बुधबार, असोज ६ २०७८
काठमाडौं ०७:२५
वासिङटन डिसी 21:40

नियात्रा ‘ग्याड्सन शहरको रमझमसँगै छोराको दीक्षान्त समारोह’

इनेप्लिज २०७४ जेठ ५ गते २१:५८ मा प्रकाशित

हाम्रो बसोबास काठ्माण्डौ भएतापनि छोराछोरी अस्ट्रेलियाको दक्षिणी राज्य न्यु साउथवेल्सको सिड्नीमा बसेर पढ्ने गर्छन् । छोराको पढाइ सकेर दीक्षान्त समारोह ( Graduation Ceremony ) हुने भएकोले उसैको आग्रह र युनिभर्सिटीको को निमन्त्रणामा हामी सिड्नी पुग्यौ । न्यु साउथवेल्स् राज्य अन्तर्गतको सिड्नीमा बस्ने हामी, छोराले पढेको ( CQUniversity ) सि क्यु युनिभर्सिटीको शाखा क्विन्सल्याण्ड राज्यको ग्याड्सन (Gladstone) शहरमा पनि रहेछ । निर्धारित् कार्यक्रम अनुसार दीक्षान्त समारोह पनि क्विन्स्ल्याण्डको ग्याड्सनमा नै हुनेरहेछ । निकै ठूलो अस्ट्रेलियाको दुनियॉं अनि एक राज्यबाट अर्को राज्य पुग्नु भनेको १२/१५ सय किलोमिटरको फरकता हुन्छ । तै पनि जान त परिहाल्यो । छोराछोरी त खुसि देखिन्थे, सिड्नीमात्रै बसेर अन्तकतै नगएका यी मेसिनजस्ता मान्छेलाइ बाध्यताले भए पनि अर्को राज्य जान पाउँने सौभाग्य मिलेको थियो । हामी त झन् नयाँ ठाउँ देख्न पाउँने यसै पनि खुसि नै थियौ ।सुरुमा हवाइ जाहाजबाट जाने कुरा थियो तर बाटो भरिको सुन्दर दृश्य हेर्दैजान सबैलाई मन लागेर गाडीबाटै जाने निधो गरियो । २०१७ मार्च ३० मा छोराको दीक्षान्त समीरोहको कार्यक्रम भए ता पनि त्यसको दुइ दिन अगाडी अर्थात २८ मार्चमा छोरीज्वाईं र छोराको साथमा हामी पनि लाग्यौ ।

निकै लामो बाटो भएकाले सबेरै करिव ३ बजेतिर रातिनै निस्कियौ । न्यु साउथवेल्स् छिचलेर क्विन्सल्याण्ड राज्य प्रवेशगर्दा छर्लँग बिहान को उज्यालो भइसकेको थियो । प्रशान्त माहाँसागरले घेरिएको ठूलो देश अस्ट्रेलिया अनि बस्ती पनि समुन्द्रका किनार वरपर मात्रै घना देखिन्थ्यो । अलिक भित्रतिर त सबै खालीखाली जँगलै जँगल मात्रै । भण्ज्याँग्, फाँटहरु पनि निकै ठूला देखिन्थे बयानै गर्न नसकिने खाले, सबै ठाउँ ठूलाठूला मात्रै देखिन्थे । प्रत्यक्ष आँखाले नदेखेसम्म यतिठूला होलान् भनेर कल्पना पनि गर्न नसकिने भ्याली र उपत्काहरु अनि यि खाली सन्सारमा धेरै ठाउँ ओगटेर गाई चरेका देखिन्थे । जताततै रँगबिरँगका गाईहरु कस्का होलान् ? गोठ कतै देखिन्न ! गाइका बस्ने, खाने अनि प्रजन्नदेखि सन्तान हुर्कनेसम्म जँगल र फाँट मा । योबिघ्न घाँस खाएर जँगलैमा हुर्किएका मृगसमानका गाईको परिकार पनि त मीठै हुँदोहो ! तब न यि म्लेक्षहरुको सधैंको धेरैजसो आहार गाईमात्रै बन्न सफल भएको होला ! खाएर खाइसाध्य नभएका यो बिघ्न गाई !
कँगारुको देश अस्ट्रेलिया भनेर चिनिन्थ्यो, साच्चै नै अति धेरै कँगारुहरु हुँदोरहेछ । घना जँगलको बाटो वरपर होस् या खाली फाँट होस् जताततै धेरै जमात देखिदो रहेछ । बाटो आरपार गर्दा तिब्रगतिको गाडीले हानेर होला बाटोको ठाउँठाउँमा मरेका कँगारुहरु पनि देखियो ।

कँगारु मात्र हैन अरु ससाना प्राणीहरु खरायो, ठुला खाले मुसा, जँगली कुखुरा आदि ससाना प्राणीहरु बाटोमा हिडिरहेका देखिन्थे । बाटो हिड्ने हामीजस्ता कसैले समातेर पनि लाँदोरहेन छ ! एउटा कुरा चै अनुमान लगाउन सकिन्छ, यता हिम्स्रक प्राणी चाँहि हुदैन होलान् ! भएको भए यसरी कँगारु लगायतका ससाना प्राणीहरु मौलाउन पाउन्थेनन् होला ! ख़ैर यो त मेरो अनुमान मात्रै न हो, यताको बस्तुस्थितीको बारेमा म अनभिज्ञ नै त हुँ ।

निकै जँगल काटेर गए पछि सड़कको आरपार खेती गरेको पनि देखियो । अनुमान लाउन नसक्ने अाँखाले नभ्याउने कताहो कतासम्म खेतका गरा अनि त्यो खेतमा एकै प्रकाका फसल फलेको पनि देखियो । सानो र थोरै मात्र देखेका मेरा आँखा, हाम्रो देशमा सानासाना बारीका गरैपिच्छे एकएक थोक फलेको देखेकी म यो एकै थरिको फसलले सँसार ढाकेको पहिलोपल्ट देख्दैथें । १०/१२ कि. मी. जति आरका पार एकै किसिमको फसल देखेपछि फेरि बल्ल अर्को थोक देखिन्थ्यो । यसै गरी उखु,मकै, गौँ, भरमार, अलिभ, आबोकार्डो केरा,भुईकटर आदि इत्यादि न चीनेका पनि धेरै थोक देखियो । लामो बाटो अनि बाटोभरी यताउता पर सम्म एकै खाले खेती ! म अचम्म मानेर हेरेको देखेर छोराछोरी हाँस्न थाले अनि भने “क्विन्स्ल्याण्डमा खेती बिग्रियोभने सिड्नीमा अनिकाल पर्छ” भनाइको मत्लब मैले बुझे अनुसार यताको उत्पादन् अस्ट्रेलिया भरी फैलदो रहेछ । तबन यो बिघ्न खेती ! सायद अन्त पनि यस्तै खेती हुन्छ होला ! त्यसैले यता सुध्द र पौष्टिक खानेकुराको सधैं सहकाल हुन्छ ।

खेती मात्र हैन क्विस्ल्याण्ड्मा ठूलाठूला उघ्योगधन्दाहरु पनि बाटोमा देखियो । सबै त केके हुन् बुझिएन तर कार फ्याक्ट्री र सिमेन्ट फ्याक्ट्री चाहिँ प्रस्ट चिनीन्थ्यो, साइनबोर्ड बाहिर डुण्डिएको स्पस्ट देखिन्थ्यो । फ्याक्ट्री पनि कति राम्रो ब्यबस्थित हुने, बाहिर कुरै हल्लाखल्ला बा फ्क्ट्रीबाट निस्कने ध्वनि कुनै नसुन्ने तरिकाले बनाएको हुदो रहेछ, अनि प्रदूषण नहोस् भनेर धुआँ पनि माथिमाथि फिल्टर गरेर सेतो बनाइ फ्याक्ने रहेछ, कस्तो राम्रो ब्यवस्था तवन बिकसित मूलुक भन्दा रहेछन् ! आफ्नै देशसम्झन थालेछु ! हाम्रो देशमा यस्तो ब्यवस्था कैले होला र खै ?

यो दुनियॉं हेर्दाहेर्दै रात पर्न लागेछ धेरै बेरको गाडी कुदाइ पछि दिन पनि ढल्कदै गयो, यो खालिखालि दुनियाँबाट बिस्तारै शहरी इलाकाहरु देखापर्न थाल्यो । क्विस्ल्याण्ड् को मुख्य शहर बृसबेन पनि देखियो । झलमल्ल परेको ठूलो शहर बृसबेन, वर्लेर घुम्ने मन भए ता पनि हामीलाई त्यताबाट अर्को शहर ग्याड्सन ( Gladstone )पुग्नु थियो, निकै अवेर भएकोले बृसबेनको शौन्दर्यलाई लोभिँएको आँखाले हेर्दै हामी ग्याड्सन शहर तिर लाग्यौ ।
रातको करिव ९ बजेतिर ग्याड्सन शहर पुगियो । नेभिकेटरले हामीले बुकगरेको होटल डिस्कभरी होलिडेज् पार्कस् ( Discovery holidays parks ) पुर्यायो । छुट्टाछुट्टै अपार्ट भएको आफ्नै घरजस्तो होटलको कोठा रहेछ, राती अध्यारो पैल्याउन निकैबेर लाग्यो । थकाइले चुर भएका हामीसबै झोलामा केके थ्यो त्यै खाएर सुतियो । भोलिपल्ट बिहान २९ मार्च, ग्याड्सन शहर घुम्नजाने योजना बन्यो । आफै खाना बनाएर खान मिल्ने होटल, आफ्नै मुताविकको दाल, भात,तर्कारी, अचार ! मजाले बनाएर खाएर चाँडै नै होटलबाट निस्कियौं ।
सिड्नीको दाँजोमा ग्याड्सन निकै सानो रहेछ । आबस्यकताका सबै साधन भरपुर भए पनि आबादी निकै कम, सीमित बजार क्षेत्र यति हुँदाहुँदै पनि ग्याड्सन शहर सिड्नीको ठूलो पर्यटकीय क्षेत्र बनेको रहेछ । समुन्द्र किनारमा बसेको शहर, जताबाट हेरे पनि उहि पानीमाथि तैरिरहेजस्तो देखिने । शहरमा घुम्नयोग्य निकै ठाउँ रहेछन् ।

ग्याड्सनको प्रमुख पर्यटकीय स्थान नेसनल पार्क,गार्डेन, र लेक ओँगा ( lake Awonga ) घुमियो, यो लेक ओँगा निकै ठूलो ताल रहेछ । नेपालको फेवाताललाइ बिर्साउने तर फेवाताल भन्दा निकै ठूलो र फैलिएको गहिरो ताल थियो । यस्ता ताल तलैया त हाम्रो देशमा जत्तिपनि हुनें भएकाले उत्ति आस्चर्य त लागेन तै पनि यतातिर सफासुध्गर र सँरक्षण चाहि राम्रो तरिकाले हुन्छ । ताल घुम्ने पर्यटकको धेरै नै घुईँचो लाग्ने रहेछ । एत्ति एउटा ताल हेर्न कत्ति टाठादेखिको पर्टकको भिड लाग्दो रहेछ भने हाम्रो देशमा त कत्ति धेरै ताल तलैयाहरु छन्, सँरक्षणको अभावमा त्यस्सै खेर गएका छन् सरकारले ध्यान दिने हो भने देशी विदेशी पर्टकको के कमी हुन्थ्यो र !

ग्याड्सन शहरको घुम्ने ठाउँ करिव तिनधण्टा जतिमा सकियो । त्यताबाट हामी शहरको बिचोबिच अबस्थित् ग्याड्सन आर्ट ग्यालरी एन्ड म्युजीयम ( Gladstone art gallery and museum ) तिर लाग्यौ । उक्त आर्ट ग्यालरी पुगे पछि यो नगर निर्माण कैले र कसरी भयो भन्ने पुरानो र निकै रोचक कुराको ज्ञान हुदो रहेछ ।
सर जोन ग्याड्सन र एन मेकेन्जनका चौथो छोराको रुपमा ब्यलायतको लिभरपुलमा सन १८०९ मा जन्मिएका विलियम इवार्ट ग्याड्सन ( William Ewart Gladstone ) को नामबाट ग्याड्सन शहरको नामाकरण भएको रहेछ ।

अठारौ सताब्दितिर सन्सारभरमा धेरैजसो ब्यलायतको दवदवा थियो । खालीखाली अस्ट्रेलिया पनि बृटिस सरकारकै अधिनमा थियो । ब्यलायतको अधिनमा रहेका युध्दबन्दिहरु अस्ट्रेलियाको उजाड र समुन्द्रले धेरिएको निर्जन ठाउँमा ल्याएर राखिन्थ्यो । त्यतिबेला ग्याड्सन ब्यलायतमा निकै चम्केका रहेछन् । ब्यापारी धनी बाबुका छोरा र ऑक्सफ़ोर्ड युनिभर्सिटीबाट शिक्षित भएका ग्याड्सन बुध्दिमानी हुनुका साथै कुशल प्रबक्ता पनि रहेछन् । बिभिन्न सँघसँथामा आबध्द भएर सामाजिक काम पनि गरेका रहेछन् । त्यतिबेलाको अस्थिर राजनीतिलाइ आफ्नो वक्तृत्वकला र कुशल तरिकाले मिलाएर पहिलो पल्ट सन १८३२ मा साम्सद पनि वनेछन् ।

सन १८४९ मा क्याथरीन गिलसँग बिबाह गरेपछि राजनीति छोडेर केहिवर्ष यिनी सामाजिक कार्यतर्फ लागेछन् । त्यतिबेला बेलायतमा बेस्याबृती र महिलाको शोषण अत्यधिक बढेको रहेछ । ग्याड्सन आफैले यस्ता महिलाको उध्दार र बसोबासको लागि एउटा सँथ्या खोलेर केहि वर्ष पतीपत्नी दुबैजना भएर काँम गर्न थालेछन् । यस्मा पनि यिनलाइ लोकपृयता बढ्दै गयो । फेरि पनि यिनलाइ राजनीतिले छोडेन र सन १८६६ मा लिभरल पाटीको अध्यक्ष बनेछन् । भारी मतले जितेको लिभरल पाटीको अध्यक्षको नाताले, माहारानी भिक्टोरीयाले उति मन नलागे पनि राज्य सँचालन गर्न प्रधानमन्त्री बनाउन परेको रहेछ ।
प्रधानमन्त्री बनेपछि ग्याड्सनको महत्वाकॉंक्षा बढ्दै गयो । देश बिदेशमा उनको दवदवा पनि बढ्यो । यसै शिलशिलामा अस्ट्रेलिया तिर पनि यिन्को आँखा पुग्यो । त्यतिबेला राज्य सँचालनको काँम सबै सिड्नीबाट मात्रै हुन्थ्यो । क्विन्स्ल्याण्डतिर त क़ैदी मात्र थुपार्ने कॉंम हुन्थ्यो । पहिलो पल्ट ग्याड्सनको दिमागले त्यता पनि सुव्यवस्थित शहर बनाउने योजना ल्याए र सिड्नीका मेयरसँग मिलेर सुरुवात गराएछन् ।

राजनीतिमा निकै तलमाथि हुँदैगयो, पटक पटक गरि चार पल्टसम्म यिनी ब्यलायतको प्रधानमन्त्री बनेका रहेछन् । उथलपुथलको राजनीतिले क्विन्स्ल्याण्डमा नगर बनाउने कॉंममा पनि बाधा अड्चन धेरै नै आएछ । शहर बन्न लागेको जानकारिले टाठा टाठादेखिको मान्छेहरु एकत्रित हुन् थालेछन् । निकै बर्ष लाएर ग्याड्सनकै योजना मुताविक बनेको क्विस्ल्याण्ड् राज्य र यस अन्तरगतको नगर भएर उक्त नगरको नाम ‘ग्याड्सन’ राखिएको रहेछ ।
निकै बाधा अड्चनको सामना गर्दै नगर निर्माणमा निरन्तर दिएकाले उन्को सन्मान र सम्झना स्वरुप उक्त स्थानमा सँग्रालय बनाएर राखिएको रहेछ । यो सबैकुराको जानका ग्याड्सनको नाती पीटर ग्याड्सनले आफ्ना हजुरबुबाले प्रयोग गरेका सबै सामानहरु उक्त सँग्रालयलाई हस्तानतर गरेका रहेछन् ।
ग्याड्सनले प्रयोग गरेका बिभिन्न सामानहरुको साथमा उन्का बारेमा लेखिएका पुराना किताबहरु पनि रहेछन् । प्लेट, ठूलो मग, चस्मा आदि सामानका साथमा एउटा पुरानो ठूलो छालाको ब्याग पनि रहेछ । सायद त्यो उन्को निजी सामान राखेर बोक्ने ब्याग होला । पछि यिन्को यो ब्याग निकै प्रसिध्द भएछ, बिस्वका निकै नाम चलेका मान्छेले पनि यस्तै ब्याग बोक्न थालेछन् । त्यस पछि ग्याड्सन ब्याग भन्ने कम्पनि नै खुलेछ । घुमीघुमी शँग्रालय हेरियो । निकै पुरानो ग्याड्सन को पुर्णकदको शालिकका साथै अरु पनि मुर्ती र पेन्सिल आर्टहरु निकै रहेछन् । कलात्मक तरिकाले सजाइएको सबै चिज हेरेर केहि तस्विर पनि खिचियो ।
घुमीफिरी फेरी आफ्नै देश नेपालको सम्झना आयो, हाम्रो देशमा पनि त यस्ता रार्ष्ट्रिय बिभूतिहरु नभएका त हैनन् नि, तर खै र यस्तो कदर भएको छैन ! राजनैतिक ब्यक्तिदेखि, साहित्यकार, कलाकार आदि देश बिदेशमा नामचलेका ब्यक्तिहरुको राज्यले कतै कदर गरेको देखिदैन तर अर्काको देशमा यस्तो राम्रो तरिकाले सन्मान सहित सँग्रालय बनाएर राखेको देख्दा मन भरिएर आयो ।शाँझ पर्न लागेको र पानी पनि पर्न थालेकोले अब सबैको मन होटेलतिरै तानियो र फर्कियौ । आखिर दिनभरिको हिडाइले थकाई पनि त लागेकै थ्यो ।
भोलिपल्ट ३० मार्च २०१७ मेरो छोराको दीक्षित हुने दिन ! मनमा निकै उत्सुकता जाग्यो कस्तो हुन्छ होला ! दिनको १ बजे को निमन्त्रणा थियो तर तरखर भने बिहान सबेरैदेखि नै थियो आफ्नै तरिकाको खाना छिटोछिटो बनाएर खायौँ । अनि लुगाको छनोट, कोही सर्टप्यान्ट कोही टाइसुट, कोही स्कर्ट् मैले चाँहि नेपाली पोसाकमा सजिएर सारीचोली लगाएँ । सबैजना ठिकपर्दा बल्ल ११/३० जति भयो । अब बसिरहन मन लागेन निर्धारित हलमा गएर बस्ने बिचारले हिडियो । मध्याह्न १२ बजेतिर कर्यक्रम गरिने ग्याड्सन इन्टरटेनमेन्ट् कन्भेन्सन् (Gladstone Entertainment Convention) हलमा प्रवेश गरियो । हामी मात्रै हैन रहेछ हतार त सबैलाइ भएको नै रहेछ, मान्छे त निकै जम्मा भइसकेका रहेछन् ।

छोरो दीक्षितहुँदा लगाउँने लुगा, गाउन टोपी तिर लाग्यो हामी सबै सोफातिर बस्दै थियौँ । वरिपरि सबै नचिनेका मान्छे, आफ्ना कोहि नभएका विरानो मूलुकमा को सँग बोल्नु र ? सबैका अनुहार हसिलो देखिन्थ्यो । किन नहोस् र सबै त हामीजस्तै आमाबाबु नै त हुन् आफ्नो सन्तानको सफलतामा कस्लाइ खुसि नलाग्ला र ? अनि छोराछोरी त झन् दँग हुने भैगए यत्रो बर्षको मेहनतको फल आज मिल्दैछ ।

केही खोजी गरेझै मेराआँखा यताउति घुम्न थालेछन्, खोज्दाखोज्दै मेरा आँखा नेपाली भए तिर पुगेछ । ५०/५५ जतीकी महिला मैले जस्तै सारीचोलीमा सजीएकी थिइन् उन्कै साथमा उभ्भिएका हट्टाकट्टा पुरुष सायद उन्का पती होलान्, टाइसुटमा टक्क परेका थिए । उनिहरु पनि निकै बेरदेखि हामीलाई नै हेर्दै रहेछन् । दँगपर्दै म हाँसे, यति विरानो ठाउँमा पनि कोहि नेपाली त भेटिदा रहेछन् उनिहरु पनि सायद नेपाली अनुहारलाई खोज्दै थिए होलान् अगाडि आएर सोध्न थालिहाले “कताबाट आउनुभयो काठ्माण्डौ बाटै”? मैले हो भन्ने जवाफ दिएँ । कुराकानिको शिलशिला लम्बियो उनको घर झापामा रहेछ । हामीजस्तै उनिहरु पनि छोराको दीक्षान्त समारोहमा सरिक हुन आएका रहेछन् अनि हामी जस्तै सिड्नीमै बस्दारहेछन् र उसैगरेर गाडीबाट ग्याड्सन सम्म पुगेका रहेछन् । अलि पर राम्री युवती हास्दै उभिएको थिइन्, मैले सोधे “उनि कोहुन्, हजुकी छोरी”? ति महिलाले जवाफ दिइन् “हैन उनी बुहारी हुन्, अनि हजुरको बुहारी खै त”? मेले हास्दै जवाफ दिएँ, “छोरो भएपछि ढिलो चाँडो बुहारी पनि आउलिन् नि” उनिहरु मेरा कुरामा खूव हॉंसे ।

मैले फेरी भने “हजुरको वुहारी त सारै राम्री रहिछन्” फेरि ती पुरुषले भने “हाम्री बुहारी हजुरलाई खूव राम्री लागिन” फेरि हाँसो छुट्यो । निकैबेर रमाइलो कुराकानी भयो, यो विरानो ठाउँमा यसरी हाँसेर गफगर्न पाउँदा मलाई निक्कै खुसि लाग्यो । अझै अलि परतिर पनि हामी जस्तै अरु धेरै नेपाली पनि देखियो । मलाइ लाग्यो हाम्रो छोरामात्रै त हैन नि त्यत्रा बिधि नेपालीहरु अस्ट्रेलिया भित्रीएका छन् । अनि धेरैले मेरो छोरो पढ्ने युनिभर्सिटीमा पढे होलान् यस्मा केकोआस्चर्य भो र ? तै पनि नेपाली देखेपछि मनमा एक किसिमको खुसी चाहिँ हुँदो रहेछ ।

अब सबैजना हलभित्र प्रवेश गरे, समारोह सुरुहुन लागेको रहेछ । हामी पनि सबैका साथमा लाग्यौ । भित्र सजिसजाउ ठूलो हल, अगाडीपट्टि चौडा मन्च अनि मन्चको सँगै तल टम्म मिलेर दीक्षित हुनको लागि सजिएर बसेका बिध्याथिहरु । टोपी र गाउनमा कतिराम्रा देखिएका ! मेरा आँखा आफ्नै छोराको खोजिमा लाग्यो । करिव २०० जतिको भिडमा पनि अलग्गै देखिने दोहोरो आँग परेको, चौडा छाती, अग्लो, गोरो २४ बर्षे लक्काजवान मेरो छोरो ! उ भन्दा निक्कै पछाडीको सिटमा हामी बसेको भएपनि अगाडी टक्क देखिन्थ्यो ।

माथि मन्चभरी टन्न मान्छे बसे, खै को को हुन् ! हाम्रो नेपालमा भए अध्यक्ष उपाध्यक्ष के के हुन्थे तर यता चान्स्लर, भाइसचान्स्लर के के भन्थे १०/१२ जना टन्न सन्मानित ब्यक्तिहरु बसेका थिए । बिद्यावारिधी गरेर डक्टरको उपाधी लिनेहरु पनि माथि मन्चमा नै बस्दा रहेछन् । सायद उनीहरुका लागि बिशेष सन्मान हुन्छ होला ! आखिर उनिहरु पनि सन्मान गर्ने ब्यक्ति सरह पढेर आएका न हुन् ।
अस्ट्रेलियन राष्ट्रीय गानका साथ कार्क्रम सुरुभयो । युनिभर्सिटीको बारेमा भाषण, गुरुको भाषण, बिध्यार्थिको भाषण, गाना बजाना पछि बल्ल सुरु भयो ग्रेजुएसन् सेरमोनी (Graduation Ceremony) अर्थात दिक्षान्त समारोह ।
एक एक गरेर सबैको नाम बोलाउँदै प्रमाणपत्र दिदै गए । म आफ्नै छोराको पर्खाइमा थिएँ । अप्ठ्यारो तरिकाले बोलाइएको नेपालीहरुको नाम, यताका मन्छेको भन्दा फरक भएर होला कि !

चाइना, जीम्बाबे, लेबनानी, अमेरिकन्, अनि अरु कताकताका साथमा १०/१२ जनाजति नेपालीहरु रहेछन् । धन्न सबैसँग पौठाजोरी गर्नसक्ने गरीव देशका जेहन्दार नेपालीहरु, ठाउँ पाए कोही भन्दा कम हैनन् भन्ने कुराको प्रमाण प्रस्तुत गरेका हाम्रा छोराछोरी ! सबैको नामको बिचमा बल्ल मेरो छोराको नाम आयो, कान चनाखो र आँखा तेजीलो भयो, साम्भव मनि आकार्य दीक्षित ( साम्भवमणी आचार्य दीक्षित ) अटपटा सुनाए पनि आफ्नो छोराको नाम बुझियो । हात्ती लस्केजस्तै गरी मन्चमा पुगेको मेरो छोरो सबैभन्दा अलग्गै देखिन्थ्यो । म हेरिरहेँ कत्तिराम्रो मेरो छोरो ! अनि उस्ने लगाएको टोपी र गाउन कति सुहाएको, हुनत प्रतेक आमालाई आफ्नो छोरो राजकुमारजस्तै लाग्छ म पनि त्यसैमध्देकी एउटी आमा भएर होला मन्चमा पुगेर चान्स्लरको हातबाट प्रमाणपत्र लिदैगरेको छोराको बत्ती झै बलेको गोरो हँसिलो अनुहार हेरिरहेँ ।

हिजोजस्तै लाग्छ नेपालमा हुँदा १२ कक्षा सक्किने बित्तिकै अस्ट्रेलिया जान्छु अरुपढ्न भन्दै जिद्दी गरेको । मैले ऐले हुन्न छोरा ! सानै छौ पछि जानु भन्दा पनि नमानेर अड्डि लिएपछि, हामीलाई पनि झुक्न करै लागेको थियो । एक गिलास पानी पनि मैले नदिएसम्म आफै झिकेर नखाने मेरो छोरो, यो बिरानो मूलुकमा आफ्नै बलबुत्ताले करिव तिन बर्षमा आइ टी पढेर भ्यायो । धन्न दीदी भिनाजुको साथ थियो नत्र त्यो बालकले के गर्थ्यो होला ! अरुको नजरले ठूलो लक्काजवान देखे पनि मेरो लागि मेरो छोरो बालक नै त लाग्थ्यो !

हुनत सबैका छोराछोरी त्यसै गरी नेपालबाट यता आएर दुखै गरेर पढेका हुन्छन् । रातोदिन नधोट्टिए सम्म कसरी पुग्नु र ! खानबस्न देखि लिएर कलेजको पैसा छन्छनि बुझाउन कति गारो हुन्छ होला ! जतिसुकै धनी भए पनि नेपाली रुपियॉं र डलरको दाँजो कैले पनि मिल्दैन, सुध्द कमाइले डलर खर्चिन पुग्दैन । यता आएका सबैका सन्ततीले आफ्नो खर्च आफै पुर्याउनै पर्छ ।
कुन बेला मेरो आँखाबाट आँसु झरेछ पत्तो भएन, सायद यो खुसीको आँसुहोला ! कतै नदुखिकन थाहै नभइ झर्ने आँसु ! वरपर कसैले देख्लान कि भन्ने कत्रो आपत ! लुकेर पुछें । अनि सोच्दा सोच्दै निकै पर पुगेछु ।

दुई छोरी मुनिको कान्छो छोरो, मेरा लागि छोराछोरी बराबर भएता पनि छोरो जन्मिदा परिवारमा कत्रो हर्षबडाईँ भएको थियो । अति मायॉंमा हुर्केको छोरो, अब त यतै अस्ट्रेलियन नै हुन्छ होला कि ? हामी यता बस्न नसक्ने अनि उस्लाइ नेपाल मन नपर्ने, मन परोस् पनि कसरी र ? उस्कालागि नेपालमा के छ र ? एउटा उस्को लाएकको काम त छैन, कुनै काम पाइहाले पनि कतिनै पैसा हुन्छ र ? यता बसेर आफैले कमाएर राम्रो तरिकाले जीवन बिताएकालाई नेपालको पुगेस् पुगेस् गर्दै खर्चगरेर बस्न यिनलाई के मज्जा हो र ? आफ्नै बलबुताले गाडी, बँगला, राम्रो कॉंमको जोडजाम भैसकेपछि, चटक्क छोडेर हाम्रै मायॉंले मात्रै नेपाल फर्कन्छन् होला र ?

नेपाल फर्क पनि किन भन्नु र आखिर के नै छ र ? फोस्रो मातृभूमीको स्वाँग मात्रै न हो ! धुलो, धुवा अनि निकम्मा लाज पचेका नेताको अस्थिर राजनीति । हाम्रो जीवन त जसरी बित्छ बित्छ, छोराछोरी जॉं रहुन् सुखैले रहुन् ! काँम गरेरै खाए पनि आनन्दले बाचुन् उन्को जीवन सुखमय बनोस् ।

 

 

 

 

 

प्रतिक्रिया