टोपी ईभेन्टमा पहिलोपटक क्यानाडामा भयवाद चर्चा र पुस्तक विमोचन

इनेप्लिज २०७४ असार २६ गते ११:१३ मा प्रकाशित

नोभेम्बर २०१० टोरोन्टोमा पहिलोपटक नेपाली टोपी ईभेन्ट भनेर कार्यक्रमको आयोजना भएको थियो । त्यसपछि यसले निरन्तरता पाउदै गयो । नेपाली साहित्य समाज, क्यानाडाको पहलमा वर्षमा दुई तीनपटक टोपी ईभेन्टको नामबाट विभिन्न साहित्यिक कार्यक्रमहरु आयोजना हुँदै आएको छ । आज जुलाई ९ आईतबारका दिन गुरु पूर्णीमाको पावन अवसरमा नेपाली साहित्य समाज, क्यानाडाले पुस्तक विमोचन, भयवादका बारेमा चर्चा र काव्य गोष्ठीको आयोजना गरेको थियो । नेपालबाट आउनु भएका भाषा, व्याकरण र साहित्यका विद्वान प्रा. डा. टङ्कप्रसाद न्योपानेको प्रमुख अचातिथ्यमा आयोजित आजको कार्यक्रमलाई तीन चरणमा बाडिएको थियो । कार्यक्रमका बारेमा समाजका संस्थापक तथा वर्तमान सल्लाहकार डा. तुलसी धरेलले जानकारी गराएर कार्यक्रम संचालन गर्नु भएको थियो । समाजका महासचिव रबिन थपलियाको स्वागत मन्तव्य र सदस्य अनुप न्योपानेको समाज गतिविधिका बारेमा जानकारी गराएपछि शुरु भएको कार्यक्रमको पहिलो चरणमा समाजका पूर्व अध्यक्ष मुक्ती गौतमको नविनतम् काव्यकृति भेरी किनारमा एक क्षणको लोकार्पण नेपालबाट आउनु भएका विद्वान प्रा. डा. टङ्कप्रसाद न्योपानेसहित डा. राजन पोखरेल र डा. गोबिन्दसिंह रावतले संयुक्त रुपमा गर्नु भएको थियो । त्यसपछि आफ्नो पुस्तक र लेखनका बारेमा मुक्ती गौतमले प्रकाश पार्नु भएको थियो । वहाँले लेखेर आत्म सन्तुष्टी पाउने भएकोले लेखनलाई निरन्तरता दिदै गएको भन्नु भयो । मुक्ती गौतमले संग्रहभित्रको सामाजिक व्यग्य रहेको जुत्ता कविता वाचन गर्नु भएको थियो । लोकार्पण भएको काव्यकृति भेरी किनारमा एक क्षणको काव्य प्रवति र विशेषताका बारेमा डा. राजन पोखरेलले प्रकाश पार्दै कृतिलाई डायस्पोरिक लेखनलाई प्रतिनिधित्व गर्ने कृतिका रुपमा चर्चा गर्नु भएको थियो । डा. पोखरेलले यस कृतिको विशेषता भनेको आफ्नो मानवीय संवेदनालाई समातेर गाँउलाई शब्दका माध्यमबाट हुबहुँ चित्र उतारेको र नेपाल समाजको वास्तविकतासँगै द्वन्द्वको पीडाको पनि बयान गरेको बताउनु भयो ।

पुस्तक विमोचनपछि नेपालबाट आउनु भएका विद्वान प्रा. डा. टङ्कप्रसाद न्योपानेलाई नेपाली साहित्य समाज, क्यानाडाले सम्मान गर्दै सम्मान–पत्र प्रदान गरिएको थियो । समाजका अध्यक्ष डा. गोबिन्दसिंह रावत, महासचिव रबिन थपलिया र सल्लाहकार डा. तुलसी धरेलले संयुक्त रुपमा डा. न्योपानेलाई सम्मान–पत्र प्रदान गर्नु भएको थियो ।

दोस्रो चरणको कार्यक्रममा प्रमुख अतिथिका रुपमा आउनु भएका भाषा साहित्यका विद्वान प्रा. डा. टङ्कप्रसाद न्योपानेले प्रारम्भमा मानक नेपाली भाषाका लागि उनले गरेका प्रयासहरुका बारेमा जानकारी गराउँदै भाषा रहे हामी रहन्छौ र हामी जहाँ रहे पनि र जहा गए पनि हामी सँगसँगै भाषा पनि त्यहाँ पुग्ने भएकोले भाषा जोगाउने काम हामी सबैको हो भन्दै समाजको कार्यहरुको सराह्ना गर्नु भयो । दोस्रो चरणको भयवादबारे जानकारी गराउन अघि भयवादका आविस्कारक देश सुब्बाले हङकङबाट पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । देश सुब्बाले क्यानाडामा भयवादको चर्चा पहिलोपटक भएकोमा समाजप्रति कृतज्ञता अर्पण गरेका छन् ।

त्यसपछि भयवादका बारेमा यसको पृष्ठाभूमि र अवधारणका बारेमा प्रा. डा. टङ्कप्रसाद न्योपानेले आफ्नो कार्यपत्र पढेर सुनाउनु भएको थियो । उनले नेपालबाट चारवटा मौलिक दर्शनहरूको प्रतिपादन भएको बारे जानकारी गराउँदै कपिलको सांख्यदर्शन, सिद्धार्थ गौतमको बौद्ध दर्शन, बालकृष्ण समको नियमित आकस्मिकता पछि देश सुब्बाको भयवाद मौलिक दर्शनका रुपमा आएको बताउनु भयो । उनले पछिल्लो विचार वा चिन्तनका रूपमा भयवाद देखा परेको छ बताउदै भयवादीय अवधारणा निर्माणका प्रारम्भिक दिनहरूमा पहिले भय सम्बन्धी विचार आयो, त्यसपछि यसलाई साहित्यका माध्यमबाट प्रमाणित गर्न देश सुब्बाको आदिवासी उपन्यास प्रकाशित भयो र त्यसपछि २०५४ सालमा देश सुब्बाकै अप्रकाशित उजाड उपन्यासका पाण्डुलिपिमा परेका भयवाद शब्दलाई शरण सुब्बाले रातो मसीले अधोरेखाङ्कन गरेपछि त्यसैलाई देश सुब्बाले विकास गर्दै लगेका थिए । यसै क्रममा हङकङबाट प्रकाशित टापु पत्रिकामा देश सुब्बाकै भयविमर्श नामको एउटा छोटो लेख प्रकाशित भयो । यसै सन्दर्भमा २०६३ सालमा काठमान्डुमा भयवादको घोषणा भएको जानकारी गराउनु भयो । यसै सन्दर्भमा डा. न्यषेपानेले २०६६ मा एउटा टिप्पणी गरेको थिएँ ः भयवाद एउटा नेपालीले विश्वलाई दिएको नयाँ उपहार भनेर । आज उनले गरेको टिप्पणी सार्थक भएको छ । आज भयवाद साहित्यिक आन्दोलनमात्र रहेन, यसले दर्शनको स्थान लिंदै आएको भन्दै सन् २०१४मा नेपाली भाषामा भयवाद र अङ्ग्रेजीमा फिलोसोफी अफ फियरिज्म नामका पुस्तकहरू अमेरिकाको एक्लिबिरिस भन्ने प्रकाशनले प्रकाशित गरेको जानकारी दिनु भयो । देश सुब्बा र क्यानाडाका डा. फिसरका संयुक्त लेखनमा फिलोसोफी अफ फियरिज्म ः अ फस्र्ट इस्टवेस्ट डाइलग नामक अर्को पुस्तक पनि प्रकाशित भएको। त्यस्तै भेनेजुएलाका टोनीले स्पेनिसमा अनुवाद गरेर फेसबुकमा पोस्ट गरेको पनि जानकारी गराउनु भयो । भयवादले अहिलेसम्ममा युएसए फिलोसोफी क्याटेगोरीबाट नेसनल इन्डी इक्सेलेन्स अवार्ड २०१५, युएसएकै इन्टरनेसनल बुक अवार्ड २०१५ (फाइनलिस्ट), साउदर्न क्यालिफोर्निया बुक फेस्टिवल २०१५ स्पिरिच्युअल क्याटेगोरी (अनरेबल मेन्सन), युएसएकै डा. श्याम कार्की एन्ड इन्दिरा कार्की अवार्ड २०१५ फिलोसोफी क्याटेगोरी, न्यु योर्क फेस्टिबल अवार्ड २०१५ ननफिक्सन क्याटेगोरी अनरेवल मेन्सन, द २०१६ बुकभाना अवार्ड २०१६ फिलोसोफी क्याटेगोरी ( फाइनालिस्ट), सन् फ्रान्सिस्को बुक फेस्टिवल अवार्ड २०१६ स्पिरिच्युअल÷रिलिजियस क्याटेगोरी (अनरेबल मेन्सन), पेरिस बुक फेस्टिवल अवार्ड २०१६ स्पिरिच्युअल÷रिलिजियस क्याटेगोरी (अनरेबल मेन्सन), अम्स्टर्डम बुक फेस्टिवल अवार्ड २०१६ स्पिरिच्युअल क्याटेगोरी (अनरेबल मेन्सन), प्यासिफिक बुक अवार्ड २०१७ फिलोसोफी क्याटेगोरी ( फाइनलिस्ट), अस्वीकृत विचार साहित्य अवार्ड २०१६ नेपाल फिलोसोफी क्याटेगोरी अवार्डबाट विभुषित भइसकेको जानकारी गराउनु भयो । कार्यपत्रको अन्त्यमा रामहरी खड्का, लिला पाण्डे र डा. राजन पोखरेलले टिप्पणी गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा काव्य गोष्ठीमा अनुप न्योपाने, रबिन थपलिया, मुक्ती गौतम, लिला पाण्डे, राधिका अर्याल, डा. तुलसी धरेल र डा. गोबिन्द रावतले आआफ्नो काव्य अभिव्यक्ती सुनाउनु भएको थियो । समाजका सदस्य राधीका अर्यालको धन्यवाद ज्ञापनबाट सम्पन्न गरिएको थियो ।

 

प्रतिक्रिया