नर्थ क्यारोलाइनामा २०४ औं भानु जयन्ती सम्पन्न

इनेप्लिज २०७४ साउन ९ गते ०:४५ मा प्रकाशित

लामखुट्टे उपियां उडुस् इ संगी छन् इन्कै लहड्मा बसी।
लामखुट्टेहरु गाउंछन इ उपियां नाच्छन म हेर्छु बसी।।

श्लोक वाचन गर्दै कार्यक्रम संयोजक द्वय सुजाता ढुंगेल र नम्रता गुरागाईको संयोजकत्वमा आदिकवि भानुभक्त आचार्यको २०४ औं भानु जयन्ती कार्यक्रम नर्थ क्यारोलाइनाको केरीमा सम्पन्न भयो । उक्त कार्यक्रमको सभापतित्व नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष मनोज प्रधानले गर्नुभएको थियो । अतिथिहरु क्रमशः संस्थाका सल्लाहकारहरु डा.नारायण राजभण्डारी, डा.हरिहर भट्टराइ, इश्वर देवकोटा, नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाकी अध्यक्ष डा.सुस्मा प्रधान र एन आर एनका अध्यक्ष डा.केशब पौडेल रहनुभएको उक्त कार्यक्रमको पहिलो चरणमा किन्डरगार्टेनदेखि १२ कक्षासम्मका भाइबैनीहरुका लागि बाल कविता प्रतियोगिता गरिएको थियो ।

नेपालसंम्बन्धी जानकारीमुलक खोजीका लागि दिइएको “नेपाल” र्शीर्षकमा रहेर १४ जना भाइबैनीहरुले आफनो कविता पठाएका थिएभने कविताहरुमाथि कवि विक्रम गौतम, शिशिर खनाल र स्मृति पोख्रेल लगायतको निर्णायक मंडलले निर्णायक भूमिका खेलेको थियो । उक्त प्रतियोगितामा बाल कविहरु क्रमशः दिपास्ना अर्याल, सुहानी ढुंगेल, सुभम ढुंगेल, अलबर्ट बस्ताकोटी, सम्पदा आचार्य , सगुन आचार्य, साइन लामिछाने, सम्बृदि संग्रौला, केरी देवकोटा, हिसी उलक, श्रेया ढकाल, सजित बस्नेत, सलिना दवाडी र प्रोग्रेस प्रधानले आ आफनो कविता पठाएका थिए भने कविता पठाएका मध्ये धेरैले आफनो कविता आफैंले वाचन गरेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा भानुभक्तका बिभिन्न श्लोकहरु वाचन गरिएको थियो ।सर्वप्रथम ५ वर्षकी नानी बिभुषा गौतमले भानुभक्तको चर्चित कविता घांसी वाचन गरेकि थिइन । अन्य श्लोक वाचना गर्नेहरुमा शिशिर खनालले तारापति, सुनिल ढुंगेलले जेल, निर्मला राजभण्डारीले प्रश्नोतरमाला र इश्वर देवकोटा/कमला देवकोटाले कान्तिपुरी नगरी श्लोकहरु वाचन गर्नुभएको थियो । भानुभक्तको श्लोक वाचनपछि आजको नेपाली साहित्यले भानुभक्तलाइ कसरी संझने विषयमा डा. हरिहर भट्टराइले आफनो मन्तब्य राख्नुभएको थियो ।

वहांले आजको सरकारी कामकाजमा हुने ढिलासुस्ती र जनताले पाएको सकसलाइ आजभन्दा दुइसय वर्ष अगाडिनै भानुभक्तले आफनो कविताहरु मार्फत भनेका थिए तर समय र मान्छे फेरिंदापनि बानी फेरिन नसकेकोमा अलिकति चिन्ता ब्यक्त गर्नुका साथै समाजलाइ काम लाग्ने कुनैपनि नयां काम गर्न कहिल्यैपनि ढिलो नहुने कुरामा जोड दिएर नयां पुस्तालाइ आशाबादी भएर केही गर्न प्रोत्साहित गर्नुभएको थियो । उक्त कार्यक्रममा एन आर एनका अध्यक्ष केशब पौडेलले भानु सम्बन्धी आफनो छोटो मन्तब्य दिनुको साथै भानुको पहिरनमा प्रस्तुत भएका अतिथि कवि इश्वर देवकोटाले आदिकवि भानुभक्त आचार्यको छोटो चिनारी दिनुभएपछि वैयश्क कविता वाचन कार्यक्रम भएको थियो । कविहरु क्रमशः ऋषि बस्ताकोटी, सुजाता ढुंगेल, शिशिर खनाल, राधा पौडेल, राम सुबेदी र नम्रता गुरागाईंले आ आफनो कविता वाचन गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा प्रतियोगि बाल कविताहरुको निर्णय सुनाइयो। उक्त निर्णयमा एलिमेन्ट्र्रीको केजीदेखि दुइ कक्षाबाट शुभम ढुंगेल प्रथम र श्रेया ढकाल द्वितिय, तीनदेखि पांच कक्षाबाट प्रोग्रेस प्रधान प्रथम, संबृदि संग्रौला द्वितिय भएका थिएभने मिडिल स्कूलबाट अलवर्ट बस्ताकोटी प्रथम, सुहानी ढुंगेल द्वितिय र सगुन आचार्य त्रितिय हुनुका साथै हाइ स्कूलबाट सम्पदा आचार्य प्रथम र हिसी उलक द्वितिय भएका थिए ।

जांदाजांदै कार्यक्रमकिअतिथि तथा एनसी एनसीकि अध्यक्ष डा सुस्मा प्रधान र कार्यक्रमका अध्यक्ष मनोज प्रधानले सहभागी सबैलाइ धन्यबाद दिदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

 

प्रतिक्रिया