सामाजिक विकृतिविरुद्धको सन्देश चलचित्र ‘ब्वायफ्रेन्ड’

इनेप्लिज २०७३ पुष १८ गते १०:१८ मा प्रकाशित

रत्ननगर (चितवन), १८ पुस । आदिवासी थारू समुदायको पहिचान बोकेको चितवन सौराहाको बछौलीस्थित थारू सांस्कृतिक सङ्ग्रहालयमा भोजपुरी गीतमा केही युवा नाचगान गरेर रमाइरहेका थिए ।

तेरी लच्के लि जब कमरिया…
बल खाए जै जेसन नगेनिया…

थारू महिला पहिचानसहित कालो ब्लाउज र सेतो धोतीमा सजिएर उनीहरु सांस्कृतिक पहिचान पनि देखाउँदै थिए । एकै छिनमा टाँगा चढेर केही युवायुवती आइपुगे । गाडा, टाँगाका वीच उनीहरु त्यही गीतमा रमाउन थाले । माहोल तात्दै थियो । मदन घिमिरेको ‘कट्’ले रमाइलो वातावरण शान्त बन्यो ।

चितवनका कृष्ण खनाल र सूर्य बुढाथोकीले निर्माण गर्दै गरेको चलचित्र ‘ब्वायफ्रेन्ड’को छायाङ्कनमा ती दृश्य कैद हुँदै थियो । चलचित्रमा प्रयोग गरिएका मध्ये एउटा भोजपुरी गीतको छायाङ्कन हुँदै थियो । कोरसमा धेरै युवायुवती थिए । फिल्मको चार गीतमध्ये तीनवटा गीत चितवनमै छायाङ्कन गरिएको छ ।

मुख्यगरी एउटा धनी बाबुको छोरीहरु कसरी बिग्रिन्छन् भन्ने देखाउने लक्ष्य बोकेको बताउने चलचित्र निर्देशक मदन घिमिरे भन्छन्, “समाजको विकृतिलाई उजागर गर्न खोजेका छौँ । ब्वायफ्रेन्ड धेरै होलान् तर यसले वास्तविक ब्वायफ्रेन्ड एउटै हुन्छ भनेर सकारात्मक सन्देश दिनेछ ।”

उनले यो फिल्ममा भोजपुरी गीत मिसाएर नौलो प्रयोग गरेको दाबी गरेका छन् । मङ्सिर तेस्रो साताबाट छायाङ्कन सुरु भएको फिल्ममा काठमाडौँ र चितवनका अधिकांश दृश्य कैद छन् । फिल्मको मुख्य भूमिकामा रहेका चितवनकै नायिका महिमा सिलवालसँग पुष्कर रेग्मीको ‘रोमान्स’ हुन्छ । बुधबारसम्म छायाङ्कन सक्नेगरी यहाँ काम भइरहेको छ ।

चलचित्रमा सरोज खनाल, मोहन निरौलासँगै सुकबहादुर बम्जन, श्याम मिश्र, शोभा भण्डारी, पूजा थापा, सोनाम थापा लगायतका कलाकार छन् । पुनम राई र कमल राईको नृत्य निर्देशन छ । सङ्गीत टेक बुढाथोकीले भरेका छन् ।

भोजपुरी गीतको गायकमा भारतका श्यामकुमार मिश्र छन् । सङ्गीत भने भारतकै केके सिंहको छ भने लेखन जुगिराम राहीको हो । “नयाँ प्रयोग हो,” भारतीय गायक श्यामकुमारले भने – “पिक्चरलाई नयाँ फिचर दिएको छु ।”

पोस्ट प्रोडक्सनपछि रिलिजको मिति तोक्ने बताएका निर्देशक घिमिरे अबको केही दिनमा चितवनमा छायाङ्कन सक्ने तयारीमा रहेको बताउँछन् । मौनता श्रेष्ठको लेखन रहेको चलचित्रको छायाङ्कन कृष्ण श्रेष्ठले गरेका हुन् । बीसभन्दा बढी फिल्म खेलेकी नायिका महिमा ‘ब्वायफ्रेन्ड’ले शिक्षा र संस्कार सिकाएको बताउँछिन् । पुलपुल्याएकी चेलीको भूमिकामा रहेकी सिलवाल गलतको परिणाम गलत नै हुन्छ भन्ने सन्देश आफूबाट जाने बताउँछिन् ।

प्रतिक्रिया