कालिका नगरपालिकाको बजेट ३८ करोड घुम्ती बैंक प्रणालीबाट वृद्ध भत्ता वितरण गरिने

इनेप्लिज २०७४ असार ३० गते १०:५४ मा प्रकाशित

खोलेसिमल, चितवन, ३० असार ।
चितवनको कालिका नगरपालिकाको प्रथम नगर सभाबाट ३७ करोड ५८ लाख ५० हजार रुपैयाको बजेट सार्वजनिक गरिएको छ । २० वर्ष पछि भएको स्थानीय निर्वाचन पश्चात पहिलो ऐतिहासिक सभाबाट आज आर्थिक वर्ष २०७४÷०७५ का लागि सो बजेट प्रस्तुत गरिएको थियो ।  कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले प्रस्तुत गरेको नीति, बजेट तथा कार्यक्रम सो प्रथम सभाले सर्वसम्मत रुपमा पारित गरेको थियो । हालै मात्र जुटपानी, शक्तिखोर, सिद्धि र पदमपुर मिलाई स्थापना भएको सो नगरपालिकाको आम्दानीतर्फ वित्तीय हस्तान्तरणबाट ३४ करोड ८८ लाख ५० हजार र आन्तरिकतर्फ एकिकृत सम्पत्ति कर र अन्य कर दस्तुरहरुबाट आम्दानी हुने रकम प्रस्तुत गरिएको थियो । सो नगर सभाले चालु खर्चतर्फ ३ करोड, सशर्त खर्च विषयगतको लागि ११ करोड २२ लाख ५७ हजार, पूँजीगत खर्च २३ करोड ३५ लाख ९३ हजार रुपैया विनियोजित गरेको छ । पूँजीगत खर्च अन्तर्गत कन्टिजेन्सी, मेसिनरी ग्रेडर रोलर खरीद, भैपरी र संघीय संरचना पूर्वाधार, विषय क्षेत्रगत खर्च, आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा वित्तीय व्यवस्थापन खर्चहरु रहेका छन् ।

सो बजेट वक्तव्य पश्चात् पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिँदै मेयर श्रेष्ठले ज्येष्ठ नागरिक, असहाय, वृद्धहरुलाई दिइने भत्ता वितरण जुटपानी र पदमपुर क्षेत्रमा बैंकको पहुँच भएकोले बैंकबाटै रकम उपलब्ध गराइने र शक्तिखोर तथा सिद्धिमा बैंकको पहँुच नभएकोले घुम्ती बैंक प्रणालीबाट सहज रुपमा सो रकम उपलब्ध गराइने बताए । यस नगरभित्र कृषि र पर्यटनलाई विशेष प्राथमिकता दिई कार्य थालनी गरिने बताउँदै मेयर श्रेष्ठले आधुनिक कृषि प्रणाली मार्फत् खेती गर्न किसानहरुलाई प्रेरित गरिने बताए ।

पर्यटकीय सम्भावना बोकेका चित्राम झरना, सिन्ती झरना, पोखरी, खोलाहरुलाई व्यवस्थित गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताए । शिक्षा, स्वास्थ्य, सडक, ढल निर्माणलाई विशेष प्राथमिकता दिई नगरभित्र क्रमशः रिङ्गरोडको रुपमा विकास गर्न आवश्यक बजेट विनियोजन गरिएको मेयर श्रेष्ठले बताए । युवा, वृद्ध, महिला, बालबालिका तथा सबै जातजातीहरुलाई समेट्दै बहुजातीय संग्रहालय बनाउन पनि बजेट लक्षित रहने बताए । बढ्दै गएको जग्गा प्लटिङ्गलाई तत्काल रोक लगाइएको र मापदण्ड तयार गरी लागु भएपछि मात्र जग्गा प्लटिङ्ग गर्न पाइने व्यवस्था गरिएको उनले बताए ।

यसै नगरपालिकाको शक्तिखोर क्षेत्रमा बन्न लागेको औद्योगिक क्षेत्रको व्यवस्थापन र निर्माणमा समन्वयको लागि नगरपालिका लागिपरेको बताए । त्यस्तै गैरीबारी बन्ने कृषि विश्वविद्यालयको स्थापनाको लागि पनि समन्वयकारी भूमिका खेल्न नगरपालिका लागिपरेको उनको भनाइ थियो । टाँडी – जुटपानी – शक्तिखोर – हुग्दी सडक निर्माणको लागि आफुले प्राथमिकताका साथ काम अगाडि बढाउन लागिपर्ने बताए । बहुवर्षीय योजना अन्तर्गत कार्य हुन थालेको यो योजना निर्माण भए पश्चात् नारायणगढ – मुग्लिङ्ग सडक खण्डको विकल्पको रुपमा यो सडकलाई प्रयोगमा ल्याउन सकिने मेयर श्रेष्ठले बताए । बकुलहर – जुटपानी – शक्तिखोर – सिद्धिको बहुवर्षीय योजना अन्तर्गतको सडक योजना समेत प्राथमिकताका साथ निर्माण गर्न पहल गर्ने उनले बताए ।
व्यवस्थापिका संसदको झल्को दिने नगर सभाको अध्यक्षता उपमेयर कमला भट्टराईले गरेकी थिइन् । नगर सभामा कार्य संचालन कार्यविधि नगर कार्यपालिका सदस्य बिनोद रेग्मीले प्रस्तुत गरेका थिए भने आर्थिक विधेयक कार्यपालिका सदस्य लिला बहादुर गुरुङ्गले प्रस्तुत गरेका थिए । सो दुवै विधेयक सभामा सर्वसम्मतीले पारित भएको थियो । नगर प्रमुख खुमनारायण श्रेष्ठले आज प्रस्तुत गरेको नीति, बजेट तथा कार्यक्रम आगामी श्रावण १ गतेदेखि दफावार रुपमा छलफल गरी पारित गरिने समेत बताइएको थियो ।

प्रतिक्रिया