नयाँ बर्ष २०१७ मा सबै नेपाली भएर बाँच्न सकौ, देश विकाशमा सबैको मन एकसाथ जोड्न सकौ- प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ पुष १६ गते १६:१५ मा प्रकाशित

prakash-shrestha

हरेक बर्ष भित्ताको क्यालेण्डर फेरिनु मात्र नयाँ बर्षको स्वागत र विगत बर्षको विदाई बन्नु ठुलो कुरा हुन सक्दैन । वास्तवमा नयाँ बर्षमा सबैले नयाँ संकल्प र योजनाका साथ केही सार्थक उपलव्धी हुने गरि कार्यहरु थाल्नु पर्छ । केवल नयाँ बर्ष शुभकामनाको मिठो लोहोरी गाईने माध्यम बन्नु हुँदैन । यसो भनिरहँदा शुभकामना आदानप्रदान गर्नु अनुपयुक्त हो भन्ने अर्थ नलागोस् । यद्दपी औपचारिकतामा शुभकामना आदानप्रदान सिमित नबनोस् अर्थात् मनले मात्र हैन व्यवहारमै सबैमा मानवता, सहयोगको भावना, सहअस्तित्व र सहकार्यको चेतनाको विकास, एकअर्काको आत्मसम्मान गर्ने बानीको शुरुवात, राम्रो कामको प्रसंसा गर्ने बानी, मित्रवत व्यवहार एवं सत्कार्यमा लगाव जस्ता विभिन्न सकारात्मक आनाबानीको विकास हुन सक्नु पर्छ ।

विगत देखि वर्तमान सम्म हेर्ने हो भने हामी नेपालीहरु काममा भन्दा पनि अरुको आलोचना, टिकाटिप्पणी र कमजोरी खोज्नमै समय बर्बाद गरिरहेका छौ । यस्तो कार्यमा हामी कोही भन्दा कोही कम भएनौ । जसको कारण सबैजसोमा नकारात्मक सोच र गालीगलौजमै पुरुषार्थ हुने जस्तो भावनाको विकास भएको हो की भन्ने छनक देखियो । यस्तो हुनु व्यक्तीको एकल दोष भन्दा पनि उसको पेरिफेरिमा रहेको सामाजिक वातावरण र राजनितिक वातावरणको मुख्य दोष हो । अव यस खाले वातावरणमा आमुल परिवर्तनको जरुरत छ । यसको मतलव गलत र नराम्रो कामलाई मौन स्विकृती दिने भन्ने कदापी हैन परन्तु सही र उपयुक्त कामलाई प्रोत्साहन र राम्रो कामको देखासेकी गरेर अझै परिस्कृत हुँदै सामुहिक हितको लागी अगाडी बढ्ने भन्न खोजिएको हो ।
अव पनि नेपालमा बस्नेहरु वा विदेशमा बस्ने नेपालीहरु राजनितिक खिचातानी र राजनितिक दुश्मनीको घेरामा बाँधिएर बसिरहने हो भने यसको फाईदा नेपालीलाई हैन केवल दुष्ट कुटिल जालझेल गर्ने छिमेकीहरुलाई मात्र हुनेछ । यो नयाँ बर्ष २०१७ मा आम नेपाली सचेत हुनु जरुरी छ र हरेक नेपालीले आफ्नो संलग्नता एवं विश्वास मान्ने राजनितिक दलका नेताहरुलाई आफ्नो विवेकमा रहेर नेपाल र नेपालीको हित हुने निर्णय गर्न खवरदारी गरिरहनु जरुरी छ किनकी अहिले सम्म अधिकांश नेताहरु भारतिय नेता एवं गुप्तचरहरुको ईशारामा देशलाई अधोगतिमा धकेल्ने किसिमका जटिल राष्ट्र हित विपरितका कैयन संधीसंझौता एवं निर्णयहरु गरि देशलाई भारतको अनौपचारिक उपनिवेशको रुपमा स्विकार गरे झै देखिएको छ ।

ईतिहासका हरेक कालखण्डमा भएका राजनितिक परिवर्तन भारतको रुची एवं चाहना अनुरुप भएका हुनकी भन्ने आभाष समेत हुन थालेको छ । सडक र सदनमा चर्का राष्ट्रवादी भाषण गर्नेहरु समेत समय समयमा भारतका नेताहरुको चरणमा लम्पसार परेका परिघटनाहरु देख्दा र सुन्दा जनताहरु आजित भएका छन् । यसले गर्दा अहिलेका हरेक राजनितिक दल समयमै सचेत हुन नसके अन्य विकल्पहरु पनि नयाँ ढंगबाट सोच्नु पर्ने हुन सक्छ तसर्थ समयमै सबै राजनितिक दलहरु व्यवहारमा सच्चिएर जनता र देशको अधिकतम हित हुने कार्यमा अगाडी बढ्नु जरुरी छ । विदेशीहरुको परनिर्भता र लम्पसारवादमा नलागी आफ्नै भुगोल र माटो सुहाँदो विकास योजना लागु गरि उपलव्ध प्राकृतिक स्रोत एवं मानव संसाधनको उच्चतम उपयोग गरि समुन्नत समाजको निर्माण गर्नु जरुरी छ । युवाहरुलाई विदेश धपाउने निती हैन बरु विदेश पलायन भएकालाई देश फर्काउने भरपर्दो निती अवलम्बन गरिनु आवस्यक छ ।

अन्तमा सम्पुर्ण नेपालीहरुमा आपसमा फुटेर हैन जुटेर देशको हित र सामुहिक हितमा सधै अगाडी बढ्ने भावनाको विकास हुन सकोस् भन्दै नयाँ बर्ष २०१७ को हार्दिक मंगलमय शुभकामना छ ।

प्रतिक्रिया