टोरोन्टोको बहु सांस्कृतिक मेलामा सारंगी र मादल सहितको नेपाली लोक धून एबम लोक नृत्य प्रस्तुति

इनेप्लिज २०७४ साउन २९ गते १४:४८ मा प्रकाशित

टोरोन्टो, बहु सांस्कृतिक मुलुक क्यानडा को १५० औँ बार्षिकोत्सब उपलक्षमा टोरोन्टोको ईस्ट योर्कमा हालै बहु सांस्कृतिक मेलाको आयोजना भएको छ। उक्त कार्यक्रममा नेपाली समुदायको प्रतिनिधित्व संयोजन ईस्ट योर्क स्थित नेपाली संस्था श्रीजनशील नेपाली समाजले गरेको थियो भने सो कार्यक्रममा क्यानडामा नेपाली लोक संगीत प्रबर्द्दन गर्न प्रयासरत सांगीतिक समुह “हिमालयन भाईब्स” ले सोरठि लगायतका नेपाली लोक धूनहरु प्रस्तुत गरेका थिए।

कार्यक्रममा अमेरिका बाट आउनु भएका प्रसिद्द सारंगी बादक श्याम नेपाली र प्रसिद्द मादल बादक सानुराजा महर्जनको जुगल बन्दिले सारंगी र मादलको फ्युजन प्रस्तुत गर्दा दर्शकहरु एकाग्र भएर श्रवण गरि रहेका थिए। साथै ‘रेसम फिरिरि’ ‘बसन्त नै बस्न खोज्दछ यहाँ’ बोलका धून प्रस्तुत गर्दा केहि दर्शकहरु कम्मर मर्काई नाचेका थिए। सो सांगितिक समुहमा सानुराजा महर्जन, हरि लम्साल, प्रदीप बान्स्कोटा, बिजु सिंह, सम्बिदा खनाल, उत्तम माकजु रहेको छ।

त्यसै गरि सो हि कार्यक्रममा निपूर्णा सापकोटा, मन्जिल घिमिरे, अपेक्षा पाण्डे, अग्रता बस्नेत, अनुश्का थापा तथा सौरभि पौडेलले लोक नृत्य प्रस्तुत गरेका थिए । बिभिन्न मुलुकहरुको आ आफ्नो प्रस्तुति रहेको सो कार्यक्रममा क्यानडा का संस्कृति मन्त्री मेलानी जोलि र सांसद नेथानियल एर्स्किन स्मिथले बहु संस्कृति को महत्व बारे प्रकाश पार्नु भएको थियो । सो कार्यक्रममा नेपाल तथा कलाकारहरुको परिचय समाजका अध्यक्ष शिशिर पाण्डेले दिनु भएको थियो। स्मरणीय छ, श्रीजनशील नेपाली समाजले स्थापना भएको छोटो अबधिमै नेपाली संस्कृति प्रबर्द्दन हुने बिभिन्न कार्यक्रम गर्न सफल भएको छ ।

प्रतिक्रिया