वैदिक गाईको संरक्षणको लागि गोरक्षा महायज्ञ गरिँदै

इनेप्लिज २०७३ माघ २९ गते १२:४३ मा प्रकाशित

माघ २७, चितवन । यही २०७३ फाल्गुण ३ गते मङ्गलचौंथीको दिनदेखि १३ गते महाशिवरात्रिको पावन दिनसम्म नारायणी नदीको किनार नारायणगढ चितवनमा विराट् गोरक्षा महायज्ञ हुन गइरहेको छ । यो विश्वकै ईतिहासमा पहिलोपटक नेपालमा हुन लागेको हो ।


देशभरीका स्थानीय जातिका गाईहरुको संरक्षण गर्न गौ सेवा कोष स्थापना गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको आयोजकले बताएका छन् । स्थानीय जातका गोवंशको संरक्षण जरुरी रहेको कुरा सबैपक्षको बुझाइ रहेको पाइएको छ भने देशव्यापी रुपमा गो वंशको संरक्षणको लागि गौ सेवा कोषको स्थापना समयको माग पनि रहेको गाईका शुभचिन्तकहरु बताउँछन् ।

 


जुन गाई असली रुपमा पूज्य एवं धर्मशास्त्रले गरेको परिभाषा अनुरुपका हुन् तिनै गाईको अपहेलना हुन थालेको, त्यस्ता गाईहरुको पालनपोषण प्रति कसैको पनि ध्यान केन्द्रित हुन नसकेको र अन्ततः यस भूमिबाट त्यस्ता गाईहरु लोप भएरै जाने खतरा बढेको तर्फ चिन्ता व्यक्त गर्दै सो विराट् गोरक्षा महायज्ञ मूल आयोजक समितिका कार्यवाहक संयोजक विनु रायमाझी पौडेलले देश भरीका स्थानीय जातिका गाई जसलाई वैदिक गाई पनि भनिन्छ को वंश बृद्धि एवं संरक्षणको लागि अक्षयकोषको रुपमा गौ सेवा कोष स्थापना गर्ने सङ्कल्पको साथमा सो महायज्ञ गर्न लागेको बताउनु भयो ।


महायज्ञ अन्य कुनैपनि खालको सांप्रदायिक तथा निश्चित क्षेत्र वा वर्गको स्वार्थ निहित अभिष्ट पूरा गर्न नभएर विशुद्ध रुपमा देशभरीका वैदिक गाईको संरक्षणको स्वच्छ प्रतिज्ञाले हुन लागेको का.संयोजक पौडेलको भनाई छ । महायज्ञमा लामा र बज्राचार्य गुरुहरु पनि समावेश गरिएको र ॐकार परिवारको साझा महायज्ञ हुने बताइएको छ ।
यो महायज्ञ राष्ट्रिय महायज्ञ भएकोले यसमा सबै गो प्रेमी, गोभक्त, गोपाल, गोवंशका शुभचिन्तक, धार्मिक एवं सामाजिक संघसंस्था, गोमर्मज्ञ व्यक्तित्त्वहरूले यस महान कार्यमा आफूले के दायित्त्व तथा कर्तव्य पूरा गर्न सकिन्छ सो गर्न र सहभागिता जनाएर महायज्ञलाई सफल गराउने पक्षमा भूमिका निर्वाह गर्न महायज्ञ मूल आयोजक समितिका महासचिव दीपक सुवेदीले सञ्चाकर्मीमार्फत आम जनसमुदायसँग अनुरोध गरेका छन् ।


स्थापना हुने गौ सेवा कोषको लागि कम्तिमा रु एकलाख दानसहयोग गर्नेले सो कोषको आजीवन सदस्यता, त्यस्तै रु एकाउन्न हजार दानसहयोग गर्नेले गौ सेवा कोष समर्पित सदस्यता र रु पाँचहजार एक सय दान गर्नेले वार्षिक सदस्यता प्राप्त गर्ने व्यवस्था रहेको आयोजकले बताएका छन् । महायज्ञलाई बैंक व्यवहारमार्फत सहयोग गर्न चाहने र टाढा वा विदेश रहनेहरूले बैंक खातार्फत पनि आर्थिक सहयोग गर्न सकिने व्यवस्था भएको उनीहरूको भनाई छ । जसको लागि आयोजक संस्था हिन्दु ॐकार भोलन्टियर्सको नाममा सञ्चालन भएका बैंक खातामा प्रभु बैंक लि. लैनचौर काठमाडौं शाखाको खाता नं. १०९११६००८०४४९२०००००१ स्वीफ्ट कोड पि आर भि यू एन पि के ए, त्यस्तै ग्लोबल आइएमई बैंक लि. पानीपोखरी काठमाडौं शाखाको खाता नं. ३३०१०१००००४८३ स्वीफ्ट कोड जि एल बि बि एन पि के ए मार्फत सहयोग गर्न सकिने आयोजकले बताएका छन् ।
महायज्ञको अनुष्ठान एवं पण्डित व्यवस्थापन समितिका संयोजक गुणनिधि पन्थीका अनुसार महायज्ञमा गौ महिमा तथा गौ महात्म्य अर्थात गौ कथा पं. दीपक सापकोटाले गर्नु हुनेछ भने यज्ञका आचार्य पं. धर्मराज अर्याल रहनु हुनेछ । यसै गरी बज्राचार्य गुरु मुनी बज्राचार्य र लामा गुरुमा कारसाङ्ग लामाको आचार्यकत्त्वमा अनुष्ठान हुने बताइएको छ ।

प्रतिक्रिया