जर्जियाको ६औं क्षेत्रको निर्वाचन सम्बन्धि “आपी” र “जन असफ” सँग जर्जियाको नेपाली समाजको भेला सम्पन्न

इनेप्लिज २०७४ जेठ ८ गते ३:०१ मा प्रकाशित

 

विश्वमान आङ्गदेम्बे,
अटलानटा, जर्जिया

अमेरिकाको “कंग्रेसको” तल्लो सदन “प्रतिनिधि सभा” को ४३५ सदस्यमध्ये जर्जियाबाट १३ जना छन्। नेपाल जतिकै क्षेत्रफल भएको, ५७९०६ वर्ग माइल, जर्जिया राज्य क्षेत्रफलको हिसाबले अमेरिअकाको २१औं र १ करोड ४ लाख जति जनसंख्या भएको जर्जिया जनसंख्याको हिसाबले ८औं राज्य पर्दछ। जर्जियाको करिब ६-८% जनसंख्या भएको एसियन अमेरिकन समुदाय जर्जियाको ६औं क्षेत्रको जनसंख्याको करिब १०% पर्दछ। यो छेत्रबाट धेरैचोटी काँग्रेस जितेका “रिपब्लिकन” पार्टीबाट “टम प्राइस” अहिलेको “ट्रंप क्याबिनेट” मा “सेक्रेटरी अफ हेल्थ एंड हुमन सर्विसेज” भएपछि यो पद खालि छ। “रिपब्लिकन”को गढ मानिएको यो छेत्रबाट यसपाली ३० बर्षीय एक जवान “डेमोक्रेटिक” उम्मेदवार “जन असफ” ले ठूलो टक्कर दिएका मात्र छैनन्, जित्ने प्रबल सम्भावना देखाएका छन्। अर्पिल १८ को निर्वाचनमा “डेमोक्रेटिक” पार्टीको एक्लो उम्मेदवार “जन असफ” ले करिब ४८% मत ल्याएका थिए भने “रिपब्लिकन” पार्टीका १४ भन्दा बढी उम्मेदवार मध्ये “कारेन हान्देल” ले सबभन्दा बढी १८% मत ल्याएका थिए। “रिपब्लिकन” पार्टीको गढ कब्जा गर्न र “डोनाल्ड ट्रंप” लाई धक्का दिन “जन असफ” मात्र २.१% (जम्मा ३,३००) जति मतले असफल भएका थिए। त्यतिबेला १८,००० जति रजिस्टर्ड जन असफ समर्थक मतदाताहरुले (जसमा एसियन अमेरिकनहरू पनि धेरै थिए) मत हालेका थिएनन्, अधिकांशले “जन असफ” लाई मत हाल्ने थिए र उनले जित्ने थिए।

टप २ उम्मेदवार, “डेमोक्रेटिक जन असफ” र “रिपब्लिकन कारेन हन्देल” बीच हुने जुन २० को “रन-अफ” निर्वाचनमा ती १८,००० जना असफ समर्थक मतदाताहरुलाई मतदानकेन्द्रमा ल्याई “जन असफ” लाई जिताउनलाई “एसियन अमेरिकन प्यासिफिक आइलांदर (आपी) – भिक्ट्री फण्ड (भी. एफ.) सँग मिलेर जर्जियाको नेपाली अमेरिकन समाजले ०५/२०/२०१७ (शनिवार) गते ३:३० देखि ५:३० सम्म स्थानिय समयमा एउटा बृहत कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा चिनिया, भारतीय, फिलिपिनो, बंगलादेशी, अफ्रिकी-अमेरिकन, कोरियन, तथा स्वेत-अमेरिकी समुदायको प्रतिनिधित्व भएको थियो। संस्थाहरुमा आपी-भी.एफ., जन असफ क्याम्पेन, र योङ्ग डेमोक्रेट्स अफ देकाल्ब काउन्टीको प्रतिनिधित्व भएको थियो।

कार्यक्रममा जन असफ बाहेक निम्न अथितिहरुको उपस्थिति थियो – बेल लियोंग-हंग (आपी को-चेयर तथा फ़ाउन्दर), शेखर नरसिम्हन (आपी – चेयर तथा फ़ाउन्दर), मंप्रीत सिंह (असिस्टेन्ट डेपुटी सेक्रेटरी-अफ-स्टेट फर साउथ एसिया, स्टेट डिपार्टमेन्ट), चंताले वोंग (आपी कोअर्डिनेतर), जोन ज्याक्सन (अध्यक्ष, योङ्ग देमोक्रट्स अफ देकाल्ब काउन्टी), साम पार्क (स्टेट हाउस-अफ-रिप्रिजेन्तेतिव, दिस्त्रिक्त १०१, जर्जिया तथा एसियन अमेरिकन संयोजक, जोन असफ केम्पेन), माइकल आरोन्सन, फिल्ड अर्गनाइजर, जन असफ कम्पेन अफिस, स्याण्डी स्प्रिन्ग्स, लोईदा निकोलास लेविस (चेयर, द रेजिनाल्ड एफ. लेविस फाउन्डेसन), मोहम्मद ममुन शरिफ (महासचिब, देशी देमोक्राट्स), तथा अहमादुर रहमान (सेक्रेटरी, देशी देमोक्राट्स)। कार्यक्रमको संचालन लामो समयसम्म स्थानीय जर्जियावासी तथा एन.आर.एन. अमेरिकाको “स्वास्थ्य तथा सेवा” समितिका सभापति डा. सन्जीब सापकोटाले गर्नु भएको थियो। कार्यक्रममा डा. प्रकाश मल्ल र शौभाग्यलाल श्रेष्ठ सहित विभिन्न स्थानीय अगुवा तथा प्रतिनिधिहरुको उपस्थिति थियो। कार्यक्रम अटलान्टाको दिकेटरमा रहेको चर्चित नेपाली रेस्टुराँ “हिमालयन स्पाइस” मा भएको थियो। कार्यक्रमको सुरुवात नेपालको राष्ट्रिय गान तथा अमेरिकाको राष्ट्रिय गान बाट भएको थियो।

कार्यक्रममा अतिथि तथा सहभागीहरुको स्वागत गर्दै जर्जियाको नेपाली समाजका अगुवा डा. प्रकाश मल्लले आफ्नो ३५ बर्षे अमेरिकी बसाईमा एउटा “कांग्रेसमेन” को चुनावको यस्तो रोचक र उत्साहजनक माहौल कहिले नदेखेको कुरा राख्नुभयो। र, मतले, आर्थिक सहयोगले, तथा स्वयम्-सेवाले जन असफलाई जिताउन सबै एसियन अमेरिकनहरु लाग्नु पर्ने कुरा राख्नुभयो।

कार्यक्रममा बोल्दै शेखर नरसिम्हनले अमेरिकाको ६% जनसंख्या (करिब २.१ करोड) भएर पनि एसियन अमेरिकनहरू राजनीतिक प्रतिनिधित्वमा पछि परेको कुरा राख्नुभयो। अमेरिकाको औसत रजिस्टर्ड मतदाताहरु मध्ये ६०% ले मत खसाल्नेमा एसियन अमेरिकनहरूको चाहिँ ४९% भन्दा पनि कम मत खस्ने कुरा राख्नुभयो। तेस्तै २०१६को निर्वाचनमा पनि एसियन अमेरिकनहरूमा मात्र ५३%ले मात्र मत खसालेको, जबकि अमेरिकाको औसत ७१% मत खसेको कुरा राख्नुभयो। हामीले राजनीतिको बिकृतिको कुरा गर्ने तर तेस्लाई परिवर्तन गर्न आफ्नो दायित्व निर्भाह नगर्ने बानीले यो समस्या आएको कुरा राख्नुभयो। तसर्थ, यसपाली बढीभन्दा बढी एसियन अमेरिकनहरूलाई मत खसाल्न लगाई जन असफलाई जिताएर वाशिंगटन र व्हाइट हाउसलाई खबरदारीको संदेश पथाउन लाग्नु पर्ने कुरा राख्नुभयो। तेस्को लागि फोन गर्ने, घर-दैलो ढक-ढक्याउने, तथा निरन्तर “फलो-अप” गर्नु पर्ने कुरा राख्नुभयो।
अर्का वक्ता आपी को-चेयर बेल हंगले आफ्नो काम भनेकै एसियन अमेरिकनहरुलाई राजनीतिक नेतृत्वदायी तहमा लैजाने र तेस्को लागी बढी-बढी भन्दा एसियन अमेरिकनहरुलाई राजनीतिमा ल्याउने भएको कुरा राख्नु भयो। सन् १९९० मा जम्मा ६ जना एसियन अमेरिकनहरु कांग्रेसमेन थिए भने आज १९ जना जति कांग्रेसमेन छन् जसमा ३ जना महिला र ६ जना नव-निर्वाचित साउथ एसियनहरु छन्। यसलाई अझ बढाउना एसियन अमेरिकनहरु बढी-बढी मतदाता रजिस्टर्ड भई मत खसाल्नु पर्ने कुरा राख्नुभयो। जोन असफले एसियन अमेरिकनहरु प्रति सद्भाव र सहयोग गर्ने भएको तथा डोनाल्ड ट्रंपका बिनाशक कार्यहरु रोक्न यो निर्वाचन सुरुवात भएको कुरा राख्नुभयो।

अर्का वक्ता मंप्रीत सिघले पूरा अमेरिकाकै नजर जर्जियाको ६औं जिल्लामा भएको र यो निर्वाचनको निर्णायक मत एसियन अमेरिकन मतदाताहरु हुनसक्ने कुरा राख्नुभयो। जर्जियामै पहिलो एसियन अमेरिकन “स्टेट कांग्रेसमेन”, युवा नेता साम पार्कले अहिलेसम्म कुनै राष्ट्रिय काँग्रेसमेन उम्मेदवारले एसियन अमेरिकन समुदायसँग “रिच-आउट” नगरेकोमा “जस असफ” नै पहिलो भएको तथा उनको विचार र मुद्दाहरु सबै समुदायको हीतको लागि भएको कुरा राख्नुभयो। भविष्यको राष्ट्रपति समेत हुनसक्ने क्षमता भएको युवा नेता “जन असफ” लाई जिताउन मत, आर्थिक सहयोग, तथा स्वयम्-सेवाले गर्नुपर्ने कुरा राख्नुभयो। र, सबै भन्दा बढी एसियन अमेरिकनहरुलाई मतदाता रजिस्टर्ड गराई मत खसाल्न लगाउन निरन्तर जोड गर्नुपर्ने कुरामा बिशेष जोड दिनुभयो।

प्रमुख वक्ता जन असफ आफु पनि आप्रवासिकै सन्तान भएको र आफूले “देमोक्राट्स”, “रिपब्लिकन” तथा बिचका सबैखाले मतदाता जो अहिलेको अमेरिकाको गलत बाटोलाई सहि दिशामा लान चाहन्छन, तिनीहरुलाई समेटी आफु अघि बढ्ने कुरा राख्नुभयो। आफ्नो “भिजन” र “अजेण्डा” ले सबै खाले “अल्प-संख्याक”, एसियन अमेरिकनलगायतलाई, समेट्ने कुरा राख्नु भयो। आफू “ग्रास-रुट” जनताको पक्षमा रहेको कुरामा जोड दिनुभयो।

अन्तमा बोल्दै नेपाली समाजका अगुवा शौभाग्यलाल श्रेष्ठले आफ्नो नेपाली समाजले एक ढिक्का भएर जन असफलाई समर्थन गर्ने कुरा राख्नुभयो। साथै, तेस्को लागि अरु एसियन अमेरिकन समुदायहरुसंग समन्वय गर्ने कुरा राख्नुभयो।

कार्यक्रम शैलेन्द्र बज्राचार्य तथा विश्व सुब्बाको अकाउन्टबाट “फेसबुक लाइभ” प्रसारण गरिएको थियो। यदि तपाई “जोन असफ” लाई जिताउन “स्वयम् सेवा” गर्न चाहनुहुन्छ भने निजहरुलाई सम्पर्क गर्नु होला।

विश्वमान आङ्गदेम्बे (६७८-२५०-५२६४)
हरि शर्मा (७०३-३०७-७१५१)

 

 

प्रतिक्रिया