राजधानीमा एमालेसहितका ९ विपक्षी दलको मोटरसाइकल र्याली

इनेप्लिज २०७३ पुष २१ गते १३:०२ मा प्रकाशित

काठमाडौं, २१ पुस । विहिबार अपराह्न नेकपा एमालेसहितका ९ विपक्षी दलले राजधानीमा अहिलेसम्मकै ठूलो मोटरसाइकल र्याली निकाले ।

युवा संघका प्रवक्ता प्रभातविक्रम कटवालका अनुसार र्यालीमा १० हजार भन्दा मोटरसाइकल गुडाइएको थियो ।

एमाले उपाध्यक्ष वामदेव गौतम र सचिव गोकर्ण विष्टले कमाण्ड सम्हालेको र्यालीमा एमाले निकट युवा संघ नेपाल, अनेरास्ववियु, जिफन्ट, किसान महासंघ, खेलकुद महासंघसहित बिपक्षी ९ दलका भातृ संगठनका नेता कार्यकर्ताको बाक्लो उपस्थिती थियो ।

प्रदर्शनीमार्गबाट सुरु भएको र्याली सुन्धारा हुँदै तीनकुनेबाट जावलाखेलतिर जाँदै थियो । त्यही बेला उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको सवारी भयो ।

अहिलेको नियमअनुसार विशिष्ट व्यक्तिका लागि सडक क्लियर हुनुपर्ने व्यवस्था छ । झन निधि त प्रधानमन्त्री पछिको ‘सेकेण्ड म्यान’ अर्थात उपप्रधानमन्त्री । उनको सवारीमा प्रहरीले बाटो क्लियर गराउनुपर्थ्यो । तर, देशकै दोस्रो ठूलो दलसहित विपक्षी ९ दलको र्याली थियो ।

बाटो क्लियर नहुने देखिएपछि निधि केहीबेर उतै रोकिए । बाटो क्लियर भएको खबर पाएपछि निधिको सवारी अगाडि बढ्यो । अगाडि पछाडी सुरक्षाकर्मी राखेर निधि सुन्धारतिर हुइकिए । तर, सुन्धारा पुग्ने वित्तिकै एमाले निकट युवा संघका कार्यकर्ताको एक टिमको र्याली आइरहेको थियो त्यो पनि झण्डासहित ।

निधि रंगशालाबाट सुन्धारा आउँदै थिए । र्याली सुन्धाराबाट जावलाखेलतिर अघि बढिरहेको थियो । निधि आइरहेको सूचना पाएलगत्तै एमालेका कार्यकर्ताको त्यो टिमलाई प्रहरीले रोक्यो र हतपत झण्डा खोस्यो । गृहमन्त्री अगाडि बढ्दै थिए यता प्रहरीले झण्डा खोसेपछि कार्यकर्ताहरु आक्रोशित भए । यो टिमको नेतृत्व सम्हालेका थिए युवा संघका नेता अनमोल अविनाशले । ‘गृहमन्त्रीको सवारी हुँदैगर्दा प्रहरीले झण्डा खोसेर दिन मानेनन् । केटाहरु आक्रोशित भइहाले, झडपको स्थित सिर्जना भयो,’ अविनाशले भने- ‘मैले कन्ट्रोल गरे । प्रहरीको यो व्यवहार निन्दनीय छ ।’

उनले अगाडि भने- ‘पुलिस प्रशासन नै हाम्रो शान्तिपूर्ण र्यालीलाई उत्तेजीत बनाउन लागेको हो कि झैँ अनुभूति भएको छ । हामी मोटरसाइकल र्याली भएको ठाउँ तर्फ जाँदै गर्दा प्रहरीले अपमानजनक ढङ्गबाट हाम्रो झन्डा खोसेको छ । हाम्रो जुलुस अगाडि बढीसकेको र गृहमन्त्रीको सवारी भएकोले हाम्रो झन्डा कब्जामा लिएको प्रहरीले जनाए पनि लोकतन्त्रमा विरोध, र्याली गर्न पाउनु जनताको नैसर्गिक अधिकार भएकोले प्रहरीको यस्ता ब्यबहार प्रति गम्भीर आपत्ति छ ।’

प्रतिक्रिया