गोहीले हात चुँडेर लगे पनि खुशी छन् महतो

इनेप्लिज २०७४ जेठ १९ गते ५:४४ मा प्रकाशित

रत्ननगर (चितवन), १९ जेठ । “गोहीले हात लगेर के भो, ज्यान बाँच्यो, त्यसैमा खुसी छु”, हर्षित मुद्रामा प्रसाद महतोले भने ।

पूर्वी चितवनको कुमरोज नजिकै रहेको इचर्नी खोलामा माछा मार्न जाँदा बुधबार अपराह्न गोहीको आक्रमणमा परेका ४६ वर्षीय प्रसाद महतो अहिले चितवनको भरतपुरस्थित एलाइभ अस्पतालमा उपचाररत छन् ।

दाँहिने हात सोही दिन गोहीले चुँडेर लगेपनि ज्यान बचेकोमा खुसी भएको उनले बताए । आज बिहान अस्पतालमा भेट्दा उनलाई हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा प्रमोद लामिछानेले हेर्दै हुनुहुन्थ्यो । उनका भतिज विफल महतो भन्छन्, “हात गएर केही भा छैन, हाम्रो मान्छे बाँच्नुभो, त्यही ठूलो हो ।”

खैैरहनी वडा नं १३ धर्मपुर घर भएका उनी बुधबार दिउँसो ३ बजे माछा मार्न गएका थिए । अपरान्ह् ३ः३० बजे इचर्नी खोलामा तियारी जाल बिछ्याउँदै माछा मार्न थालेका थिए । उनका साथीहरु माइला र पलार सँगै थिए । दुई छेउबाट जाल बिच्छ्याउँदै जाँदा खोला छेउमै कहाँबाट मगरगोही आयो पत्तै भएन । “च्याप्प हात समात्यो, तान्न थालिहाल्यो, अनि पाँच फन्का घुमायो, पछा¥यो”, प्रसाद महतोले घटना विवरण सुनाउँदै भने, “लान खोजेकोथ्यो, म डगमगाइन र हात चुँडेर लग्यो ।”

उनको भनाइअनुसार त्यो समयमा आफूले मुड्कीले हानेपनि लट्ठी नभएकाले हात लगेको हो । सँगै रहेका माइलाले पनि लात्ता र मुड्कीले हानेका थिए । तर केही सीप नलागेको प्रसाद बताउँछन् । अहिले एलाइभ अस्पतालमा मुख्य शल्यक्रिया सफल भएको छ ।

“हड्डी लामो थियो । तीन सेन्टीमिटर हड्डी काटिएको छ”, डा प्रमोद लामिछानेले भन्नुभयो । उहाँका अनुसार अस्पताल आउँदा रगत बग्ने नसा बन्द भएकोले उनी बाँच्न सफल हुनु ठूलो भाग्य हो ।

सिधा जोडिएको नसा खुलेको भए रगत बगेर ज्यानै जाने डा लामिछाने बताउनुहुन्छ । अब करिब एक महिना अस्पताल बस्नुपर्ने उहाँको भनाइ छ । अहिले आराम गरिरहेका प्रसाद महतो आफू घरमा खानका लागि माछा मार्न गएको बताउँछन् ।

विदेशमा काम गरेर ९ महिनाअघि उनी घर फर्केका थिए । त्यही कमाएको पैसा अहिले उपचारमा प्रयोग गर्न पाएको उनले बताए ।

प्रतिक्रिया