा र मतदाताहरुसंग प्रत्यक्ष दोहोरो अन्तरकृया कार्यक्रमको पृथक शैली देखेर मानिसहरु छक्क परिरहेका भेटिए।

आफ्नो निर्वाचन क्षेत्रमा मरिमराउ परेका घरहरुमा समबेदना दिन पुग्नेदेखी बिबाह उत्सव कार्यक्रमको भीडमा पनि उनी सहजै प्रस्तुत भईरहेका भेटिन्थे। कसैलाई पनि गाली गलौच नगरी पनि चुनाव प्रचार प्रसार सफल र सम्भव हुँदो रहेछ भन्ने तथ्यलाई प्रस्तुत गरेर उनले विभिन्न दलमा आस्था राख्ने मतदाताहरुको पनि मन जितीरहेको सहजै अनुमान लगाउन सकिन्थ्यो। आश्चर्य त के थियो भने उनको चुनावी अभियानको मौलिकता र पृथक शैलीबाट प्रभावित भएर सबै उमेर समुहका मानिसहरु एकआपसमा चुनावी चिया गफमा पनि उनकै प्रशंसा गरेर थाक्दैनथे।

मतदाताहरुसम्म पुग्दै गर्दा उनले सबै दलहरु र तीनका नेता तथा कार्यकर्ताहरुबाट बिगतमा कमीकमजोरी भएको तथ्यलाई स्विकार्न सिक्नुपर्छ भन्ने तर्कलाई शालिन ढंगबाट प्रस्तुत गरिरहे। अरुको गाली गलौचमा समय खर्चिनुभन्दा आ-आफ्ना बिकासका परियोजनाहरु पस्किन उनले सुझाव दिएका थिए। बिगतमा आफु पराजय भएर पनि बिजयी हुनेहरुले भन्दा बढी कार्यक्रम र परियोजना आफ्नो क्षेत्रमा दिन सफल भएको जिकीर उनले गरिरहंदा मतदाताहरुले तालीले स्वागत र समर्थन गरेको देखियो।

मुलुकमा परिवर्तनको सम्भावना बोकेका निस्ठाको राजनीति गर्ने असल र सक्षम युवा राजनीतिज्ञ मध्ये एक हुन् विश्वप्रकाश शर्मा। उनी आजसम्म कुनै पनि लाभको पदमा रहेका छैनन्। तर पनि उनको कार्यशैली, लेखन्, बोली, बचन, व्यबहार अनि उनले प्रस्तुत गर्ने गरेको नवीन राजनीतिक संस्कार, संस्कृती र समग्र व्यक्तित्वका कारण उनको लोकप्रियताले उनकै १ नंम्बर प्रदेशमा पर्ने संसारकै उच्च सगरमाथाको शिखर चुमिरहेको आभाष हुन्थ्यो।

~कृष्ण सादगी, मेचीनगर, झापा, नेपाल।

प्रतिक्रिया