महानगरमा सुशासनको अनुभूति हुने गरी काम गर्छु – प्रमुख जिसी

इनेप्लिज २०७४ जेठ १५ गते ८:४३ मा प्रकाशित

पोखरा, १५ जेठ । पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरमा सुशासनको अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ ।

दशौँ गणतन्त्र दिवसका अवसरमा गणतन्त्र मूल समारोह समिति पोखराले आज यहाँ आयोजना गरेको समारोहमा पद बहाली गरेपछिको पहिलो सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख जिसीले १० दिनभित्र सुखी र समृद्धि महानगर बनाउन परिणाम निस्कने गरी कामको सुरुवात गर्ने दृढता व्यक्त गर्नुभयो ।

पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको दिशातर्पm उन्मुख भएको उल्लेख गर्दै उहाँले बेथितिको अन्त्य र बदमासी गर्नेलाई कारबाही गरेर महानगरलाई अधिराज्यकै एक सुरक्षित सहर बनाउनेतिर अघि बढिने धारणा राख्नुभयो ।

क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याउन अमूल्य योगदान पु¥याउने वीर सहिदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै गणतन्त्रलाई संस्थागत गर्ने पहिलो खुट्किलोका रुपमा रहेका स्थानीय तहको निर्वाचनका कार्यक्रम अघि बढेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले महानगरवासीलाई शान्ति सुव्यवस्था र सेवा प्रवाहमा परिवर्तनको प्रत्याभूति हुने गरी काम हुनुपर्नेमा जोड दिनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जनप्रतिनिधिहरुले जनभावनाअनुसार काम नगरेपछि आउने आवधिक निर्वाचनमा पराजित गराउने जनताको मताधिकार भएकाले सबै जनप्रतिनिधिले इमान्दारिताका साथ काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कार्यालयमा आउने सेवाग्राहीले छिटोछरितो सेवा पाउन सकेमा मात्रै जनतामा परिवर्तनको अनुभूति भई गणतन्त्रको संस्थागत हुँदै जाने धारणा राख्नुभयो ।

गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक बलराम ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष वामदेव ढुङ्गाना र आदर्श समाज संस्थाकी अध्यक्ष विजयलक्ष्मी कोइरालाले गणतन्त्र दिवसको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

सो उपलक्ष्यमा विभिन्न महानुभावले रक्तदानसमेत गर्नुभएको थियो । रासस

प्रतिक्रिया