युएनए मा हुने फेसन शो अमेरिका बसेर नेपाल हेर्ने अवसर हो: डिजाइनर सुबेच्छा भडेल

इनेप्लिज २०७४ जेठ ६ गते १९:०८ मा प्रकाशित

 

हामीलाई लाग्छ, सामान्य मान्छेहरु फेसन गर्दैनन् । फेसन गर्ने काम मोडेलहरुको हो । फिल्मका कलाकारहरु पनि फेसन गर्छन । उनीहरु फरक ठाउँमा फरक लुगामा प्रस्तुत हुन्छन । उनीहरु मौसम अनुसार, परिवेश अनुसार, जिउ अनुसार, हैसियत अनुसार पोशाक परिवर्तन गर्छन । अहिले संसारभर फेसनको ठुलो बजार छ । कलेजमा फेसनको पढाई हुन्छ । पहिले पहिले एउटै लुगाले आधा जिन्दगी जान्थ्यो । घरमा र बाहिर हिंडडुल गर्दा अलग्गै लुगा लगाउने चलन थिएन । आधुनिक जमानाको प्रभाव सबैले नयाँ लुगा लगाएर चिटिक्क परेर हिड्न मन पराउँछन् । अहिले फेसनको बजार संसारभर छ । हरेक सार्बजनिक कार्यक्रममा मान्छेले लगाएका कुराको तारिफ र आलोचना गरिन्छ । मानिसहरु कसले के लगाएको छ भनेर हेरिरहेका हुन्छन ।

केहि समय पहिले सम्म पनि नेपालमा फेसन भनेको आम मान्छेले गर्ने कुरा होइन भन्ने धारणा थियो । यो त ठुलाबडा, फिल्म काम गर्ने मान्छे वा टिभीमा देखिने मान्छेको काम हो जस्तो ठानिन्थ्यो । समयको परिवर्तन संगै त्यो अबधारणामा केहि परिवर्तन आएको छ । फेसन गर्न सार्बजनिक व्यक्तित्व हुनु पर्दैन भन्ने सोंच बिकसित हुँदै गएको पाइन्छ । फेसन भनेको आफुलाई कस्तो लुगा लगाउँदा सजिलो हुन्छ, त्यहि नै हो । हाम्रो घरमा रहेका लुगाबाट पनि फेसन गर्न सकिन्छ । फेसन गर्न महंगा र ब्रान्डेड लुगाको जरुरत छैन । हामी संगै भएका लुगालाई मिलाएर लगाउन जान्नु पर्छ । खालि हामीले समय, परिस्थिति, अवसर, मौसम, आफ्नो शरीरको बनावट आदिमा ध्यान दिनु पर्छ । अलिकति ध्यान दियो भने हामीले गर्ने पोशाकको नियमित खर्चमै फेसन गर्न सकिन्छ । चिटिक्क परेर हिंड्न सकिन्छ ।

म सल्यानमा जन्मेको मान्छे । सल्यान हुँदै दाङ्ग, दाङ्ग हुँदै काठमान्डू र अहिले अमेरिकामा छु । काठमाडौँमा हुँदा लर्ड बुद्ध फाउन्डेसन बाट फेसन डिजाइनमा स्नातक पास गरें । पछि सोहि कलेजबाट ब्यबसाय प्रशासनमा स्नातकोत्तर पास गरें । मलाई फेसन बाटै भबिस्य बनाउन सकिन्छ भन्ने लागेर नै फेसन डिजाइनिङ्ग पढेको हुँ । फेसनबाट पनि धेरै मान्छेको जिन्दगी जिउने तरिका परिबर्तन गर्न सकिन्छ भन्ने मलाई लाग्छ । हामी नेपाली पनि चिटिक्क पर्न जानेका छौं, झुत्रे झाम्रे हाम्रो परिचय होइन भन्ने मानसिकता विकास गर्नु पर्छ । अहिले अमेरिका आए पनि मैले मेरो काठमाडौँमा रहेको बुटिककै काम गर्छु । अमेरिकामा रहेका नेपाली संघ संस्थाहरुले गर्ने कार्यक्रमहरुमा हुने फेसन शोहरुमा डिजाइनरको काम पनि गर्छु । जिन्दगी राम्रै चलेको छ ।

यहि क्रममा टेक्सासको डालसमा हुने युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलनमा मैले आफ्नो कला र क्षमता प्रस्तुत गर्ने अवसर प्राप्त गरेकी छु । त्यहाँको शो फेसन शो मात्र होइन, सांस्कृतिक फेसन शो हो । फेसनलाइ हाम्रो संस्कृतिसंग जोड्ने आयोजकको चाहना भएकोले मैले त्यसमा धेरै मिहिनेत गरेकी छु । हामी नेपाली संस्कृतिका धेरै धनि छौं । हामीले गर्ब गर्नु पर्छ कि हामी यति धेरै जात जाती, भाषा भाषी बिलेरा बसेका छौं । यस्तो अद्वितीय सामाजिक सद्भाव संसारमा छैन । हाम्रा हरेक जात जातिका अलग भेष भुषा छन् । युएनए को यो कार्यक्रममा मैले नेपालका १२/१३ भिन्न जातिका परम्परागत पोशाकहरुको डिजाइन गरेकी छु । नेवारी, गुरुङ, तामांग, मगर, शेर्पा, थकाली, थारु, किरांत, लिम्बु, जीवित देवी कुमारीका बस्त्रहरुको डिजाइन गरेकी छु । फरक जातजातिका भेषमा फरक मोडेल प्रस्तुत हुनेछन । मेरो मिहिनेत अनुसार त्यो अवसर हेर्न लायक हुनेछ । अमेरिकाको एउटा होटेलको कोठामा बसेर पनि सम्पूर्ण नेपाल हेर्ने त्यो अवसर तपाईं हामीले प्राप्त गर्दैछौं ।

अमेरिकामा पनि अहिले धेरै नेपालीहरु बस्नु हुन्छ । धेरै युबाहरु कलेजमा आफ्नो करियर बनाउने क्रममा हुनुहुन्छ । फेसनमा स्वभावैले युबाहरुलाई चासो हुन्छ । अमेरिकामा फेसनको ठुलो बजार रहेकोले यस क्षेत्रमा लाग्न चाहनेहरुको लागि राम्रा अवसरहरु छन् । ठुलो देश भएकोले प्रतिष्पर्धा त पक्कै छ तर आफु संग शिप छ भने अवसरहरु धेरै छन् । एक चोटी यो क्षेत्रमा पाइलो टेके पछि पछि हट्न पर्दैन । भबिस्य उज्ज्वल छ । यसबारेमा तपाईंका जिज्ञाशा छन् भने डालसको यो सम्मेलनको अवसर पारेर हामी छलफल गर्न सक्छौं । यो क्षेत्रमा कस्ता कस्ता चुनौतिहरु छन् र कस्ता अवसरहरु छन् भनेर जानकारी लिनको लागि यो अवसर प्रयोग गर्न सक्छौं । नेपालमा पढाइ सके पनि अहिले म अमेरिकामा फेसन समबन्धि कक्षा पनि लिइरहेकी छु । मेरो नेपाल देखि अमेरिका सम्मको अनुभव तपाईं सामु बाँड्न चाहन्छु । त्यसैले आउनुहोस युएनए दोश्रो सम्मेलनको यो अबसरमा केहि नयाँ सिकौं, केहि नयाँ सिकाओं । बाँकी कुरा सम्मेलनको बेला गरौंला।

(फेसन डिजाइनरको रुपमा नेपाल देखि अमेरिका सम्म चर्चित सुबेच्छा भडेलसंग गरिएको कुराकानीमा आधारित) प्रस्तुति: लेखनाथ गौतम

प्रतिक्रिया