चितवनको रामपुर स्थित कृषि क्याम्पस कालिका नगरपालिकामा संचालन गर्ने तयारी

इनेप्लिज २०७४ साउन १५ गते १२:१३ मा प्रकाशित

शिशिर सिंखडा
कालिका १४ श्रावण ।
चितवनको रामपुरमा विगत ५० वर्षदेखि संचालनमा रही पढाई हुँदै आएको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (रामपुर क्याम्पस) चितवनकै कालिका नगरपालिकामा संचालन गर्ने तयारी भएको छ ।


नेपाल सरकारको निर्णयबाट वि.सं. २०६७ असार ३ गतेदेखि रामपुरमा कृषि तथा वन विश्वविद्यालय स्थापना गर्ने निर्णय भए पश्चात् विवाद बन्दै आएको विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको संस्थान एकै स्थानमा संचालन गरी भर्ना गर्ने र पढाउने सन्दर्भमा पटक पटक विवाद हुँदै आएको थियो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत संचालित संस्थानलाई नेपाल सरकारले कालिका नगरपालिकाको गैरीबारी क्षेत्रमा संचालन गर्ने तयारी गरेको छ । सो क्षेत्रको करिब ४ सय विगाहा जमिनमा संस्थान संचालन गर्ने योजना छ । कालिका नगरपालिकाकै शक्तिखोर क्षेत्रको २ हजार विगाहा जमिनमा औद्योगिक क्षेत्र निर्माण गर्ने र सो भन्दा उत्तरतर्फ क्याम्पस संचालन गर्ने तयारी भएको हो ।

गैरीबारी क्षेत्रमा तत्काल सो क्याम्पस संचालन गर्न भवनको संरचना तथा पूर्वाधार तयार गर्नुपर्ने भएकोले त्यस अगाडि कक्षा संचालन गर्न कालिका नगरपालिकामा रहेको शहीद स्मृति बहुमुखी क्याम्पसको शाखा भवन पदमपुरमा संस्थानको कक्षा संचालन गर्ने पहल शुरु भएको छ । आज शनिबार कालिका नगरपालिकामा आयोजित जिल्ला र नगरस्तरीय राजनैतिक दल एवम् नगरपालिकाका जनप्रतिनिधिहरु र संस्थानका प्रमुख एवम् प्रतिनिधिहरुबिचको छलफलले पदमपुरमा रहेको ५ विगाहा जमिन सहितको शहीद स्मृति क्याम्पसको भवनमा कक्षा संचालन गर्न सकिने निष्कर्ष निकालिएको हो । सो कार्यका लागि शहीद स्मृति क्याम्पससँग समन्वय गर्ने अस्थायी रुपमा कक्षा संचालन गर्न दिन अनुरोध गर्ने समेत निर्णय भएको थियो ।

कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ, नेकपा एमालेका जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्का, माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष बद्री तिमल्सीना लगायतले गैरीबारी क्षेत्रमा पूर्वाधार तयार नभएसम्म अस्थायी रुपमा पदमपुरमा कक्षा संचालन गर्न उपयुक्त भएको बताएका थिए । समग्र चितवन र कालिका नगरपालिकाकै गहनाको रुपमा रहने सो संस्थानको भौतिक पूर्वाधार छिटो भन्दा छिटो तयार गर्न पहल गर्ने र कक्षा संचालन गर्न समेत सक्दो सहयोग गर्ने राजनीतिक पार्टी प्रमुखहरुले प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान (रामपुर क्याम्पस) का क्याम्पस प्रमुख डा. चुडा प्रसाद ढकालले रामपुरमा रहेको सो क्याम्पस स्थानान्तरण गरी कालिका नगरपालिकामा संचालन गर्नु सकारात्मक रहेको भन्दै सबै तह र क्षेत्रबाट सहयोगको अपेक्षा समेत व्यक्त गरेका थिए । क्याम्पस यसै वर्षबाट संचालन गरी भर्ना अभियान थाल्न र यही असोज कार्तिकबाट कक्षा शुरु गर्न समेत आफु प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले आफु र नगरपालिका क्याम्पस संचालन गर्न सकारात्मक रहेको भन्दै सबै राजनैतिक दल र स्थानीयको समेत साथ र सहयोगको अपेक्षा गरेका थिए । सोही अवसरमा संयुक्त राष्ट्र संघ अन्तर्गत अन्तर्राष्ट्रिय श्रम संगठन दक्षिण अफ्रिकाका योजनाविद् गुञ्जन बहादुर डल्लाकोटीले भौतिक एवम् सामाजिक पूर्वाधारको छिटो भन्दा छिटो अध्ययन गरी क्याम्पस संचालन गर्नुपर्ने बताए । कालिका नगरस्तरीय राजनीतिक दलका प्रमुखहरु, नगरका वडा अध्यक्षहरुको समेत उपस्थिती रहेको कार्यक्रममा सबै वक्ताहरुले क्याम्पस स्थानान्तरण र संचालनमा सहयोग गर्ने बताएका थिए ।

सो क्याम्पस कालिका नगरपालिका क्षेत्रमा संचालन हुने भएपछि यसैवर्षबाट कृषि विषयमा प्रथम सेमेस्टरमा ५० जना विद्यार्थी भर्ना गरिनेछ । हरेक वर्ष ५० जनाको दरले विद्यार्थी थपिदैँ ४ वर्षमा २०० जना विद्यार्थीहरु यस क्याम्पसमा आवासीय रुपमा अध्ययन गर्नेछन् । सम्पूर्ण पूर्वाधार तयार भएपछि पशु विज्ञानको विषयमा पनि अध्यापन गराइने छ । स्मरणरहोस् वि.सं. २०६७ सालबाट रामपुरमा कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना गर्ने सरकारको निर्णय भएपश्चात् त्रिभुवन विश्वविद्यालय अन्तर्गतको संस्थानसँग विवाद चुलिदैँ गएको थियो ।

 

प्रतिक्रिया