नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सफलतापूर्वक सम्पन्न ,शेर्ढाक, उर्मिला र ‘दद्या’ उत्कृष्ट

इनेप्लिज २०७४ वैशाख २७ गते ०:१८ मा प्रकाशित

वासिङ्टन डि.सी. । नेपाल अमेरिका फिल्म सोसाइटी लगायतका संस्थाहरुले वासिङ्टन डीसी महानगर क्षेत्रमा यहि मे ५,६ र ७ सम्म आयोजना गरेको पहिलो नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सफलतापुर्वक सम्पन्न भएको छ । प्रमुख अतिथि, नेपाली दुतावास वासिङ्टन डि.सी.का मिसन उपप्रमुख जीवन प्रकाश श्रेष्ठ, विशेष अतिथि नेपालका लागि पुर्व अमेरिकी राजदुत स्कट डेलीसी र स्थानीय संघ संस्थाका नेतृत्वहरुले क्यानभासमा सयुक्त हस्ताक्षर गरेर रेड कार्पेट सहित महोत्सवको उद्घाटन गरेका थिए । दीपक रौनियारद्धारा निर्देशित अन्तर्राष्ट्रिय पुरस्कार विजेता चलचित्र ‘सेतो सुर्य’, उद्घाटनमा प्रदर्शन गरिएको थियो र प्रदर्शन पछि निर्देशक रौनियारले अन्तरक्रिया गरेका थिए ।

यस महोत्सवको अवधिमा नेपाल पानोरामा,अन्तर्राष्ट्रिय सिनेमा,फर्केर हेर्दा नेपाली सिनेमा र साइडबार गरी नेपाल, अमेरिका र दक्षिण एसियाका २० वटा चलचित्र प्रदर्शन गरिएका थिए । प्रतिष्पर्धामा रहेका चलचित्रहरुलाई नेपालका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त निर्देशक नवीन सुब्बा जुरी प्रमुख, ग्लोबल पीस फिल्म फेस्टिभलकी नीना स्ट्रिच र इरानका निर्देशक फारिद बोजोर्गमेहर सदस्य रहेको ३ सदस्यीय जरीले चार वटा विधामा पुरस्कारको घोषणा गरेका थिए । जुरीले घोषणा गरेका उत्कृष्ट चलचित्रहरुमा कथानक तर्फ राजन कठेतद्धारा निर्देशित ‘शेर्ढाक द गोल्डेन हिल’, डकुमेन्टी तर्फ जर्मनी निर्देशक सुसन ग्लोथको ‘उर्मिला माई मेमोरी इज पावर’, शर्ट फिल्म तर्फ निर्देशक विभुषण बस्नेत र पूजा गुरुङको ‘दद्या’, र स्पेशल जुरी मेन्सन अवार्ड तर्फ अमेरिकी निर्देशक एन्डी कक्रमको ‘शेर्पा स्ट्यु’ रहेका छन् ।

उद्घाटनको चलचित्रको रुपमा रहेको ‘सेतो सुर्य’, समापनको चलचित्र ‘कालो पोथी’, नेपाली सिनेमा फर्केर हेर्दा अन्तर्गत प्रदर्शन गरिएको नवीन सुब्बा निर्देशित ‘नुमाफुङ’, छिरिङ रितार शेर्पा निर्देशित ‘मुकुण्डो’ र ग्लोबल पीस फिल्म फेस्टिवलको साइडबार तर्फका दुइवटा चलचित्रहरु प्रतिष्पर्धामा थिएनन् ।

युनिभर्सिटी अफ मेरील्याण्डको हफ थिएटरमा उद्घाटन भएको चलचित्र महोत्सवको समापन एएफ आई सिल्भर थिएटरमा भएको थियो । समापनमा चलचित्र ‘कालो पोथी’को प्रदर्शन पछि निर्देशक मिन बहादुर भामले अन्तरक्रिया गरेका थिए । उत्कृष्ट घोषणा भएका चलचित्रहरुलाई नासो कम्यूनिटी अमेरिकाका केन्द्रीय अध्यक्ष गोपाल विश्वकर्मा, साउथ एसियन च्याम्बर अफ कमर्सका अध्यक्ष अलि राजा र जनसंपर्क समिति म्यारील्याण्ड च्याप्टरका अध्याक्ष तथा समाजसेवी राजेन्द्र सेन्चुरी र जुरी मण्डलले सयुक्त रुपमा पुरस्कार वितरण गर्नु भएको थियो । स्वय सेवकहरुलाई प्रमाण वितरण बानाकी अध्यक्ष अनु वन्त र समाजसेवी लोक तिवारीले गर्नुभएको थियो ।

महोत्सवको अवधिमा सूवर्ण थापाको ‘सुनगाभा’, देवकी विष्टको ‘इन सर्च अफ देवकी’, अमिताभ जोशीको ‘टासिज टरबाइन’, गणेश पाण्डेको ‘भाग्यले बाँचेकाहरु’ र किरण मरहट्टाको ‘द मेसीः म्यान एट वार्सा’ जशवन्तदेव श्रेष्ठको ‘मुस्ताङ’, डोरिया ब्रामान्टे र मार्कस वेनफरदरको ‘द रेफुजी अफ साग्रिला’, सुसन प्रजापतिको ‘लाज’, सन स्मलको ‘एकर्स अफ डायमण्ड’, राजेन्द्र ठकुराठीको ‘माई क्ल्याइरे’ ग्लोब पिस फिल्म फेस्टिबलको सहयोगमा ‘द डिर्पोटेसन अफ इनोसेन्स’ र ‘एक सूर्य के तले’ प्रदर्शन प्रदर्शन गरिएको थियो ।

प्रदर्शन पछि ‘एकर्स अफ डायमण्ड’का निर्माता इयान थोमस यस,‘शेर्ढाक द गोल्डेन हिल’का निर्माता तथा कलाकार रिन्जीन छेवाङ,‘शेर्पा स्ट्यु’का एन्डी कक्रम र निर्देशक नवीन सुब्बाले अन्तरक्रिया गरेका थिए । स्कट डेलीसी, गैरआवसीय नेपाली संघ अमेरिकाका अध्यक्ष केशव पौडेल लगायत उपस्थित नेतृत्वहरुले महोत्सवलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । वासिङ्टन डि.सी. महानगर क्षेत्र, न्यूयोर्क, प्यानसिलभेनियाका नेपाली र गैरनेपाली समुदायको महोत्सवमा सहभागीता भएको थियो । पहिलो वर्षको सफलताले आगामी वर्षहरुमा महोत्सवलाई झन भव्य बनाउन उर्जा मिलेको छ ।

प्रतिक्रिया