सुकुम्वासी समस्या समाधान पहिलो प्राथमिकता – उम्मेदवार दाहाल

इनेप्लिज २०७४ कार्तिक २९ गते १४:३८ मा प्रकाशित

शिशिर सिंखडा
कालिका, चितवन, २९ कार्तिक ।
प्रदेश सभा चितवन क्षेत्र नं. २ “क” का उम्मेदवार घनश्याम दाहालले आफु विजयी भएपछि यस क्षेत्रका सुकुम्वासीहरुको समस्या समाधान गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । संयुक्त वामगठबन्धनका उम्मेदवार दाहालले आज कालिका नगरपालिकाको वडा नं. १ को लंकालाईन, गडुवा र वडा नंं ६ को नयाँरोड, भटेनी, पृथ्वीचोक क्षेत्रमा आयोजित घरदैलो पछिको कोणसभालाई सम्वोधन गर्दै सुकुम्वासी समस्या समाधान, सडक, सिंचाईका क्षेत्र पनि आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गर्न पनि आफु प्रतिवद्ध रहेको दाहालले बताए ।

संयुक्त वामगठबन्धनको तर्फबाट उम्मेदवारी दिएका चितवनका सबै उम्मेदवारहरुलाई विजयी गराउन अनुरोध गर्दै उम्मेदवार दाहालले यसपटकको निर्वाचनमा वामगठबन्धनले बहुमत ल्याउने समेत बताए । निर्वाचन पश्चात् बन्ने बहुमतको सरकारले ५ वर्ष भित्रमा जनताको न्यूनतम पूर्वाधार र आवश्यकता परिपूर्ति गरी देश विकासको चरणमा अगाडि बढ्ने भएकोले यसपटकको निर्वाचनमा वामगठबन्धनको विकल्प नभएको समेत बताए । कार्यक्रममा नेकपा एमालेका नेता जयचन्द्रप्रसाद चौधरी, विनोद रेग्मी, टिका रिजाल, माओवादी केन्द्रका नेता सविता लामा, ईश्वर सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया