प्रजातन्त्रको विकल्प छैन : थापा

इनेप्लिज २०७३ पुष २६ गते ७:२९ मा प्रकाशित

काठमाडौँ, २६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक समृद्धिका लागि आर्थिक उदारवाद र खुला बजार हुनुपर्ने बताउनुभएको छ ।

धूम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले सबै दलको साझा उद्देश्य देशको समृद्धि नै हो भन्दै अहिलेको समाजमा प्रजातन्त्रको विकल्प नरहेको स्पष्ट गर्नुभयो ।

सो अवसरमा नवलपरासी जिल्लाबाट विभिन्न दल परित्याग गरेका तथा स्थानीय बुद्धिजीवी ३६ जनालाई अध्यक्ष थापाले सो पार्टीमा टीका लगाई प्रवेश गराउनुभयो । राप्रपामा प्रवेश गर्नेमा नेपाली काँग्रेसका चूडामणि महतो, नेकपा (माओवादी केन्द्र)का रामदेवी पासवान, नेपाल तरुण दलका खिमबहादुर पुन, युवा सङ्घ नेपालका जिल्ला कार्य समिति सचिव ऋषिराम लम्साल, उपप्राध्यापक दीपक भण्डारीलगायत हुनुहुन्थ्यो ।

प्रतिक्रिया