मेरो मधुशाला’ उपन्यास समाजको सजीव चित्रण

इनेप्लिज २०७४ जेठ १४ गते १३:०६ मा प्रकाशित

साहित्यकार गगनसिंह थापाको चौंथो कृति ‘मेरो ‘मधुशाला’ उपन्यासले समाजमा मद्यपानले पारेको प्रभावको सजीव चित्रण रहेको टिप्पणी साहित्यकारले गरेका छन् । गत शनिबार आयोजित ‘मेरो ‘मधुशाला’ उपन्यास सार्वजनिकिकरण एवम् अन्तरसंवाद कार्यक्रममा समीक्षकहरुले मध्य र सुदूरपश्चिमको समाज, भाषा, संस्कृति र सभ्याताको चित्र उपन्यासमा भेटिने बताए ।

उनीहरुले उपन्यास भाषा र साहित्यका दृष्टिले उत्कृष्ट रहेको बताए । साहित्यकार नयनराज पाण्डेले नेपाली समाज सर्जकहरुका लागि स्वर्ग रहेको भन्दै यसको सदुपयोग हुनुपर्ने बताए ।

उनले भने–‘युरोप, अमेरिकामा नयाँ कथा र परिवेश पाउन सकिँदैन सबै कृतिमता छ, नेपालमा प्रत्येक पाइलामा नयाँ कथा र पात्र भेटाउन सकिन्छ ।’साहित्यकार तथा रंगकर्मी अशेष मल्लले बढ्दो उमेरकाबीच साहित्यकार थापाको निरन्तर कृति प्रकाशनप्रति बधाई दिँदै त्यसलाई निरन्तरता दिन आग्रह गरे ।

लेखक थापाले उपन्यासका प्राय कथा आफ्नै जीवन भोगाइ र दृश्य देखाइका घटना भएको बताए ।आफूले मद्यपान नगरेपनि समाजको त्यो अध्यारोपाटोलाई आफूले नजिकबाट नियालेका आधारमा यो कृति तयार भएको उनको भनाइ छ ।

सांग्रिला बुक्सले प्रकाशन गरेको पुस्तक ३२० पृष्ठ र मूल्य रु ४५४ रहेको छ । साहित्यकार थापाको यसअघि ‘सोह्र सौगात’ कथा संग्रह, ‘कर्णालीको छेउछाउ’ उपन्यास, ‘पूर्खाको चिठी’ उपन्यास प्रकाशित भइसकेको छ ।

रासस

प्रतिक्रिया