श्रीमान्को उपचारको लागि घरघर चाहार्दै दलित महिला

इनेप्लिज २०७४ वैशाख १८ गते १४:५७ मा प्रकाशित

रौतहटको गरुडा नगरपालिका वार्ड नम्बर ४ की एक दलित महिला आफ्ना श्रीमान्को उपचारको लागि घरघरै धाएर रकम संकलन गरिरहेकी छिन् । वैदेशिक रोजगारीको क्रममा घाइते भएका श्रीमान्को उपचारका लागि गरुडाकी एक दलित महिला विभिन्न व्यक्ति तथा संस्थाको सहयोग माग्दै सबैलाई गुहारिरहेका छिन् । गरुडा नगरपालिका वार्ड नम्बर ४ मा अवस्थित माध्यमिक विद्यालयको छेउमै घर भएका गगनदेव मल्ली डोमको इलाजको लागि उनकी श्रीमती मीना मल्ली उपचारको खर्च जुटाउन भौतारिरहेकी छिन् ।

मलेसियामा एउटा नगरपालिकामा सरसफाइको काम गरिरहेको समयमा गत असोज महिनामा नै एउटा गाडीले ठक्कर दिएपछि दाहिने खुटा भाँच्चिएको मल्लीको सामान्य उपचार मलेसियामा नै गरिएको थियो । सामान्य उपचारपछि घर फर्काइएका मल्लीको इलाज विभिन्न अस्पतालमा गरिएको र खुटा काटिएको थियो तर घाउ निको हुन धेरै दिन लागेको थियो । अहिले आएर कम्मरको हाड खुस्किएको डाक्टरहरुले बताएको र उपचारका लागि कम्तीमा डेढ लाख रुपैया लाग्ने बताइरहेको मीनाले बताएकी छिन् ।

आर्थिक दृष्टिले अत्यन्त कमजोर रहेको घरपरिवारको लागि उपचारमा सहयोग गरिदिन मल्ली सबैलाई आग्रह गर्छिन् । बाटोघाटो, सडक, पसल र विद्यालयहरुमा पुगेर आफ्नो श्रीमान्को उपचारमा जति सक्दो सहयोग गरिदिन आग्रह गर्दै हात फैलाइरहेकी दलित महिला मीनाको अवस्था देखेर शिक्षक मौजेलाल यादव भन्छन् – सबैले आफूले सकेको सहयोग गर्नुपर्ने देखिन्छ ।
फोटा : विद्यार्थीमाझ सहयोग माग्दै मीना मल्ली

प्रतिक्रिया