पूर्वी चितवनको खोलेसिमलमा तीजगीत प्रतियोगिता

इनेप्लिज २०७४ भदौ ८ गते १४:४० मा प्रकाशित

भाद्र ८, रत्ननगर ।
हरितालिका तीजको अबसरमा पूर्वी चितवनको कालिका नगरपालिका वडा नंंं. ६ खोलेसिमल बजारमा “सामाजिक विकासमा सहकारीको भूमिका” विषयक तीज गीत प्रतियोगिता गरिएको छ । सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि. ले आयोजना गरेको सो कार्यक्रमका प्रमुख अतिथि वडा नंं. ६ का वडा अध्यक्ष विनोद रेग्मीले पानसमा दिप वालेर उद्घाटन गरेका थिए ।

प्रतियोगितामा प्रथम हुने समूहले १५ हजार, द्धितीय हुनेले १२ हजार, तृतीय हुनेले ९ हजार, सान्त्वना हुनेले ५ हजार र उत्कृष्ट नृत्य प्रस्तुत गर्नेले तीन हजार पुरस्कार हात पारेका छन । प्रतियोगितामा न्यू सगरमाथा इङ्गलिस मिडियम स्कुलले प्रथम स्थान हासिल गरेको थियो । त्यस्तै सिद्धि विनायक आवासीय मा.वि. ले द्वितीय पुरस्कार र रामकृष्ण टोल दिदीबहिनी महिला समूहले तृतीय पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै गरी साना किसान बचत तथा ऋण सहकारी संस्थाले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो भने नृत्य तर्फ रामकृष्ण टोल दिदीबहिनी समूहकी अञ्जु बोहोराले पुरस्कार प्राप्त गरेकी थिइन् । विजयी समुहलाई कार्यक्रमका प्रमुख अतिथि विनोद रेग्मी र सहकारी संस्थाका अध्यक्ष द्रोण प्रसाद लामिछानेले पुरस्कार वितरण गरेका थिए ।

सो अबसरमा वडा अध्यक्ष रेग्मीले तीजलाई भडकिलो नबनाई संस्कृतिसंग जोडर मनाउन आग्रह गरेका थिए । सहकारीका अध्यक्ष लामिछानेले आफ्ना सदस्यहरुलाई चार्डपर्वको अनुभूति दिलाउन तीजगीत प्रतियोगिता गरिएको बताए ।
प्रतियोगिताको निर्णायकमा रामकृष्ण लम्साल, भिमा कुमारी पौडेल र शर्मिला लामिछाने रहेका थिए ।

कार्यक्रममा कलाकार गोविन्द अधिकारी लगायतका कलाकारले तीजको गीत प्रस्तुत गरेका थिए । सहकारीका अध्यक्ष लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखा समितिका संयोजक शिशिर सिंखडाले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया