“राम्रो काम गर्नलाई कहिले नि ढिलो हुन्न। र, राम्रो काम गर्ने सबै भन्दा राम्रो समय अहिले हो।”
– मार्टिन लुथर किन्ग
हालसालैका नेपालका राजनीतिक घटना देखेर मलाई दारें एस्मोग्लु र जेम्स रबिन्सनको “राष्ट्र किन असफल हुन्छ?” भन्ने विश्वविख्यात पुस्तकका केहि कुराहरु याद आयो। पुस्तकमा एउटा सफल राष्ट्र बनाउनलाई नेतृत्वको कत्रो महत्वपूर्ण भूमिका हुन्छ भन्ने स्पष्ट पारिएको छ। नेतृत्व वर्ग आफ्नो स्वार्थमा डुब्दा आम जनताको राज्य प्रति विश्वास टुट्ने हुँदा राष्ट्र असफलता तर्फा उन्मुख हुने कुरा उल्लेख छ। हामी नेपालीको अनवरत बिडम्बना भन्ने कि दुर्भाग्य, हाम्रो राजनीतिक नेतृत्वले जनताको सरकारप्रतिको विश्वास गुमाउने काम बारम्बार गर्दै छन् । हालैको घटनाले त “स्वतन्त्र न्यायापालिका” को स्वतन्त्रमाथि नै गम्भीर धक्का लाग्ने काम भएको छ। लोक्त्रन्त्रको एउटा दरिलो खम्बा माथिको प्रहारले लोकतन्त्रलाई कम्जोर बनाउने कम भएको छ। शेर बहादुर देउवा र प्रचण्डको यो काम गलत छ।
(१) प्रधान-न्यायाधिश सुशिला कार्की माथिको महाभियोग
कुरा घटना भन्दापनि घटना भित्रको नियत के हो ? साँची छातीमा हात राखेर भन्ने हो भने कसको नियतमा खोट देख्नु हुन्छ – प्रधान-न्यायाधिशको कि सरकारमा बसेका राजनीतिक नेतृत्वको? भ्रष्टाचारीमाथि धावा बोल्ने अनि राजनीतिक नेतृत्वसंग नझुक्ने निडर तथा आस्थावान एक न्यायाकी देवीको कि भ्रष्टाचारमा लुप्त तथा भ्रष्टाचारीका सम्रकछाक केहि नेताहरुको? कटुवाल काण्डमा पनि “नागरिक सरकारको” झूटो ढोल पिटेर आफ्नो संकुचित राजनीतिक स्वार्थ पूरा गर्न खोज्ने यिनै अहिलेका प्रधानमन्त्री हैनन् र? दुर्भाग्य के छ भने लोकतन्त्रको हिमायती र संरक्छाक सबैभन्दा ठूलो र बुढो पार्टी नेपाली कांग्रेसको शिर्ष नेतृत्वको अकर्मन्यताका कारण पार्टी मात्र नभई देश अनि लोकतन्त्रलाई नै ठूलो हानि हुने काम भैराखेको छ। यति हुँदा पनि चुप लगेर बस्ने कांग्रेसी साथीहरुले पार्टी र देशलाई यस्तो गलत कामको “मौन समर्थन” ले कत्रो हानि भैरहेको छ सायद आंकलन नहोला? याद राख्नुस साथीहरु, एउटा अन्धोले अर्को अन्धोलाई दोर्याउन सक्दैन। आफ्नो आँखा खोल्नुस। गलत काम गर्दा रानजीतिक नेतृत्वलाई खबरदार गर्नुस। नत्र पार्टी संगै देश पनि “खाडल” मा जाँदा मात्रै हाम्रो चेत आउला। आफ्नो नैतिकतामा अडिग रही बिमत जाहेर गर्दै राजिनामा दिने “बिमलेन्द्र निधि” के नेपाली कांग्रेसकै नेता हैनन् र? संसदमा नेतृत्वको कदमको बिरोध गर्दै बिद्रोह गर्ने धनराज गुरुगं, चन्द्र भण्डारीहरू के नेपाली कांग्रेसकै नेता हैनन् र? आफ्नो पार्टी र नेताको गल्ति देखाएर सुधार्दा के पार्टी झन् राम्रो र बलियो हुदैन र? मार्टिन लुथर किन्गले भनेका छन् “राम्रो काम गर्नलाई कहिले नि ढिलो हुन्न। र, राम्रो काम गर्ने सबै भन्दा राम्रो समय अहिले हो।” तसर्थ, अहिले नै आफ्नो स्वच्छ र निस्पक्छ विचार राखौं। तपाई-हामी मान्छे हौं, भेडा हैनौं।
(२) राष्ट्रपतिको विदेश भ्रमण
एउटा अफ्रिकी उखान छ “आफैले ढाड नाबंग्याई अरुले बुई चढ्न सक्दैन”। नेताले राष्ट्र र जनताको प्रतिनिधित्व गर्छन। नेताको सम्मान गिर्दा राष्ट्र र जनताको सम्मान गिर्छ। अझ राष्ट्रपति जस्तो सर्बोच्च नेताको सम्मान गिर्दा के होला? हामी स्वाभिमानी नेपालीको “स्वाभिमान” कहाँ गयो होला? राष्ट्रपतिको विदेश भ्रमण सम्बन्धि दुइटा कुरा उल्लेख गर्न मन लग्यो। पहिलो त, हामी आफैंले आफ्नो सम्मान राख्न सकेनौं। भारत भ्रमण जाँदा सार्बजानिक विदा किन दिनु पर्यो? पंचायतकाल देखिको यो कु-संस्कार पंचायत मात्र नभई राजतन्त्र फ्याकिदा सम्म किन राखीरहेको? यस्मा मा दुइटा कारण देख्छु – पहिलो त हाम्रो नेतृत्वको चाकडीपाना र दोश्रो, केहि हद सम्म हाम्रो “राजाको काम कहिले जाला घाम” मानसिकताको कर्मचारीतन्त्रको। भारतले कहिले कुनै बिदेशी राष्ट्रपति आउँदा सरकारी बिदा दिएको इतिहास छ? आफ्नो राष्ट्रपति विदेश जाँदा सरकारी बिदा दिएको इतिहास छ? हामीले यहि कुरा भारत बाटै किन नसिक्ने? मान्छे कदले सानो होस् या ठुलो सबैको उत्तिकै आत्मा-सम्मान हुन्छ। तेस्तै, देश कुनै सानो वा ठूलो होस्, सबैको समान प्रतिष्ठा र स्वाभिमान हुन्छ। तर, त्यो आत्मा-सम्मान र स्वाभिमान आफैले कायम राख्न सकेन भने अरुले राखिदिन सक्दैन। नेपाल सानो होला तर स्वाभिमान र आत्मा-सम्मानले सानो छैन। राष्ट्रपतिको भारत-भ्रमणमा जस्तो सम्मान भयो, त्यो कदापि एउटा “स्वाभिमानी” राष्ट्रले पचाउन सक्दैन। एक स्वाभिमानी नेपालीलाई त्यो कदापि पाच्य हुन्न र बिर्सन सकिदैन। देशलाई राष्ट्र र जनताको “स्वाभिमान” तथा “प्रतिष्ठा” कायम राख्न सक्ने “वी. पी. कोइराला” र “मदन भण्डारी” जस्ता नैतिक, चारित्रिक, र बौद्धिकताले उच्च नेताको खाँचो छ। आफ्नो सम्मान राख्न नसक्ने मान्छेले अर्काको सम्मान राख्न सक्दैन। यो त झन् राष्ट्र र जनताको सम्मान तथा स्वाभिमानको कुरा हो।
प्रतिक्रिया