साहित्यकार गोविन्द गिरी प्रेरणा ३० घण्टापछि अस्पतालवाट घर फिर्ता

इनेप्लिज २०७४ जेठ २४ गते २३:०९ मा प्रकाशित

विगत ४० वर्षदेखि नेपाली साहित्यमा नेपालदेखि अमेरिकासम्म निरन्तर साहित्य रचनामा लागेका साहित्यकार गोविन्द गिरी प्रेरणा अचानक अस्वस्थ भै हिजो जुन ६ का दिन विहान ९वजे मनासस भर्जिनियास्थित प्रिन्स विलियम मेडिकल सेण्टरको आकस्मिक कक्षमा पुर्याइएको थियो ।

त्यसपछि निरन्तर ३० घण्टा मष्तिष्क, मुटु, रगत र विविध परिक्षण र उपचार पश्चात् खतरामुक्त भएपछि आज साँझ घर फिर्ता भएका छन् । पारिवारिक सूत्रका अनुसार थप परिक्षण र उपचार जारी रहनेछ ।

साहित्याकार प्रेरणाको पहिलो रचना ४० वर्षअघि २०३४ साल फागुनमा प्रकाशित भएको थियो र हालसम्म उनी निरन्तर विभिन्न विधामा लेखिरहेका छन् । उनका मौलिक २२ तथा सम्पादन अनुवाद १० गरी ३२ पुस्तक प्रकाशित छन् । उनी अनेसास डिसी मेट्रो च्याप्टरको संस्थापक महासचिव तथा पछि अध्यक्ष रहेका थिए ।

हाल उनले अमेरिका नेपाल साहित्य प्रतिष्ठानको स्थापना गरेर साहित्यिक गतिविधि गरिरहेका छन् । उनी गत वर्ष डिसी मेट्रो क्षेत्रमा स्थापित पहिलो नेपाली मनासस एभरेष्ट लायन्स क्लवका चार्टर प्रेसिडेण्ट पनि हुन् ।

उनले सन् २००७ देखि १० वर्षसम्म विश्वपरिक्रमा छापा पत्रिका प्रकाशन गरेपछि हाल भिपिकेअनलाइन न्यूज डटकम अनलाइन समाचार पोर्टलका माध्यमले मिडियामा समेत निरन्तर संलग्न छन् ।

प्रतिक्रिया