नुवाकोटको तादी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

इनेप्लिज २०७४ जेठ ३ गते ९:१२ मा प्रकाशित

नुवाकोट, जेठ ३ । नुवाकोटको तादी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यसअघि बिहान किस्पाङ गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएकोमा अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेसकै उम्मेदवार विजयी भएका थिए ।

 

तादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नारायणप्रसाद पाण्डे ३ हजार ९० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद पाण्डेले २ हजार ७ सय ३७ मत पाएका छन् ।

गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकै ईश्वरी उप्रेती विजयी भएकी छिन् । उनले ३ हजार ३ सय ५५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले २ हजार ३ सय ७६ मत प्राप्त गरेका छन् ।

तादी गाउँपालिकामा रहेका ६ वटा वडामा भने मिश्रित परिणाम आएको छ । कांग्रेसले तीन वटा वडा, माओवादी केन्द्रले २ वटा वडा र एमालेले एउटा वडामा जितेको छ । जसमा वडा नम्बर १ मा कांग्रेसका नकुर तामाङ, वडा नम्बर २ मा माओवादी केन्द्रका बच्चुराम तामाङ, वडा नम्बर ३ मा एमालेका मनोज उप्रेती वडाध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै, वडा नम्बर ४ मा कांग्रेसका मुक्तबहादुर श्रेष्ठ, वडा नम्बर ५ मा माओवादी केन्द्रका विष्णुप्रसाद अधिकारी र वडा नम्बर ६ मा कांग्रेसका केशव थापा विजयी भएका छन् ।

प्रतिक्रिया