३० लाख नगदसहित तेरियाले भारतमा जितिन् डान्स उपाधि

इनेप्लिज २०७३ माघ ८ गते ९:१७ मा प्रकाशित

मुम्बई । भारतीय टेलिभिजन कलर्सको डान्स रियालिटी शो ‘झलक दिखलाजा’को उपाधि नेपाली चेली तेरिया मगरले जितेकी छिन् ।

‘झलक दिखला जा’को सिजन नौमा विजेता बनेकी तेरियाले थुप्रै पुरस्कार पाएकी छिन् । कलर्स टेलिभिजनमा प्रशारण हुने यो डान्स रियालिटी शो चर्चित छ ।

भारतीय अनलाइन पोर्टल ‘बलिउड लाइफ’का अनुसार टेरियाले अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै विजेता बनेकी हुन् ।

औपचारिकरुपमा विजेताको रुपमा तेरियाको नाम शनिबार कलर्स च्यानलबाट सार्वजनिक हुनेछ । फाइनलमा नृत्य र भोटिङको आधारमा विजेता छानिएको थियो ।

तेरियाले सबैभन्दा धेरै भोट प्राप्त गरेकी थिइन् । सलमान युसुफ र सन्तनु महेस्वरी टेरियालाई कडा टक्कर दिएका थिए ।

रुद्रपुर रुपन्देही जिल्ला निवासी टेरियाले यसअघि ‘डान्स इन्डिया डान्स’को उपाधि समेत हात पारेकी थिइन् । यो जितसँगै तेरियाले ३० लाख भारतीय रुपैयाँ र रेनाल्ड डस्टर ब्राण्डको कार पनि पाउने छिन् । – एजेन्सी

प्रतिक्रिया