यो जिन्दगी

इनेप्लिज २०७४ जेठ २९ गते ३:०१ मा प्रकाशित

 

हरिभक्त कटुवालले भनेजस्तै

बाटोमा हिँड्दा हिँड्दै सस्ता रबरका  चप्पलजस्तो

च्याट्ट चुट्न सक्छ यो जिन्दगी

अनेकौ सुरक्षा राखेर हिंड्दा पनि जिन्दगीमा

आगो लागिरहेछ मनभरी दनदनी

हिउँको ठिहिले पोलिरहेछ भतभति

चुरोटको धुँवाजस्तो जिन्दगी

गन्तव्यहिन दिशातिर कुदिरहेछ

खै यो जिन्दगी खुकुरीको धारमा छ वा

मखमली फुलको बगैंचामा शितल तापिरहेछ

जँहा छ, जे छ वेफिक्रि बाँचिरहेछ

मिलाउन नसकेको जिन्दगी

भन्छन पिउनुमा मज्जा छ ,तान्नुमा मज्जा छ

तर धुवा र रक्सीले धुरन्धर खाईरहेछ भित्र भित्र

जसरी एक जंड्याहा

बादशाह सम्झन्छ नसाले नछोडुन्जेल

लाग्छ यो जिन्दगीका ब्रान्डेड पहिरनहरु

भित्र भित्र खोक्रिएका पीडाहरुको

लाज लुकाउने साधारण वस्त्र मात्र हुन्

खै यो जिन्दगी युद्ध मैदानमा छ वा

कुनै प्रेमालयमा मस्त प्रेम साटीरहेछ

तर ,सुन्दर सहरको फुटपाथमा वेफिक्री बाचिंरहेछ

मिलाउन नसकेको जिन्दगी

सुनिन्छ घामको न्यानो प्यारो हुन्छ

तर भित्र भित्र दिनदिनै चिसो भैरहेछ जिन्दगी

न कुनै मुस्कान र चुम्बनले खुल्न सक्छ

न त बिहानको रापिलो घामले पोल्न सक्छ

न त आनन्दले निदाउनुमा मजा छ

एक मगन्तेको गन्तव्यहिन यात्राजस्तै जिन्दगी

दिनहु खुसी मागिरहेछ आफ्नै आत्मासंग

खै यो जिन्दगी बुद्धको बधशालामा छ वा

लैला-मजनुको प्यारको कथामा लठ्ठीरहेछ

जबकि सुन्दर अनुहार बोकेर खोक्रो बाँचिरहेछ

मिलाउन नसकेको जिन्दगी

भन्छन प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ

प्रेम मक्किएको छ ,युद्ध बिथोलिएको छ यहाँ

न भावनाले काम गर्छन प्रेममा

न त नियमले नै काम गर्छन युद्धमा

बुद्दिको तछाड मछाडमा धमिरो लागिरहेछ हरक्षण

न त सुन्दर गुलाबले मुस्कान भर्न सक्छ

न त धारिलो हतियारले साहस भर्न सक्छ

हेरौं त यो जिन्दगी नर्कलोकमा छ वा

स्वर्गमा अप्सराहरुसंग प्रेम बार्ता साटीरहेछ

तर हजारौको भिडमा एक्लो बाँचिरहेछ

मिलाउन नसकेको जिन्दगी

भन्छन जुनको सितलता प्यारो हुन्छ पूर्णिमामा

तर हनिमुनहरु रसहिन छन् यहाँ

न कुनै उत्तेजना र समर्पण छ

न त संवेदना र सहानुभूति छ

न त भोग्नुमा मजा छ जिन्दगीको

न त छोड्नुमा मजा छ जिन्दगीको

खै यो जिन्दगी खुकुरीको मझधारमा छ वा

नयाँ प्रस्फुटनको  प्रसवपिडामा छ

जबकि अनेकौ अव्यवस्था बोकेर बाँचिरहेछ

मिलाउन नसकेको जिन्दगी

मालीले जस्तै फुलबारी सजाउन नसकेको जिन्दगी

२९ मे २०२७

प्रतिक्रिया