दुई चरणमा निर्वाचन गर्न ज्योतिषी सुवेदीले भनेको खुलासा

इनेप्लिज २०७४ जेठ ३ गते १०:१८ मा प्रकाशित

बैशाख ३१, काठमाडौं । स्थानीय निर्वाचनको मिति ३१ बैशाखलाई घोषणा हुनसाथ निर्वाचन एक चरणमा हुन नसक्ने र दुईचरणमा हुने भविष्यवाणी ज्यो.दीपक सुवेदीले गरेको युट्युब लिंक फेला परेको छ । नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुति साझा भिजन एवं इण्डिजिनियस टेलिभिजनले दुई महिना अघि लिएको अन्तर्वार्तामा सुवेदीले सो कुरा बताएका रहेछन् । अन्ततः भयो नै त्यस्तै । कुनै पनि हालतमा एकचरणमा निर्वाचन गरिने सरकारी अधिकारीहरूले बताउँदै गर्दा ज्यो. सुवेदीले भनेको कुरामा धेरैले शङ्का पनि गरेका रहेछन् ।
यसै विषयमा न्यूज अभियान डट्कम अनलाइन अगाडि लेख्छ– त्यसो त यस अघिका घटनाक्रमहरूबाट उनले गर्ने गरेको भविष्यवाणीमा दम रहने र सोलाई अन्तिम तिर आएर राजनीतिक क्षेत्रले पनि मनन् र अनुशरण गर्ने गरेको विश्लेषकहरुको अनुभव छ । पहिलो संविधानसभा तथा तत्कालिन राजनीतिक संयन्त्रबाट संविधान र निकास ननिस्कने उनको भविष्यवाणी पूरा भएपछि राजनीतिक क्षेत्रले उनको भविष्यवाणीलाई अप्रत्यक्ष रूपमा भएपनि मान्न थालेको देखिन्छ । वैद्य माओवादी लगायतका पक्षको कडा बिरोध भइरहेको र आमसर्वसाधारण पक्ष अन्यौलमा रहेको बेलामा सुवेदीले खिलराज रेग्मीको सरकारले दोस्रो संविधानसभाको निर्वाचन गराउन सक्ने भविष्यवाणी गरेका थिए । त्यस्तै दोस्रो संविधानसभाले धर्मलाई सम्बोधन गरेको खण्डमा मात्रै संविधान जारी गर्नसक्ने बताएका थिए । सो कुरापनि सनातन देखि चलिआएको धर्मसंस्कृतिको संरक्षण गर्ने भन्ने वाक्य संविधानमा राखिएपछि मात्रै संविधान जारी हुनुले प्रकारान्तरले सो भनाई पनि पुगेको थियो ।
यसरी बेलाबेलामा राष्ट्रिय सवालका विषयहरूमा भविष्यवाणी गर्ने गरेका ज्यो.दीपकले अन्ठाउन्न सालमा राजा वीरेन्द्रको मृत्युको बारेमा गरेको भविष्यवाणी निकै चर्चामा आएको थियो । गतवर्ष सगरमाथा टेलिभिजनको अन्तर्वार्तामा उनले प्रचण्डलाई पार्टीको नामको अगाडि ए अर्थात एकिकृत लागेको नफापेको बताएपछि लगत्तै एक महिना पछि प्रचण्डले पार्टीको नाम फेरेका थिए । र लगत्तै उनी प्रधानमन्त्री पनि भएका थिए । यसरी नेपालको राष्ट्रिय चर्चाका विषयहरूमा उनले भविष्यवाणी गर्दै आएको र धेरै भविष्यवाणीहरू पुग्दै गएको हुनाले उनको भनाईमा दम रहने तथ्यलाई राजनीतिक क्षेत्रले मनन गर्न थालेको बुझिन्छ । यस पटकपनि प्रधानमन्त्रीलगायतले निर्वाचन एकै चरणमा गर्ने भनिरहेपनि अन्तिममा हुनसक्छ उनको भनाईलाई पनि मध्यनजर गरेर चुनाब दुईचरणमा तय भयो ।

अन्य ज्योतिषी तथा भविष्यवक्ताहरूले निर्वाचन नै नहुने बताइरहेको बेलामा उनले सो अन्तर्वार्तामा निर्वाचन हुनुपर्छ, तर कठिनाइ भने पर्छ भनेका थिए । छिट्फुट घटना र केही कठिनाइको बाबजुत पहिलो चरणको चुनाब सम्पन्न भएको छ ।
पहिलो चरणको निर्वाचन सकिएपछि उनीले न्यूज टिमसँग संक्षिप्त कुरा गर्दै भने ‘हुनलाई मैले भनेको कुरालाई सोझो र बाङ्गो दुबै खालबाट अथवा आआफ्नो तरिकाले अर्थ गर्ने व्यक्तिहरू रहेको मैले बुझेको छु । त्यस्तो खालको प्रतिक्रिया देखिन्छ । त्यसमा मेरो भन्नु खासै केही छैन, जसको जति चेतना हुन्छ उसले त्यति बुझ्छ । त्यसमाथि पनि व्यक्तिहरूले आफ्नो राजनीतिक आस्था अनुसार पनि अर्थ गर्ने गर्छन् । तर मैले राजनीतिक नभएर ज्योतिषीय सिद्धान्तमा रहेर भन्ने हो । मेरो अन्तर्वार्ताको युट्युब लिंक समाचारसँगै राखिदिनु होला हेर्न मनलाग्नेले आफै हेर्नसक्नु हुन्छ । मैले जे भनेको छु त्यसमै छ ।’
पहिलो त मैले भन्न खोजेको कुरालाई सही तरिकाबाट बुझिदिन अनुरोध गर्छु । जहाँ जानिजानी गल्ति तथा कमजोरी गरिन्छ त्यहाँ परिणाम विपरित आउने हो, राजनीतिक क्षेत्रले जानिजानी गरेको कमजोरी तथा गल्तिको कारणले नागरिक डराउनु परेको अवस्था छ । अझैपनि ढुक्क भइहाल्न मिल्ने अवस्था देखिएको छैन । सबैले आआफ्नो स्थानबाट सकारात्मक सोँचले संयमित भएर अघि बढौं, निस्कामकर्म गरौं, आफ्नो कर्तव्य एवं जिम्मेवारी चिनौं र पूरा गरौं, सबैकुरा ठिक हुँदै जान्छ, उनले भने ।

यसको बारेमा तपाई पनि ज्यो. दीपक सुवेदीको अन्तर्वार्ताको भिडियो जस्ताको तस्तै हेर्न चाहनुहुन्छ भने तलको युट्युब लिंकमा क्लिक गर्नु होला –

सुवेदीको सगरमाथा टि.भि.सँगको अन्तर्वाता जसमा प्रचण्डलाई पार्टीको नाम एबाट उठेको नफाप्ने बताएका थिए, त्यसको लिंक

न्यूज अभियानडट्कममा समाचार प्रकाशन भएको लिंक
http://www.newsabhiyan.com.np/news-details.php?nid=76218

प्रतिक्रिया