सोमबार, साउन १८ २०७८
काठमाडौं ०३:१३
वासिङटन डिसी 17:28

सम्वेदनाहिन बाँचिरहेछु

इनेप्लिज २०७४ वैशाख १७ गते १:३५ मा प्रकाशित

रातको मध्यविन्दुमा
जब निकालेर काँधबाट जुवा
निस्कन्छु सुकेका ओठ लिएर सहरबिच
हाइ भोल्टेजमा बलेका लाइटहरुलाई
ब्याट्री मक्किएका दिमागले मधुरो देख्छ
र बारमा नाँचिरहेका युगलहरुलाई
मात्र नरकंकाल सम्झन्छ
अनि बल्ल महसुस हुन्छ
खोला र समुन्द्र किनारमा ठडिएको शहरमा
आफु त एउटा संवेदनाहिन रोबोट जस्तै बाँचिरहेछु

भएका खुसीहरू छोडेर र
लुटिएका खुसीहरू फर्काउन
आफ्नो स्व र मपाइत्व लुटाएर
हस्तरेखाले राजयोग ,संयोग र
परिवारयोग लेख्दा लेख्दै
उत्तरी देखि दक्षिणी मरुभूमिका किनारमा
जब देख्दिन सुर्योदय र सुर्यास्त
र ताप्दिन मध्यान्नको रापिलो घाम
हुदैन हिउँको गहिरो चुम्बन हृदयसम्म
उडाउँदैन चुरे बनको हावाले मेरो कपाल
र उस्तैगरी ,उस्तै र संगसंगै
म पनि चल्छु साताभरी
आफै चढ्ने साधनको मेसिन जस्तै
अनि बल्ल गहिरो महसुस हुन्छ
सुन्दरता र उज्यालो नाचिरहेको शहरमा
आफु त एउटा संवेदनाहिन रोबोटजस्तै बाँचिरहेछु

सपना बोकेर जिन्दगीको
बिर्सिएका गणितका फर्मुलाको
जोड घटाऊ र नाफा घाटा तौलँदै
लामा फेरी चढेर जब आइपुगेथें
दिनहुँ सपनामा देखिने सहरमा
र स्वागतार्थमा खन्याएको ब्रान्डीमा
देखेथें उन्माद र उमङ्ग जिन्दगीको
जुन दिन सगुन पिएर
खाएथें सपथ मन-मनै
“जिन्दगी एउटा उत्सब हो जिउन जान्नुपर्छ ”
तर के थाहा त्यो उन्मादमा
सपनाहरुको विसर्जनको शर्त रहेछ
र जिन्दगीलाई लिलामी गरेर एकाएक लाग्नुपर्ने रहेछ
आफु र उस्तै रोपाराँहरुसँग
बाह्रमास व्यस्त र अविचल रोपाँइमा
अनि लामो समयपछि फुर्सदमा फेरेको
लामो स्वास संगसंगै थाहा हुँदोरहेछ
लामो सभ्यता र इतिहास बोकेको शहरमा
आफु त एउटा संवेदनाहिन रोबोट बाँचिरहेछु

समुन्द्र किनारमा जब चिसो पानीले
हृदयको अन्तरकुन्तरसम्म छ्याप्दछ
सोच्दथे प्रकृतिको गहिराई र स्पर्श
यो भन्दा बढी कति खोज्नु
र सँगसंगै सहर र भव्यताको रमझमले
कति हृदयलाई प्रफुल्ल पारिरहनु दिनहुँ
जब सिसिफसको कथाजस्तै
ठुलो चट्टान बोकेर आशै-आशमा दिनहुँ
कुद्दथ्यो यो मन र तन
छोडिएका खुसीहरु बटुल्न र
लुटिएका खुसीहरु फर्काउन
तर
न त त्यो ठुलो चट्टान
पहाडको टुप्पोमा पुर्याउन सकियो
न त फर्केर खोचमा
भ्याकुर ,गिठा र चिसो पानी पिउन सकियो
अनि त ब्याट्री सकिने बेलाको घडी जस्तै
मृत्युको पार्श्वछाँयामा छड्किरहने लयमा
छ्टक छटक छड्किरहँदा जिन्दगी
व्यस्त तालिकाको बीचमा
समय निकालेर सोच्न अलिकति मन हुन्छ
सुन्दरताको लुकामारी खेलिरहेको सहरमा
साँच्चै
आफु त एउटा संवेदनाहिन रोबोट बाँचिरहेछु

२९ अप्रिल २०१७

प्रतिक्रिया