पुडासैनीको नियात्रासङ्ग्रह पर्खालभित्रको राजधानी प्रकाशित

इनेप्लिज २०७३ पुष २८ गते ०:१० मा प्रकाशित

काठमाडौँ, २८ पुस, २०७३ ।

बरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ को बाह्रौ कृति पर्खालभित्रको राजधानी बजारमा आएको छ । तल्लो मुस्ताङ र उपल्लो मुस्ताङको भ्रमण गरेर तयार गर्नुभएको पुडासैनीको यो नियात्रा सङ्ग्रहलाई प्रसिद्ध प्रकाशन संस्था रत्न पुस्तक भण्डार, काठमाडौँले प्रकाशमा ल्याएको हो ।

समालोचक तथा पाठकहरूले पुडासैनीको नियात्राकारिता नेपाली नियात्रा लेखनको मानक भएको कुरा बताएका छन् । पुडासैनीको नियात्रा लेखनमा चाखलाग्दो विषय र चमत्कारपूर्ण शैली रहने भएकोले आम पाठकलाई तान्न सक्ने क्षमता रहेको कुरा समालोचक तथा नियात्राकारहरूले बताएका छन् । वरिष्ठ समालोचक डा. खेम कोइराला बन्धु, डा. गोविन्दराज भट्टराई, डा. निर्मोही व्यास, डा. लक्ष्मण गौतम, डा.कुमारप्रसाद कोइराला, हरि अधिकारी, अनुपमा रेग्मी, चारुभा घिमिरे, ज्ञानु अधिकारी र राम लोहनी जस्ता विद्वानहरूले पुडासैनीको नियात्रा लेखनमा नवीनता र जादूई क्षमता रहेकोले पाठकको रोजाईमा पर्ने गरेको कुरा बताएका छन् ।

पुडासैनीको यस अघि यात्राका प्रेमिल तरङ्गहरू (२०६५), नमेटिएका चित्रहरू (२०७०), मायालु हुम्ला (२०७१) र सिमानाका रङ्ग सिमानाका तरङ्ग (२०७२) जस्ता नियात्रा कृतिहरू प्रकाशित भइसकेका छन् । ती मध्ये नमेटिएका चित्रहरूले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाबाट ‘सर्वोत्कृष्ट पुस्तक पुरस्कार, २०१५’ प्राप्त गर्न सफल भएको थियो । उनकै अर्को कृति सिमानाका रङ्ग सिमानाका तरङ्ग भने वि.सं. २०७२ सालमा प्रकाशित कृतिमध्ये मदन पुरस्कार गुठीबाट छनौट गरिएको उत्कृष्ट सात कृतिमा पर्न सफल कृति हो । यस बाहेक पुडासैनीका आफन्तका अनुहारहरू, आँखाको खोजीमा, आलोकित आयाम, आकारको खोजीमा, समयको सहीछाप, पहाड र प्रेम जस्ता कवितासङ्ग्रहहरू र धर्मको ह्याङ्ओभर नामक दर्शनकृतिहरू नेपाली साहित्य बजारमा चर्चित छन् ।

पर्खालभित्रको राजधानीमा संसारकै सुन्दर हिमाली भूभाग, जनजीवन, हिमाली संस्कृति र लोमन्थाङ क्षेत्रको चमत्कारपूर्ण अवस्थितिलाई नजिकबाट स्पर्श गरेर नवीन काव्यात्मक शैलीमा नियात्राहरू समेटिएको हुँदा यो कृति हिमाली साहित्य अध्ययन गर्न चाहने जो सुकैको लागि स्वादिलो हुने कुरा त्यसका लेखक वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ ले अभिव्यक्त गरेका छन् ।

प्रसिद्ध प्रकाशन संस्था रत्न पुस्तक भण्डारका गोविन्द प्रसाद श्रेष्ठ तथा सुरेश श्रेष्ठले हिमाली भू–भाग र हिमाली जनजिवनको जादुई वर्णन गरिएको अव्वल कृति भएकोले पर्खाल भित्रको राजधानीलाई रत्न पुस्तक भण्डारले प्रकाशमा ल्याएको कुरा बताउनु भयो ।

प्रतिक्रिया